कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बांगोटिंगो र नमिलेको दाँतको उपचार अर्थोडोन्टिक

काठमाडौँ — अर्थोडोन्टिक उपचार भन्नाले सामान्य भाषामा दाँतमा तार बाँध्ने अथवा ब्रेसेज लगाउने भन्ने बुझिन्छ । 

मानिसमा जनचेतनाको विकास, दक्ष जनशक्ति उत्पादन र नयाँ प्रविधिको आविष्कारसँगै यो उपचारमा पनि नयाँ आयाम थपिएको छ । अहिलेको समयमा अधिकांश बच्चाहरूमा नमिलेका दाँतको समस्या बढी हुने हुँदा यसको उपचार गराउनेको संख्या ह्वात्तै बढेको छ । 

अर्थोडोन्टिक्स दन्तचिकित्साको एउटा यस्तो विशेष विधा हो जसमा बांगोटिंगो र नमिलेको दाँतको उपचार गर्नुका साथै अनुहारको हड्डीको समस्याको रोकथाम र उपचार बिभिन्न पद्घतिद्वारा गरिन्छ 


उपचारको आवश्यकता

दाँत बांगोटिंगो वा अनुहारको हड्डिको समस्याको समाधान समयमा गरिएन भने यसले दाँत सफा गर्न गाह्रो भई दाँतमा किरा लाग्ने, गिजाको समस्या हुने, उछिट्टिएको दाँतमा चोट लाग्ने सम्भावना बढ्छ ।

त्यसका साथै अनुहार सुन्दर नदेखिनु र त्यसले मानसिक तनाव निम्त्याउने र खुलेर कुरा गर्न नसक्नु, खाना चपाउन, बोल्न, स्वास फेर्न गाह्रो हुनु, दाँतको टोकाई नमिलेर मुख खोल्न मद्दत गर्ने जोर्नी ( टीएमजे) मा समस्या आदि उत्पन्न हुने हुँदा यो उपचार गराउन अति नै आवश्यक छ ।


समस्या भएको थाहा पाउने तरिका

दाँत बांगोटिंगो वा नमिलेको देखिनु, दाँतको बीचमा खाली ठाउँ हुनु, दाँत उछिटिएर अगाडि आउनु, कुनै दाँत समयमा नआई हड्डीभित्रै रहनु (इम्प्याक्टेड), दाँतको टोकाई उल्टो हुनु, अनुहारको हड्डीको बढ्ने अनुपात नमिलेर सुन्दर नदेखिनु आदि भएमा अर्थोडोन्टिक विशेषज्ञसँग परीक्षण गराई थाहा पाउन सकिन्छ ।


उपचार गर्न उपयुक्त समय

यो उपचार गराउने उपयुक्त समय किशोरावस्थाको सुरुको उमेर अर्थात १२–१३ वर्षलाई मानिन्छ । यो समयमा बच्चाको दाँत फेरिने, केही मात्रामा अनुहारको हड्डी बढ्ने प्रक्रिया बाँकी रहने र ब्रेसेज लगाई सजिलैसंग समाजमा एड्जस्ट हुन सकिन्छ ।


तर जुन बच्चामा अनुहारको हड्डी वा बंगाराको समस्या देखिएको छ वा दाँतको टोकाई उल्टो भएको खण्डमा यो उपचार ८–१२ वर्षभित्रमै गर्नुपर्ने हुन्छ । अभिभावकलाई समस्या भएको वा नभएको थाहा नहुने भएकोले अमेरिकन एसोशिएसनअफ् अर्थोडोन्टिस्टस् (एएओ) को अनुसार सबै बच्चाहरूलाई ६–७ बर्षको उमेरमै पहिलो पटक अर्थोडोन्टिक विशेषज्ञसँग परीक्षण गराई परामर्श लिनु पर्दछ ।

यो उपचार वयस्क उमेरमा गर्नै मिल्दैन भन्ने चाहीं होइन । दाँतलाई समातेर राख्ने वरिपरिको हड्डी स्वस्थ छ भने यो उपचार गर्न मिल्छ तर पहिलेको तुलनामा अलि बढी समय लाग्छ ।


