पोल ढलेपछि ६ सय घरधुरी चार दिनदेखि विद्युत् सेवाबाट वन्चित
What you should know
गोरखा —
गैरीछाप-देउराली-पन्द्रुङ सडकका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात सञ्चालन बन्द भएको छ ।
डेढ साताको अन्तरालमा घ्याम्पेसाल–पाँचखुवा देउराली–पन्द्रुङ खण्डको बारपाक सुलिकोट–८ पन्द्रुङको ढाप, गैरीछाप र पहरेमा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
पन्द्रुङ ढापमा खसेको पहिरो एक साताअघि पन्छाएर सडक मर्मत गरिए पनि पुन: भासिएर सवारी आउजाउ ठप्प भएको बारपाक सुलिकोट–७ का वडाध्यक्ष कृष्ण गुरुङले बताए । ‘तीन ठाउँमा ठूलो पहिरो छ, अरु चार ठाउँमा साना खालका पहिरो झरेका छन्,’ उनले भने, ‘पहिरोले सवारी संचालन हुन सकेको छैन ।’
पन्द्रुङ ढापको पहिरोले पैदल यात्रा पनि हुन नसकेको उनले बताए ।‘कमेरो माटो रहेछ । भित्र मुल फुटेर पन्द्रुङ ढापमा सडक भासिएको हो, झण्डै २५ मिटर सडक बगेको छ,’ उनले भने ।
उक्त सडक बर्खाअघि मर्मत सम्भव नदेखिएको र मुलाबारी गुर्दुम हुँदै वैकल्पिक बाटो प्रयोग थालिएको उनले बताए । वडा नम्बर ८ कै गैरीछापमा करिब १ मिटर तथा पहरेमा करिब ३ मिटर सडक भासिएको स्थानीयहरुले बताए । गैरीछापमा वैकल्पिक सडक प्रयोग भएको र पहरेमा जेनतेन चलेको छ ।
गैरीछापको पहिरोले विद्युत्को पोल पनि ढलेपछि वारपाक सुलिकोट–७ का झण्डै ६ सयभन्दा बढी घरधुरी चार दिनदेखि विद्युत् सेवाविहीन बनेका छन् ।
पहिरोले बिजुलीका ६ वटा पोलमा क्षति पुर्याएको गुरुङले बताए । ‘गैरीछापमा पोल बगेर तार लत्रिएको छ, पहिरोले पोल बगाउँदा गाउँभरि बिजुली छैन, मोबाइल चार्ज गर्न पनि समस्या परेको छ,’ उनले भने । विद्युत् प्राधिकरणबाट मर्मतको काम पनि भइरहेको उनले सुनाए ।
पूर्वाधार कार्यालय गोरखाका प्रमुख सन्तोष अर्यालले सडक भत्किएपछि प्राविधिक टोलीले अध्ययन पनि गरेको बताए । ‘पन्द्रुङ ढापको सडक त मर्मत पनि गरेका थियौं, लगत्तै पहिरो खस्यो,’ उनले भने,‘त्यो ठाउँमा वैकल्पिक बाटो पनि सफा गर्न लगाएका छौं, अरु भासिएको सडकको प्राविधिकमार्फत अध्ययन गरेका छौं ।’
भौगोलिक कारणले सडक भासिएको पनि उनले बताए । ‘स्ट्रक्चर भत्किएर पहिरो गएको होइन, जमिन मुनि पानी रसाउने रहेछ, जमिनभित्र पानीले खोतलेर सडक भासियो,’ उनले भने ।
भौगोलिक समस्या तथा तत्कालीन समयमा सडक निर्माण गर्दा पानी व्यवस्थापन नहुदा सडक भासिने समस्या आएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए । ‘सडक तल्लो भागबाट बगेको छ, पन्द्रुङ ढापको सडक त ठप्पै छ,’ उनले भने ।
सडक मर्मतका लागि पूर्वाधार विकास कार्यालय गोरखा र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा गाउँपालिकाले पत्राचार गरेको छ । सडक भासिएकाले तत्कालका लागि वैकल्पिक व्यवस्था गर्न तथा सडकको स्तरोन्नतिका लागि गाउँपालिकाले माग गरेको अध्यक्ष भट्टले बताए ।
