कालान्तरमा जटिल समस्याबाट बच्न सानैदेखि दाँतको हेरचाह गर्न जरुरी छ । बच्चाको दाँत आउनुभन्दा अघिदेखि नै उनीहरुको मुख सफा राखिराख्नुपर्दछ । धेरै अभिभावकहरुले बच्चाहरुलाई किन मुख सफा गर्नुपर्ने होला भन्ने लाग्ला तर यो जरुरी छ ।
बच्चालाई दूध खुवाएर सुताएपछि उनीहरुको मुख पनि सफा गर्दिनुपर्छ । मलमलको जस्तो कपडा मनतातो पानीमा डुबाएर औँलामा बेरेर हल्कारुपमा उसको गिजा सफा गर्दिनुपर्छ । माथि र तलको दुवै गिजामा सफा गर्दिनुपर्छ । यसरी उसको मुख सफा रहन्छ । यो हरेक दिन गर्दिनुपर्छ । जब दाँत आउन थाल्छ त्यसपछि झन् दाँतको हेरचाहमा बढी ध्यान दिनुपर्छ ।
सामान्यत: बच्चाहरुको दाँत ६ महिनापछि आउन थाल्छ । कसैको १० महिना जति पनि लाग्न सक्छ । दाँत आइसकेपछि ब्रस गर्न दिनुपर्छ । सानो बच्चालाई रबरको जस्तो ब्रस पनि पाउँछ । त्यो ब्रस उनीहरुलाई आफै गर्न दिने, मुखमा राखेर चपाउन दिने, थुक्न लगाउने र सफा गर्न लगाउने गर्नुपर्छ । ६ महिनापछि दाँतको संरचना कस्तो छ भनेर डेन्टिस्टकोमा एकपटक लाँदा राम्रो हुन्छ ।यतिबेला टुथपेस्टहरु प्रयोग गर्नुपर्दैन । तलको दुइटा पहिले र माथिका दुइटा दाँत गर्दै विस्तारै दाँतहरु उम्रिन्छ ।
सानैमा बच्चाहरुको दाँतको हेरचाह गरिएन भने दाँत छिट्टै किराले खाने समस्या देखिन्छ । आमाहरुले दूध खुवाएर सुताइदिन्छन् र बच्चाको मुख सफा गर्न बिर्सिन्छन् । बच्चाले दूध खाइसकेपछि मुखमा दूध जमेको हुन्छ । मुखमा दूध जमेर बस्दा त्यसले झन् किराले खाने सम्भावना रहन्छ । ६ महिनापछि बच्चालाई पानी खुवाउन मिल्छ । बच्चालाई दूध खाएर सुतेपछि दूधको बोतलमा सफा पानी हालेर थोरै चुसाइदिनुपर्छ । यसो गर्दा मुखमा दूध जम्न पाउँदैन र किराले दाँत खाने सम्भावना कम रहन्छ । जमेको दूध उसले निल्छ र पानीले मुख सफा हुन्छ ।
बच्चा ८ महिना पुगेपछि नर्मल नरम टुथ ब्रसले टुथ पेस्ट नहालिकन ब्रस गर्दिनुपर्छ । बच्चाले जबसम्म थुक्न र कुल्ला गर्न जान्दैन तबसम्म टुथपेस्ट नहालिकन ब्रस अभिभावकले आफै ब्रस गर्दिनुपर्छ । हरेक दाँतको अगाडि र पछाडि चपाउने भागमा मजाले सफा गर्दिनुपर्छ । त्यसैगरी कुल्ला गर्न पनि सिकाउनुपर्छ । कम्तीमा ५ वर्षसम्म बच्चाले आफैले राम्ररी ब्रस गर्न सक्दैन । अलि अलि सक्ला तर दाँतको सबै भागसम्म ब्रस पुर्याएर सफा गर्न सक्दैन । बिस्तारै ठूलो भएपछि कुल्ला गर्न जानेपछि उसलाई ब्रस दिएर गर्न लगाउने र आफूले पनि गर्दिने गर्नुपर्छ । उसले ब्रस गर्दा राम्ररी गरेको छ की छैन भनेर हेर्नुपर्छ र सिकाउनुपर्छ ।
त्यसैगरी६–६ महिनाको अन्तरमा डेन्टिस्टकोमा लानु राम्रो हुन्छ । डेन्टिस्टले बच्चाको दाँत हेरेर उसको अवस्थाअनुसार ‘फ्लुराइड’ भन्ने तत्व राख्दिन सक्छन् जसले गर्दा दाँत छिट्टै किराले खाँदैन र दाँतको संरचना पनि बलियाे हुन्छ । समय–समयमा चिकित्सककोमा जानुको अर्को फाइदा के छ भने यसले थप जटिलता र पैसा खर्च हुनबाट पनि जोगाउँछ । परीक्षणले दाँतको समस्या अरु बढाउन दिँदैन र बच्चालाई थप पीडा पनि हुँदैन ।
बच्चाको दाँत कसरी जोगाउने ?
