मेटाबोलिज्म प्रक्रियाद्वारा खाना ऊर्जामा परिवर्तन हुने क्रममा बन्ने क्रिएटिन विघटित भएर क्रिएटिनिनमा बदलिन्छ
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको रगतमा ‘क्रिएटिनिन’ को मात्रा बढे पछि यो शब्द यतिबेला चर्चा र चासोमा छ । ओली उपचारका लागि दुई साता भित्रै दोस्रो पटक उपचार गर्न सिंगापुर उडे । शरीरबाट निस्किने यही व्यर्थ पदार्थ अर्थात् ‘क्रिएटिनिन’ ले स्वास्थ्यस्थितिमा पार्न सक्ने प्रभाव र असरबारेमा जनचासो हृवात्तै बढेको छ ।
प्रम ओलीको स्वास्थ्य बिग्रनुको पहिलो संकेत रगतमा देखिएको क्रिएटिनिनको वृद्घिलाई मानिएको छ ।
रगतमा सामान्यभन्दा बढी मात्रामा देखिएको यही ‘क्रिएटिनिन’ ले प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आउन थालेपछि थप उपचार जरुरी देखिएको हो । मेटाबोलिक पदार्थ ‘क्रिएटिन’ ले हाम्रो भोजनलाई ऊर्जामा परिवर्तन गर्न सघाउँछ र टुटेर ‘क्रिएटिनिन’ नामक व्यर्थ पदार्थमा परिवर्तित हुन्छ ।
‘अर्को भाषामा भन्ने हो भने जब मेटाबोलिज्म प्रक्रियाद्वारा खाना ऊर्जामा परिवर्तन हुन्छ तब क्रिएटिनको निर्माण हुन्छ,’ धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक एवं वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘यही क्रिएटिन विघटित भएर क्रिएटिनिनमा बदलिन्छ ।’ यो क्रिएटिनिनलाई मृगौलाले रगतबाट छानेर पिसाबको माध्यमले व्यर्थ पदार्थको रूपमा शरीर बाहिर निकाल्छ ।
‘यो प्रक्रिया तपाईंको मृगौलाले सही रूपमा काम गरिरहेको अवस्थामा सहज रूपमा जारी रहन्छ,’ धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नेफ्रोलजिस्ट डा. सुमित आचार्य भन्छन् । तर क्रिएटिनिनको मात्रा बढ्नु भन्नुको तात्पर्य मृगौला समस्याग्रस्त भएर यो व्यर्थ पदार्थ शरीरबाट बाहिर सहज रूपमा ननिस्कनु हो ।
मानिस सामान्यतः दुईवटा मृगौलासँगै जन्म लिए पनि मात्र एउटा मृगौलासमेत प्रभावकारी रूपमा सबै महत्त्वपूर्ण काम गर्न सक्षम हुन्छ । सामान्य रूपमा ५ देखि १० प्रतिशतसम्म मृगौला खराब भएको अवस्थामा ‘क्रिएटिनिन’ नबढने औंल्याउँदै डा.आचार्य भन्छन्, ‘करिब २५ प्रतिशतसम्म मृगौला खराब हुँदा पनि सामान्यतः क्रिएटिनिन बढ्दैन ।’ क्रिएटिनिन मृगौला खराब भइसकेपछि मात्र बढ्ने गर्छ ।
क्रिएटिनिन र युरिया मृगौलाले उत्पादन गर्ने दुइटा काम नलाग्ने व्यर्थ पदार्थ हुन् । रगतमा यसको मात्राले मृगौलाको कार्यक्षमतालाई प्रदर्शित गर्छ । रगतमा क्रिएटिनिनको सामान्य मात्रा पुरुषमा ०.६ मिलिग्राम प्रतिशतदेखि १.२ मिलिग्राम प्रतिशत हुन्छ भने महिलामा ०.६ मिलिग्राम प्रतिशतदेखि १.१ मिलिग्राम प्रतिशतसम्म हुन्छ । यस्तै युरियाको मात्रा २० देखि ४० मिलिग्राम प्रतिशत हुन्छ । दुवै मृगौला बिग्रिँदा, मृगौलाको कार्य क्षमतामा ह्रास आउँदा रगतमा क्रिएटिनिन र युरियाको मात्रा उच्च स्तरमा पुग्छ ।