उपचारका प्रकार

यो उपचार दुई प्रकारको हुन्छ । निकाल्न र राख्न मिल्ने रिमुभेवल र फिक्स्ड । फीक्स्ड भित्र मेटलको ब्रेसेज, दाँतको रंगको कम देखिने सेरामिक ब्रेसेज, दाँतको पछाडिबाट नदेखिने लिङ्गुअल ब्रेसेज पर्दछन् । अहिले चर्चामा रहेको कम देखिने एलाइनर पद्घति जसमा ब्रेसेज नलगाईकन दाँत मिलाउन सकिन्छ । जुन जटिल भन्दा पनि सामान्य बिग्रिएको दाँतमा उपयोगी मानिन्छ ।


विशेषज्ञसँग उपचार गराउने

फिक्स्ड अर्थोडेन्टिक उपचार यसैको सम्बन्धित विशेषज्ञसँग मात्रै गराउनु पर्दछ, जसले दन्त चिकित्सकको पढाइ पूरा गरी अर्थोडोन्टिकमा स्नातकोत्तर (एमडीएस) गरी दक्षता हासिल गरेर नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता गराएको हुन्छ ।


तसर्थ आफ्नो उपचार गराउनु अघि सो चिकित्सक अर्थोडोण्टीक विशेषज्ञ हो वा होइन, पहिले यकिन गर्नु पर्दछ । यसमा जनचेतना फैलाउने उद्देश्यले वर्ल्ड फेडरेसन अफ अर्थोडोन्टिस्ट्सको अगुवाइमा वर्षेनी मे १५ लाई विश्वभर ‘वर्ल्ड अर्थोडोन्टिक हेल्थ डे’ का रूपमा मनाइन्छ ।


उपचार प्रक्रिया

अर्थोडोन्टिक विशेषज्ञले दाँतको अवस्थाको परीक्षण गरी एक्स–रे (ओपीजी र ल्याटरल सेफ), दाँतको नाप र मुख बाहिर र भित्रको तस्बिरहरू लिई त्यसको आधारमा दाँतको जटिलताका अनुसार समस्या समाधान हुने गरी उपचार सुरु गर्छन् ।


बढ्ने उमेरका बालबालिकामा बंगाराको समस्या छ भने एप्लाइन्सहरूको प्रयोग गरि ग्रोथ मोड्युलेसन पद्घतिबाट समाधान गरिन्छ । बढ्ने उमेर सकिसकेको छ भने अर्थोडोन्टिक क्यामोफ्लाजबाट पनि उपचार गर्न सकिन्छ, जुनमा बंगाराको समस्या दाँतलाई सारेर उपचार गरिन्छ र समस्याको प्रकृति अत्यन्त जटिल छ भने बढ्ने उमेर सिधिएपछि अर्थोडोन्टिक सर्जरीबाट गर्न पर्ने हुन्छ ।


कुनै बिरामीमा ब्रेसेजको उपचार गर्ने क्रममा दाँत मिलाउन र दाँतलाई भित्र लान खाली ठाउँको आवश्यकता पर्ने हुदा दाँत पनि झिक्नुपर्ने हुनसक्छ । सो खाली ठाउँ उपचारपश्चात दाँतलाई सारेर मिलाउने गरिन्छ । यो उपचारको अवधि धेरैजसो दाँतको प्रकृति हेरेर १–२ बर्ष लाग्ने हुन्छ । यो उपचारको पद्घतिहरू निश्चय गर्दा दाँतको राम्रो टोकाइर्, अनुहारमा राम्रो परिवर्तन र उपचारपश्चात पनि दाँत मिलाएकै ठाउँमा रहिरहने गरी ध्यानमा राखिएको हुन्छ ।

यो उपचार पश्चात दाँतलाई नयाँ ठाउँमा लगिने हुँदा त्यस वरिपरिको हड्डी र रेशाहरू अर्गनाइज नहुन्जेलसम्म रिटेनरो प्रयोग गर्नु पर्दछ । यसपछि पनि बेला बेलामा अर्थोडोन्टिक विशेषज्ञको परामर्श लिइरहनुपर्छ ।

(डा.गुप्ता त्रि.वि.शिक्षण अस्पताल, महाराजगन्जमा उप–प्राध्यापक तथा अर्थोडोन्टिक विशेषज्ञ हुन्)


प्रकाशित : असार २१, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?