पहिरोले कालीगण्डकी करिडोर र ढोरपाटन सडक अवरुद्ध

लगातार वर्षा भइरहेका कारण लेदो खसिरहेको र सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

असार २९, २०८३

प्रकाश बराल

बागलुङ — आइतबार रातिको वर्षाका कारण कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–७ र ८ को सिमानानजिक बेलबगरमा पहिरो र लेदो खस्दा सडक अवरुद्ध भएको हो ।

कालीगण्डकी करिडोर हुँदै बागलुङ, म्याग्दी र मुस्ताङ आएका पर्यटक गुल्मी, पाल्पा र बुटवल फर्कने गर्छन् । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् भने यात्रुहरू पनि अलपत्र परेका छन् ।

प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ । सडक पूर्ण रूपमा अवरुद्ध भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगातार वर्षा भइरहेका कारण लेदो खसिरहेको र सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, सालझण्डी–ढोरपाटन सडकको फल्लेघरदेखि माथिको खण्ड पनि अवरुद्ध भएको छ । आइतबारदेखि नै उक्त क्षेत्रमा लेदो खस्दा सडक पटक–पटक अवरुद्ध भइरहेको नगरका कार्यवाहक प्रमुख धनबहादुर अदैले बताए ।

सालझण्डी–ढोरपाटन सडक आयोजनाअन्तर्गतको निर्माणाधीन खण्ड पूरा नभएकाले वर्षायाममा बारम्बार पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । यसका कारण ढोरपाटन जाने–आउने पर्यटकले सास्ती खेपिरहेका छन् ।

नगरपालिकाले आफ्नै डोजर परिचालन गरेर सडक खुलाउने काम गरिरहेको छ । तर, यो सडक खण्ड १६ वर्षदेखि निर्माणाधीन रहे पनि पूरा हुन नसक्दा वर्षायाममा यात्रुले सधैं सास्ती व्यहोर्नुपरेको छ ।

असार र साउन महिनामा ढोरपाटन र बुकीपाटन क्षेत्रमा फूलहरू ढकमक्क फुल्ने भएकाले यही समयमा पर्यटकको चहलपहल बढी हुने गर्छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार चालु आर्थिक वर्षमा यहाँ ३५ हजारभन्दा बढी पर्यटकले टिकट काटेर प्रवेश गरेका छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully