‘लामखुट्टेले टोकेका ठाउँमा धेरै कन्याउनु हँुदैन । कन्याए घाउ हुन सक्छ, पछि पाक्न पनि सक्छ ।’
काठमाडौँ — केही वर्षयता लामखुट्टे पहाडसमेत चढ्न थालेका छन् । यसैले मधेस मात्र हैन, पहाडमा समेत विभिन्न रोग मात्रै सरेका छैनन्, छालामा हुने एलर्जीको समस्याले दु:ख पाउनेहरूसमेत बढेका छैन ।
बर्सेनि बर्खायाममा हाम्रो मुलुकमा लामखुट्टेका कारण उत्पन्न हुने र थुप्रै रोग सञ्चार हुने अनुकूल परिस्थिति निर्माण बनिरहेको छ । लामखुट्टेले टोकेपछि एलर्जी हुनुका साथै यसले कडा रूपले बिरामी पार्न सक्ने केही भाइरस र परजीवीलाई बोक्ने गरेको छ ।
‘लामखुट्टेले छालामा टोक्दा धेरै चिलाएर डाबर, सुन्निने आदि हुने गर्छ,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन् ।
यस्तो डाबर केही दिनमै आफंै हराउने गरे पनि कहिलेकाहीँ छालाको ठूलो सतहमा सुन्निने, रातो भई दुख्ने हुन्छ । लामखुट्टेले टोकेपछि यस्तो प्रतिक्रिया बालबालिकामा बढी हुन्छ । कहिलेकाहीँ भने लामखुट्टेले टोकेपछि तीव्र एलर्जी (एनाफेलेक्सिस) समेत हुन सक्ने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘एनाफेलेक्सिस तीव्र एलर्जीसम्बन्धी प्रतिक्रिया हो, जसले सम्पूर्ण शरीरलाई प्रभावित गर्छ । यो चिकित्सासम्बन्धी आकस्मिक अवस्थासमेत हो ।’
अमेरिकन एकेडेमी अफ एलर्जी आस्थमा एन्ड इम्युनोलजी (एएएएआई) का अनुसार, लामखुट्टेले रगत सम्बन्धी रोग मात्र सार्दैन, सबैभन्दा नराम्रो अवस्थामा लामखुट्टेको टोकाइले एनाफाइलेक्सिस पनि उत्पन्न हुन सक्छ । यो ज्यान जोखिममा पर्ने अवस्था हो । यसमा घाँटी सुन्निनु, माहुरीको चाकाजस्तो डाबर देखिनु, बेहोस हुने वा स्वाँस्वाँ गर्ने अवस्था देखिन सक्छ । लामखुट्टेको टोकाइबाट हुन सक्ने दुर्लभ अवस्था हो यो । यस्तो अवस्थामा तुरुन्त आकस्मिक उपचार आवश्यक हुन्छ ।
लामखुट्टेका हजारौं प्रजाति हुन्छन् । पोथी लामखुट्टेले मात्र मानिस र जनावरलाई टोकेर रगत चुस्छ । पोथी लामखुट्टेलाई फुल पार्न रगतका माध्यमले प्रोटिन र फलाम चाहिने भएकाले यसो गरेको हो । लामखुट्टेले हाम्रो छालालाई छेडेर रगत चुस्न आफ्नो मुखको भागलाई उपयोग गर्छ । लामखुट्टेको दाँत हुँदैन ।
गर्मी, प्रकाश, पसिना, शरीरको गन्ध, ल्याक्टिक एसिड र कार्बन डाइअक्साइडका कारण पोथी लामखुट्टेलाई छालातर्फ आकर्षित हुने गर्छ । पोथी लामखुट्टेले मुखको भागलाई साना रक्तनलीमा छिराएर त्यसमा र्याल पसाउँछ र रगत चुस्न थाल्छ । लामखुट्टेको र्यालमा भएको रसायनले रगतलाई जम्न दिँदैन अनि छालामा रातोपन देखिने, सुन्निने र चिलाउने हुन्छ ।
रगत चुसेपछि पोथी लामखुट्टेले पानी जमेको भएको ठाउँ खोजेर त्यहाँ फुल पार्छ । भाले लामखुट्टे एक सातादेखि १० दिन बाँच्छ भने पोथी लामखुट्टे थुप्रै सातासम्म बाँच्न सक्छ । केही पोथी लामखुट्टे जाडो याममा शीत निद्रा (हाइबरनेट) मा जान्छन् र महिनांै बाँच्न सक्छन् ।
लामखुट्टेले छालामा टोकेको ठाउँमा चिलाउने र सुन्निने हुन थाल्छ । यो हाम्रो रोगप्रतिरोधी प्रणालीले लामखुट्टेको र्यालविरुद्घ देखाएको प्रतिक्रिया रहेको डा. कर्ण बताउँछन् । लामखुट्टेले टोकेपछि हुने सबैभन्दा सामान्य प्रतिक्रिया हो यो । एकदुई दिनमै चिलाउने र सुन्निने कम हुँदै जान्छ ।
लामखुट्टेले टोकेका ठाउँमा कालामाइन लोसन दिनमा दुईतीन पटक लगाउन सकिने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘लामखुट्टेले टोकेका ठाउँमा धेरै कन्याउनु हँुदैन । कन्याए घाउ हुन सक्छ, पछि पाक्न पनि सक्छ ।’