विशेषज्ञका अनुसार, मृगौलाको कार्यक्षमता जाँच गर्न रगतमा युरियाको परीक्षण गर्नभन्दा क्रिएटिनिनको स्तर परीक्षण गर्दा बढी विश्वसनीय हुन्छ । भनिन्छ, ४० वर्ष पुगेपछि उमेरजन्य कारणले बर्सेनि एक प्रतिशतका दरले मृगौलाको कार्यक्षमतामा ह्रास आउँछ ।
उमेर बढ्दै गएपछि क्रिएटिनिन माथिल्लो स्तरमा जान सक्ने औंल्याउँदै डा. आचार्य भन्छन्, ‘८० वर्षे बूढापाकाहरूका लागि रगतमा क्रिएटिनिनको स्तर १.२ मिलिग्राम प्रतिशत हुनु सामान्य नै मानिन्छ ।’ हामीले बोलचालमा भन्ने ‘किड्नी फेल’ हुनुको अर्थ दुवै मृगौलाको कार्यक्षमतामा कमी आउनु हो । रगतमा क्रिएटिनिन र युरियाको मात्रामा वृद्घिले किड्नी फेल भएको संकेत गर्छ ।
चार दशक नाघेकाहरूले कम्तीमा वर्षमा एकपटक रक्तचाप परीक्षणसँगै रगतमा क्रिएटिनिनको मात्रा र सामान्य पिसाब परीक्षण गराएर मृगौलाको स्वास्थ्य स्थितिबारे जानकारी लिन सक्ने डा. श्रेष्ठ औंल्याउँछन् ।
क्रिएटिनिन देखिनुभन्दा अगावै पिसाबको सामान्य परीक्षणमा प्रोटिन र रगत देखियो भने पनि यसले मृगौलाको समस्याको संकेत गर्छ ।
यस्तो स्थितिमा तुरुन्त विशेषज्ञको सल्लाह लिएर भविष्यमा हुन सक्ने मृगौलाको जटिल समस्यामा जोगिन सकिन्छ ।
तर मृगौला फेल भएका बिरामीलाई नियमित रूपमा रगतमा क्रिएटिनिन र युरियाको मात्राको परीक्षण गराउँदै रहनुपर्छ । यो क्रोनिक (दीर्घकालीन) किड्नी फेलिअर (मृगौलाले काम नगर्नु) को पहिचान र उपचार एवं नियन्त्रणका लागि महत्त्वपूर्ण परीक्षण हो ।
यसले मृगौला कति बिग्रेको छ र उपचारले कति सुधार भएको छ भन्नेबारेसमेत जानकारी प्राप्त हुन्छ ।
मृगौला प्रत्यारोपण भएकामा क्रिएटिनिन बढ्दा
मृगौला प्रत्यारोपण गराएकामा क्रिएटिनिन बढेमा प्रत्यारोपित मृगौलामा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म समस्या छ भन्ने बुझ्नुपर्ने डा.आचार्य बताउँछन् ।
यो प्रत्यारोपित मृगौलाको एक्युट (तीव्र) रिजेक्सन (अस्वीकार) र क्रोनिक (दीर्घकालीन) रिजेक्सन भएमा क्रिएटिनिन बढ्छ ।
मृगौला बचाउने इम्युनोसप्रसेन्ट (प्रतिरोधक क्षमता कम गर्ने) औषधि ‘टेक्रोलिमस’ ले पनि विस्तारै मात्रा बढी भयो भने मृगौलामा नकारात्मक असर परेर क्रिएटिनिन बढ्न सक्ने डा.आचार्य औंल्याउँछन् ।
यस्तै क्रोनिक रिजेक्सन (लामो समय लगाएर विस्तारै अंगलाई शरीरले अस्वीकार गर्नु) भए पनि विस्तारै क्रिएटिनिन बढ्दै जान्छ र मृगौला खराब हुँदै गएको संकेत दिन्छ ।
रगतमा क्रिएटिनिन बढ्नुको कारण
लामो समयदेखि मृगौलाको रोग रहेका तथा तमांसपेशीमा गम्भीर चोट (रेडिमायोलिसिस) भएका विरामीको रगतमा क्रिएटिनिन बढ्ने गर्छ ।
त्यसैगरी, पालिमायोसिटिस, अत्यधिक व्यायाम गर्ने रक्तचापमा कमी, घातक संक्रमण भएका व्यक्ति, कार्बन मोनोअक्साइडको असर र गर्भावस्थामा रहेका विरामीमा पनि सामान्यतया अन्यको तुलनामा क्रिएटिनिन बढ्ने समस्या देखिन्छ ।
मृगौलाले के गर्छ ?