बच्चाहरुलाई दिनमा ४ पटक खाना खुवाउनु उपयुक्त हुन्छ । धेरै अभिभावकले छिनछिनमै चकलेट, आइसक्रिम, जुस आदि खानेकुरा खुवाइरहेका हुन्छन् । यसरी पटक–पटक खाइरहँदा मुखमा खानेकुरा जम्ने सम्भावना हुन्छ । यस्तो खानेकुराहरुले चिनीको मात्रा बढाउँछ जसले गर्दा दाँत किराले खाने समस्या बढी देखिन सक्छ । त्यसैले यस्तो खानेकुरा खुवाउन जति कम गर्यो त्यति नै दाँतको हेरचाह गर्न सजिलो हुन्छ । बच्चाले खाइहालेमा कुल्ला गर्न सिकाउनुपर्छ ।
ब्रस हामीले बिहान–बेलुका दैनिक दुईपटक गर्न सुझाउँछौँ । बेलुका सुत्नुअघि गर्ने र बिहान खाना खाएपछि एकपटक ब्रस गर्नुपर्छ । रातिको खाना खाएर ब्रस गरिसकेपछि केही पनि खुवाउनु हुँदैन । बिहान उठ्नेबित्तिकै भन्दा पनि बच्चाले बिहानको खाजा वा खाना खाइसकेपछि ब्रस गराउनुपर्छ। जहिल्यै पनि ब्रस गराएर मात्र स्कुल पठाउनुपर्छ । दिउँसो उसले खाजा खाएपछि कुल्ला गर्नुपर्छ भनेर सिकाउनुपर्छ । कुल्ला गर्ने बानीले मुखमा जे जति खानेकुरा अड्किएका हुन्छन् ती सफा हुन्छन् ।
बच्चाहरुमा १२ वर्षसम्म बुद्धि बंगाराबाहेक सम्पूर्ण दात आइसक्छ । कसैको ढिलोसम्म १४ वर्षसम्ममा दाँत आइसक्छ । बुद्धि बंगारा १८ वर्षपछाडी आउँछ । धेरै जनामा छिट्टै बुद्धि बंगारा आइसक्दैन । धेरैजनाको कि त भित्र अड्किएर बसेको हुन्छ कि त आउनलाई ठाउँ हुदैन ।त्यस्तो अवस्थामा भने यसले अरु पनि जटिलता निम्त्याउन सक्छ । सबै दाँत स्वस्थ्य भएपनि बुद्धि बंगारामा छिट्टै किराले खान सक्ने हुन्छ । उघ्रिन नसकेको बुद्धिबंगारामा ब्रस गर्दा त्यहाँसम्म सफा गर्न पुगेको छैन भने छिट्टै किराले खान सक्छ । सही ठाउँमा दाँत आएन भने झन् धेरै खाना अड्किने अनि सफा गर्न अप्ठ्यारो हुने लगायतका समस्याहरु देखा पर्न सक्छन् । सही ठाउँमा बंगारा आएन वा तेर्सिएर आयो भने चिकित्सकले उखेल्न पनि सल्लाह दिन सक्छन् । यसले कुनै खराबी गर्दैन ।किनकी यो दाँत चपाउनको लागि चाहिने दाँत होइन ।
बच्चा अलिकति बुझ्ने भइसकेपछि उसलाई ब्रस गर्नेसँगै ‘डेन्टल फ्लस’( यो पातलो धागो जस्तो हुन्छ जसले दाँतमा अड्किएको वस्तु सफा गर्न सहयोग गर्छ) को पनि प्रयोग गर्न सिकाउनुपर्छ । १० वर्षको उमेरपछि बच्चालाई दैनिक दाँतको बिचमा सफा गर्न सिकाउनुपर्छ ।
धेरैजसो बच्चाहरुमा दूधे दाँतमा किराले खाएको समस्या बढी देखिने गरेको पाइएको छ । अभिभावकले दूधे दाँत झरिहाल्छ र नयाँ आइहाल्छ भनेर ध्यान दिँदैनन् र हेरचाह गर्नमा ध्यान दिँदैनन् तर यो गलत धारणा हो । दूधे दाँत राम्ररी सफा गरिएन भने पछि आउने स्थायी दाँत पनि बिग्रेर आउने हुन्छ । किराले खाएर दुधे दाँत समयभन्दा अघि निकाल्यो भने नयाँ आउनकोलागि बाँकी राखेको ठाउँ साइडमा रहेको दाँतले बन्द हुन्छ । नयाँ आउने दाँतलाई ठाउँ नै पुग्दैन । दात अड्किन्छ वा दाँया–बाया गरेर दाँत नै बांगोटिंगो भएर आउने सम्भावना हुन्छ । त्यसैले दूधे दाँतको हेरचाह गर्न एकदमै महत्वूर्ण हुन्छ ।
आफ्नो बच्चाहरुमा ब्रस गर्ने बानी बसाल्नको लागि आफू पनि सँगसँगै गर्नुपर्छ र एउटा तालिका नै बनाइदिनुपर्छ । बच्चाले आमाबुवाको बानी एकदमै छिट्टो टिप्छ जसले गर्दाे सानैदेखि ब्रस गर्ने बानी बस्छ । दाँत ब्रस गर भनेर अर्डर दिनुको साटो उसलाई त्यो रमाइलो खेलजस्तो बनाएर ब्रस गर्न सिकाउनुस् ताकि उसलाई ब्रस गर्न अल्छी होइन रमाइलो लागोस् । उसले जस्तो गर्छ त्यसरी नै गर्न लगाउने र आफूले पनि चेक गर्दिने अनि आफ्नो पनि गर्न लगाउने त्यसरी गर्दा बच्चालाई ब्रस गर्न बोर पनि लाग्दैन र उसलाई रमाइलो लाग्छ । कसले धेरै कुल्ला गर्न सक्छ भनेर प्रतिस्पर्धा गरायो भनेपनि उसले मजाले रमाइलो मानीमानी ब्रस र कुल्ला गर्न सिक्छ । बच्चाहरुले चुइगम निल्दैन भने उसलाई चिनी नभएको चुइगम चपाउन दिनुपर्छ । यसले पनि दाँत सफा गर्न मद्धत गर्दछ ।
बच्चाहरु स्कुलमा खेल्दा चोटपटक लाग्न सक्छ । कसैको स्थायी दाँत पनि झर्न सक्ने हुन्छ । त्यो दाँतलाई जस्ताको तस्तै काँचो दूधमा हालेर दाँत सेवा दिने स्वास्थ्य संस्था पुग्नुभयो भने त्यो दाँत फेरी पनि जोड्न मिल्छ तर एक घण्टाभित्र ल्याउँदा सम्भावना धेरै हुन्छ ।
(आरसिटी स्पेशलिष्ट डा श्रेष्ठसँग बुनु थारुले गरेको कुराकानीमा आधारित)
