सुरक्षा दिने प्रहरी चौकी नै जोखिमयुक्त संरचनामा

बागलुङ प्रवेशद्वार मालढुंगामा प्रहरी चौकी दुई वर्षदेखि नदी किनारमा जस्तापाताको टहरोमै सञ्चालन भइरहेको छ।

श्रावण ९, २०८३

प्रकाश बराल

The very police post responsible for providing security is itself in a hazardous structure

What you should know

बागलुङ — बागलुङ प्रवेशद्वार मालढुंगामा चौबीसै घण्टा खटिने प्रहरीसँग अरूको सुरक्षा गर्ने जिम्मेवारी छ। तर उनीहरू आफैं सुरक्षित छैनन्।

दुई वर्षदेखि प्रहरी चौकी नदी किनारको घाटको पाटीमा जस्तापाताले बारेर बनाइएको अस्थायी टहरोमा सञ्चालन भइरहेको छ। उर्लिएको कालीगण्डकीको किनारमा बसेर उनीहरूले सवारी जाँचदेखि अपराध नियन्त्रणसम्मको जिम्मेवारी निभाइरहेका छन्।

अघिल्लो आर्थिक वर्ष बागलुङ नगरपालिकाले वडा १ मालढुंगामा १० लाख रुपैयाँ खर्चेर सार्वजनिक शौचालय बनायो। शौचालय बनाउन आडैमा रहेको प्रहरी चौकीको छाप्रो भत्काइयो। त्यसपछि प्रहरीका लागि नयाँ भवन बन्ने अपेक्षा थियो। तर दुई वर्ष बितिसक्दा पनि नयाँ भवन बनेन। अहिले प्रहरी चौकी नदी किनारको पाटीमै सञ्चालन भइरहेको छ।

जिल्लाको प्रवेशद्वारमा रहेको यही चौकीबाट मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर हुँदै आवतजावत गर्ने सयौं सवारीको निगरानी हुन्छ। तर सुरक्षा दिने प्रहरी आफैं अस्थायी टहरोमा बस्न बाध्य छन्। जग्गा विवाद, बजेट अभाव र निकायबीचको समन्वय नहुँदा चौकी निर्माण अलपत्र परेको छ।

दैनिक चार–पाँच वटा शव दाहसंस्कारका लागि ल्याइने भएकाले मलामीलाई ओत लाग्ने उद्देश्यले बनाइएको पाटी अहिले प्रहरी चौकी बनेको छ। थोत्रा जस्तापाताले बारेर बनाइएको टहरोमा प्रहरी बसिरहेका छन्। सडकछेउको एउटा घुम्तीमा उभिएर ट्राफिक प्रहरीले सवारी जाँच र कागजात परीक्षण गर्छन्। उर्लिएको कालीगण्डकीको बहाव र आवाजले चौकीभित्र बोलेको कुरा समेत राम्ररी सुनिँदैन। नदीको कटानको जोखिम पनि उत्तिकै छ।

२०५१ सालमा बागलुङमा नियमित सवारी सञ्चालन सुरु भएपछि मालढुंगामा प्रहरी चौकी स्थापना गरिएको थियो। त्यसयता कालीगण्डकी पुलनजिकैको अस्थायी छाप्रोबाट सुरक्षा सेवा दिँदै आएको चौकी अहिले आफ्नै भवनविहीन बनेको छ।

जिल्ला प्रहरी प्रमुखदेखि प्रमुख जिल्ला अधिकारीसम्म यही बाटोबाट पटक–पटक आवतजावत गर्छन्। तर चौकी व्यवस्थापनले प्राथमिकता पाएको छैन। जिल्लाको प्रवेशद्वारमा रहेको चौकी व्यवस्थित र आकर्षक भए जिल्लाको पहिलो छाप पनि राम्रो पर्ने स्थानीयको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयमा भने कार्यालय र आवासका लागि चार वटा पक्की भवन छन्। तर मालढुंगाको चौकीमा वर्षामा ओत लाग्ने र घाममा बस्ने ठाउँसमेत छैन। पुरानो छाप्रो सडक मापदण्ड र सार्वजनिक शौचालय निर्माणका कारण हटाइएपछि प्रहरी घाटको पाटीमा बस्न बाध्य भएको हो। सडक विस्तार पनि भएको छैन भने भविष्यमा अर्को पुल बनाउनुपरे शौचालयसमेत हटाउनुपर्ने अवस्था छ।

प्रहरी चौकी मालढुंगामा ट्राफिक चेकपोस्टसहित १५ जनाको दरबन्दी छ। चौबीसै घण्टा सञ्चालन हुने यो चौकी मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको संगमस्थल भएकाले निकै व्यस्त मानिन्छ। दैनिक सयौं सवारीको अभिलेख राख्ने, जाँच गर्ने, शंकास्पद सवारी र व्यक्तिमाथि निगरानी गर्ने काम यहीँबाट हुन्छ।

प्रहरी नायब निरीक्षकको नेतृत्वमा रहेका प्रहरीहरू घाटमै खाना पकाएर बस्ने र सुत्ने गर्छन्। यहाँ दुई जना ट्राफिक प्रहरीको समेत दरबन्दी छ। हावाहुरी आउँदा पहिलेको छाप्रोका जस्तापाता उडाउने समस्या थियो। अहिले खुला टहरोमा धुलो, हिलो र वर्षा खेप्दै ड्युटी गर्नुपर्ने अवस्था छ।

प्रहरीले रजिस्टर, अभिलेख र बरामद सामग्री सुरक्षित राख्नसमेत कठिनाइ हुने बताएका छन्। पक्राउ परेकालाई राख्ने छुट्टै कोठा नभएकाले तत्काल जिल्ला प्रहरी कार्यालय पठाउनुपर्छ। खुला रूपमा छाडिएका कुकुरका कारण पनि थप समस्या हुने उनीहरूको गुनासो छ।

प्रशासनका अनुसार हाल प्रहरी बसेको स्थान कालीका गुठी र लक्ष्मीनारायण गुठीको जग्गाभित्र परेकाले स्थायी भवन निर्माण हुन सकेको छैन। जग्गा उपलब्ध गराउन गुठीलाई पत्राचार गरिए पनि जवाफ नआएकाले बजेट विनियोजन हुन नसकेको हो।

गुठीका पूर्वअध्यक्ष कुमार खड्काले प्रहरी र स्थानीय तहबीच समन्वय नहुँदा जग्गा व्यवस्थापन ढिलो भएको बताए। बागलुङ नगरपालिकाले गत वर्ष चौकी निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरे पनि काम सुरु हुन नसकेपछि बजेट फिर्ता भएको थियो। सरकारी मापदण्डअनुसार प्रहरी चौकीका लागि चार रोपनी जग्गा आवश्यक पर्ने भए पनि त्यति जग्गा उपलब्ध हुन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले यस्तो अवस्था 'अत्यन्तै लज्जास्पद' भएको बताए। ‘हामीले निरीक्षणपछि मुख्यमन्त्रीलाई पनि देखायौं। प्रहरी भवन बन्नुपर्ने ठाउँमा शौचालय बनाइएको छ,’ उनले भने, ‘मन्त्रालयबाट बजेट आए तत्काल निर्माण प्रक्रिया अघि बढाउँछौं।’ प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले प्रदेश सरकारबाट बागलुङ नगरपालिकामार्फत बजेट व्यवस्थापन गर्ने आश्वासन पाइएको बताए।

मालढुंगा मात्रै होइन, जिल्लाका इलाका प्रहरी कार्यालय बोहोरागाउँ, प्रहरी चौकी भीमगिठे र प्रहरी पोस्ट खारालगायतका प्रहरी संरचनासमेत अस्थायी टहरोबाट सञ्चालन भइरहेका छन्। तर खुला आकाशमुनि, नदी किनारमै बसेर सेवा दिनुपर्ने बाध्यता भने मालढुंगा प्रहरी चौकीकै सबैभन्दा बढी रहेको प्रमुख जिल्ला अधिकारी आचार्य बताउँछन्।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully