शव खोल्सामा फालेपछि पोल खुल्ने डरले पछि मृतककै साथमा मोबाइल राखिदिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
What you should know
बागलुङ — आइफोनको चक्करमा लागेर बागलुङको बडिगाडमा आफ्नै साथीहरुको प्रहारबाट १७ वर्षीय किशोरको हत्या भएको छ ।
बडिगाड गाउँपालिका-१ का बोमबहादुर र देउमायाका छोरा लजिन थापाको आफ्नै साथीहरुले मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको रहस्य खुलेको हो । हत्यापछि शव लुकाएका उनका साथीहरुले गलत स्थान बनाइदिँदा प्रहरीले घटनाको ९ दिनपछि मात्र मृतकको शव फेला पारेको छ ।
साउन १ गते छिमेकी साथी असिम वनको जन्मदिन मनाउने भन्दै बोलाएका उनका साथीहरुले रातको समयमा रक्सी सेवन गरेको र राति अबेर भएपछि घर पुर्याइदिने भन्दै एकान्त स्थानमा पुर्याई लजिनको साथबाट आइफोन खोसेर उनीमाथि प्रहार गरेको खुलेको छ । मुक्का प्रहारबाट बेहोस भएका थापालाई ढुंगामुढाले हानेर हत्या गरेको र साथमा रहेको आइफोन लुटेको पक्राउ परेकाहरुले बताएका छन् । प्रहरीका अनुसार हत्या आरोपमा लजिनका साथीहरु ददी परियार र रेमबहादुर बिकसहित ४ जना पक्राउ परेका छन् ।
‘पहिला आइफोनकै लागि एकान्तमा पुगेर मुक्का प्रहार भयो, ढुंगामुढा हानेर हत्या भयो, त्यसपछि फोन लुटियो,’ अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले भने, ‘शव लुकाउन राति २५ मिनेट हिँडेर खोल्सामा फालेका रहेछन् ।’ शव फालेपछि प्रहरीले थाहा पाउँछ भनेर मृतककै साथमा मोबाइल राखिदिएको अनुसन्धानमा खुलेको छ ।
काठमाडौंस्थित ठूलोबुबाको घरमा बसेर साइपाल कलेजमा कक्षा ११ अध्ययनरत लजिन केही दिनअघि मात्र नागरिकता बनाउन घर आएका थिए । उनको साथमा ठूलोबुबाले किनिदिएको आइफोन थियो । उक्त आइफोनमा साथीहरुले पटकपटक फोटो खिच्न खोज्ने गरेका थिए । पक्राउ परेका ददी परियारले आफ्नो फोन नराम्रो भएकोले राम्रो फोटो खिच्नका लागि माग्ने गरेको पनि खुलेको छ । फोनमा साथीहरुको फोटोसमेत भेटिएको प्रसाईंले बताए ।
शव भेटिनुअघि साउन ७ गते नै घटनामा संलग्नको आधारमा २० वर्षीय रेमबहादुर बिक, १९ का सुदीप बिक, १६ का असिम वन र १७ का ददी परियारलाई नियन्त्रणमा लिएर व्यक्ति बेपत्ता पार्ने कसुरमा मुद्दा दर्ता गरी ५ दिनको म्यादसमेत थप भएको थियो । शव फेला परेपछि उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ताको तयारी गरेको छ ।
९ दिनसम्ममा मृतकको शव गलिसकेको अवस्थामा भेटिएको थियो । पोस्टमार्टमका लागि शव धौलागिरि अस्पताल ल्याइएको छ । चोटका प्रकृति र अन्य विवरण पोस्टमार्टमपछि खुल्ने जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।
साउन २ गते बिहानदेखि नै थापा बेपत्ता भएको उजुरीपछि इलाका प्रहरी कार्यालय गलकोट, प्रहरी चौकी खरबाङ र जिल्ला प्रहरी प्रमुख प्रसाईंसहितको टोलीले गाउँमा खोजी गरेको थियो ।
अनुसन्धान कठिन भएपछि प्रदेश प्रहरी कार्यालय पोखराबाट पोलिग्राफ प्राविधिक र तालिमप्राप्त कुकुरसमेत ल्याउनु परेको थियो । ‘हामीले प्राविधिक र कुकुरको सहायताले पनि खोजी गरेपछि मात्र मनेखोलाको खोल्सामा शव भेटायौं,’ प्रसाईले भने, ‘चप्पल, ज्याकेट लगायतका सामान फरकफरक स्थानमा लुकाइएको पाएपछि शव भेटाउन कठिन भएको थियो ।’
घटनापछि गाउँ शोकमग्न भएको छ । पक्राउ परेकाहरु समेत सानो उमेरका भएकोले अनुसन्धान कठिन भएको उनले बताए ।