शरीरमा सिमी आकारको करिब उस्ताउस्तै आकारको दुइवटा अंग मृगौला हाम्रो मुठीजत्रै हुन्छ । मृगौला पेटभित्र, पछाडिको खण्डमा ढाडको हाडको दुवैतर्फ छातीको करङबाट सुरक्षित रहेको अवस्थामा हुन्छ । चिकित्सा तथ्यपत्रअनुसार दुवै मृगौलाभित्र दसौं लाख ‘नेफ्रोन’ भनिने ससानो संरचना हुन्छ जसले रगतलाई शुद्घ पार्छ । यसले फोहोर पदार्थ र अतिरिक्त पानी हटाउँछ जो पिसाबको रूपमा शरीर बाहिर निस्किन्छ ।
मृगौलाले रगतभित्र हुने शरीरमा नोक्सान पुर्याउने पदार्थहरूलाई बाहिर निकाल्न महत्त्वपूर्ण भूमिका खेल्छ । यति मात्र नभएर मृगौलाले हार्मोन निर्माण गर्नु, पिसाब बनाउनु, मिनरलको अवशोषण गर्नु, अम्लको सन्तुलन कायम राख्नु लगायत कामसँगै विषाक्त पदार्थहरू शरीर बाहिर फ्याँक्ने कामसमेत गर्छ ।
मुटुद्वारा पम्प गरिएको रगतको करिब २० प्रतिशत जति मृगौलामा गएर त्यहाँबाट प्रशोधित भएर पुनः मुटुमा फर्किन्छ । अर्थात् मुटुबाट प्रत्येक मिनेट निस्किने रगतको पाँचौं भागमा मृगौलामा जान्छ । मृगौलाले शरीरमा नुन पानीको सन्तुलनसमेत कायम राख्छ ।
मृगौला स्वस्थ राख्न
अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ डाइबिटिज एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिज (एनआईडीडीके) का अनुसार मृगौलालाई स्वस्थ राख्न आफ्नो रक्तचापलाई तपाईंको चिकित्सकले भनेअनुसार नियन्त्रणमा राख्ने गर्नुपर्छ ।
धेरैजसो व्यक्तिका लागि रक्तचापको लक्ष्य १४०/९० एमएमएचजीभन्दा कम हुनुपर्छ । यसले मृगौला फेल हुने क्रमबाट जोगाउँछ वा मत्थर पार्छ । मधुमेह भएकाहरूले आफ्नो रगतमा भएको ग्लुकोजको स्तर नियन्त्रणमा राख्नुपर्छ । यस्तै कोलेस्ट्रोलको स्तरसमेत सन्तुलित राख्नुपर्छ ।
केही रक्तचापको औषधिले मृगौलालाई जोगाउने गरेकाले चिकित्सकले भनेअनुसारको औषधि सेवन गर्नुपर्छ । नुन कम खानुपर्छ । दिनहुँ २३ सय मिलिग्रामभन्दा कम नुन उपयोग गर्नुपर्छ । खानपानअन्तर्गत मुटुका लागि स्वस्थकर मानिएका खाद्यपदार्थ रोज्नुपर्छ । ताजा फलफूल/सागसब्जी, अनाज र कम बोसो, चिल्लो भएको दुग्ध उत्पादन सेवन गर्नुपर्छ ।
दिनहुँ थप शारीरिक रूपले सक्रिय हुनुका साथै मदिरा सेवनलाई सीमित गर्नुपर्छ । बढी तौल भए जीउ घटाउनुपर्छ । धूमपानको अम्मली भएकाहरूले यो बानी छोड्नुपर्छ । धूमपानले मृगौला क्षति झन् बढी हुन्छ ।
लक्षण
रोग लागेपछि
