बालबालिकामा मस्तिष्कघातको जोखिम : कारण र रोकथाम

ढिलो उपचार भएमा यसलाई पूरानो अवस्थामा फर्काउन सकिने सम्भावन कम हुन्छ । स्ट्रोक भएपछि करिब ९० प्रतिशत बिरामी पूर्णरूपमा पहिलेकै अवस्थामा फर्कन सक्दैनन् ।

फाल्गुन ६, २०८२

डा. राजीव झा

Risk of stroke in children: causes and prevention

What you should know

काठमाडौँ — पछिल्लो समय बालबालिका तथा युवामा मस्तिष्कघात (स्ट्रोक) को समस्या बढ्दै गएको छ । मस्तिष्कमा अचानक रक्तसञ्चार अवरोध हुँदा सृजना हने आपत्कालीन अवस्था ‘मस्तिष्कघात’ हो ।

विश्वमा ‘स्ट्रोक’ अहिले मृत्युको चौथो प्रमुख कारण बनेको छ र आगामी ५–७ वर्षभित्र पहिलो कारण बन्न सक्ने प्रक्षेपण गरिएको छ । अहिले १०–१२ वर्षका बालबालिकामा समेत स्ट्रोक देखिन थालेको छ, जुन अत्यन्त चिन्ताजनक अवस्था हो । समयमै स्वास्थ्य अवस्था बारे जानकारी लिन सके यसबाट बच्न सकिन्छ । यदि ‘स्ट्रोक’ भएको ४ घण्टाभित्र बिरामी अस्पताल पुग्यो भने बँच्ने सम्भावना धेरै हुन्छ र पक्षघात (प्यारालाइसिस) को जोखिम कम गर्न सकिन्छ । ढिलो उपचार भएमा यसलाई पूरानो अवस्थामा फर्काउन सकिने सम्भावन कम हुन्छ । स्ट्रोक भएपछि करिब ९० प्रतिशत बिरामी पूर्णरूपमा पहिलेकै अवस्थामा फर्कन सक्दैनन् । 

कसरी हुन्छ मस्तिकघात ? 

मस्तिष्कघात हुने कारणहरू धेरै छन् । जसमा दीर्घरोगहरू पनि हुन् । जस्तैः मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), मुटुरोगका बिरामीहरूलाई यो समस्या देखिने गर्छ । अत्यधिक धुम्रपान तथा मद्यपान तथा लागूपदार्थको अस्वभाविक सेवनले यो समस्या देखिने गर्छ । 

स्ट्रोकका प्रकार

स्केमिक स्ट्रोक : मस्तिष्कको नसामा अवरोध भएर रगतको प्रवाह रोकिने अवस्था हो स्केमिक स्ट्रोक हो । रगतको प्रवाह रोकिँदा त्यस भागमा अक्सिजन र पोषण पुग्दैन । जसका कारण मस्तिष्कका कोषहरू क्रमशः मर्न थाल्छन् । 

ब्रेन होमोरेज : मस्तिष्कभित्रका नसाहरू अचानक फुटेर रगत बग्ने र त्यसले दिमागका तन्तुहरूलाई दबाब दिई क्षति पुर्याउने अवस्था हो । यो करिब १० प्रतिशत बिरामीमा देखिन्छ ।

किन हुन्छ बालबालिकामा स्ट्रोक ? 

केही बालबालिकामा मस्तिष्कको नसा अस्वाभाविक रूपमा फुल्ने समस्या देखिन्छ, जसलाई एभिएम (आर्टरीभिनस मालफर्मेसन) भनिन्छ । यो प्रायः वंशानुगत हुन्छ । त्यस्तै, १५–२५ वर्ष उमेर समूहमा धुम्रपान र ड्रग्स सेवनका कारण पनि स्ट्रोकको जोखिम बढिरहेको छ । 

असर

स्ट्रोकले शरीरको कुनै एक भाग वा पुरै शरीरलाई असर गर्छ । शरीरको एक भाग नचल्ने, मुख बाङ्गिने, बोली अस्पष्ट हुने, हातखुट्टा कमजोर हुने जस्ता समस्या देखिन्छन् । गम्भीर अवस्थामा तत्काल मृत्यु हुनसक्ने सम्भावना हुन्छ । 

रोकथाम

रोकथामको उपाय आफैसँग छ । आफ्नो स्वास्थ्यको समयमा नै ख्याल गर्न सके यसबाट बच्न सकिन्छ । नियमित स्वास्थ्य जाँच गर्ने, रक्तचाप र मधुमेह रोग नियन्त्रणमा राख्ने, चिकित्सकले दिएको औषधि नियमित सेवन गर्ने, धुम्रपान तथा मद्यपान नियन्त्रण गर्ने र नियमित व्यायाम गर्ने जस्ता उपायहरू अपनाउन सके यसबाट बच्न सकिन्छ । 

(प्राडा झासँगको कुराकानीमा आधारित । झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् ।)

डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् ।

Link copied successfully