उपचार
यदि लामखुट्टेले टोकेका कारण तपाईंमा एनाफेलेक्सिस अर्थात् तीव्र एलर्जीसम्बन्धी प्रतिक्रिया देखिएको छ भने तुरुन्त आकस्मिक उपचार आवश्यक हुन्छ । सामान्य छ भने, केही प्रक्रिया अपनाएर त्यसलाई हटाउन सकिन्छ ।
यसका लागि, सुन्नाइ र दुखाइ कम गर्न शरीरको प्रभावित भागमा बरफ लगाउन सकिन्छ । प्रभावित क्षेत्रमा औषधि पसलमा पाइने लोसनसमेत लगाउन सकिन्छ ।
छालामा उठेका फोकालाई साबुनपानीले धुनुपर्छ । यसरी धुँदा फोका फुटाउनु हुन्न ।
लामखुट्टेले टोकेका ठाउँमा चिलाउन घटेको छैन भने, चिकित्सकीय सल्लाहमा ‘टोपिकल स्टेरोइड’ र मुखबाट खाने ‘एन्टिहिस्थामिनिक’ औषधि खान सकिने डा. कर्ण बताउँछन् ।
लामखुट्टेले टोकेका ठाउँ झन्झन् सुन्निइरहेको छ भने वा त्यो क्षेत्र संक्रमित भएको लागे तुरुन्त चिकित्सककहाँ सल्लाह लिनुपर्छ ।
लामखुट्टेले नटोकोस् भन्न
शरीरलाई राम्ररी ढाक्ने : लामखुट्टेबाट जोगिन घरबाहिर बस्दा लामो बाहुला भएका लुगाफाटो, लामो पाइन्ट र मोजा लगाउनुपर्छ । पातलो रेसादार लुगा लगाउँदा यसको माथि बसेर समेत लामखुट्टेले टोक्न सक्छ । यसैले सकेसम्म बाक्ला लुगा वा पातला लुगामाथि लामखुट्टे भगाउने पर्मेथ्रिन जस्तो स्प्रे छर्किनु फाइदाजनक हुन्छ । तर पर्मेथ्रिनलाई प्रत्यक्ष रूपमा छालामा छर्कनु हँुदैन ।
घरलाई लामखुट्टे प्रतिरोधी बनाउने : घरका झयालढोका, भेन्टिलेसन आदिमा तारजाली लगाएर लामखुट्टे नछिर्ने बनाउनुपर्छ ।
घरछेउमा लामखुट्टे प्रजननस्थल हुन नदिने : निरन्तर रूपमा घरछेउमा पानी जम्न दिनु लामखुट्टेलाई फुल पार्न प्रोत्साहित गर्नु बराबर हो । यसैले घर छेउछाउमा पानी जम्ने ठाउँ राख्नु हँुदैन ।
झुल टाँग्ने : बढी मात्रामा लामखुट्टे भएको ठाउँमा सुत्दा झुलको उपयोग गर्नुपर्छ । बालबालिकालाई सुताउँदा दिउँसोसमेत झुलको उपयोग गर्नु फाइदाकारी हुन्छ ।
कसलाई बढी टोक्छ लामखुट्टेले ?
हामीमध्ये केही व्यक्तिले आफूलाई अन्यको दाँजोमा लामखुट्टेले बढी टोक्ने गुनासो गर्छन् । यो सही कुरा हो । चिकित्सा तथ्यपत्र अनुसार, केही व्यक्तिको शरीरमा यस्तो रसायनको बढी निर्माण हुन्छ, जसले लामखुट्टेलाई आकर्षित गर्छ ।
लामखुट्टेको टाउकामा आँखा र एन्टिना हुन्छ । यसले एन्टिनाले तापक्रम, गन्ध र केही रसायनको पहिचान गरेर आफ्नो सिकारसम्म पुग्छ ।
हाम्रो सासबाट निस्किने कार्बन डाइअक्साइड ग्यास र शरीरको गन्धले पनि लामखुट्टेलाई हामीसम्म पुर्याउन सघाउँछ । दिनहुँ ननुहाउने, शरीरमा बढी ब्याक्टेरिया भएकाहरूलाई समेत लामखुट्टेले बढी टोक्छ । केही व्यक्तिको शरीरको गन्धले बढी आकर्षित गर्ने भएकाले उनीहरू लामखुट्टेको टोकाइमा बढी पर्छन् ।
गर्भवती महिला, बढी तौल भएकाहरूलाई लामखुट्टेले बढी टोक्छ । यस्तै, मद्यपान गर्नेहरूलाई लामखुट्टेले बढी टोक्छ ।
अनुसन्धानमा देखिएअनुसार, ‘ओ’ रक्त समूह भएकाहरूलाई लामखुट्टेले बढी टोक्ने गरेको छ ।
यस्तै लामोलामो सास फेर्नेहरूलाई पनि लामखुट्टेले बढी टोक्छ ।
तपाईंको छालामा जति बढी ल्याक्टिक एसिड हुन्छ, लामखुट्टे तपाईंतर्फ त्यति नै बढी आकर्षित हुने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘केही अनुसन्धान अनुसार बियर खाएकाहरूलाई अन्यको दाँजोमा लामखुट्टेले बढी टोक्छ ।’
लामखुट्टेले सार्ने मुख्य रोग
औलो, डेंगु, जिका, वेस्ट निल भाइरस, चिकनगुनिया, जापानी इन्सेफ्लाइटिस, फाइलेरिया लगायत
