जैमिनीमा पक्की भवनमा कर्मचारी र स्वास्थ्यकर्मी बस्ने व्यवस्था गरिएको छ भने भुइँतलाको जस्ताले छाएको भवनबाट उपचार सेवा सञ्चालन भइरहेको छ।
बागलुङ — अस्पताल भन्नेबित्तिकै अहिले पक्की भवन र पर्याप्त सेवा–सुविधाको कल्पना गरिन्छ। तर जैमिनी नगर अस्पताल भने जस्ताले छाएको छाप्रोबाट सञ्चालन भइरहेको छ।
जग्गाको क्षेत्रफल पर्याप्त छ, सेवा पनि नराम्रो छैन। तर यहाँ भवन नभएकाले अस्पताल छाप्रोमा सञ्चालन गरिएको भने होइन। तीनवटा पक्की भवन कर्मचारी आवासका रूपमा प्रयोग गरिएका छन् भने अस्पतालको सेवा भने जस्ताले छाएको भवनबाट दिइँदै आएको छ।
जैमिनी नगरपालिका–१ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई केही वर्षदेखि नगर अस्पतालका रूपमा विकास गरिँदै आएको छ। तर आकर्षक पक्की भवनमा कर्मचारी र स्वास्थ्यकर्मी बस्ने व्यवस्था गरिएको छ भने भुइँतलाको जस्ताले छाएको भवनबाट उपचार सेवा सञ्चालन भइरहेको छ।
दैनिक करिब ८० जना बिरामी आउने यस अस्पतालमा पुग्ने जो–कोहीले सुरुमा पक्की भवनलाई नै अस्पताल ठान्छन्। तर उपचारका लागि जस्ताको छाप्रोतर्फ जानुपर्दा मात्रै ती भवन बिरामीका लागि नभएको थाहा हुन्छ।
अस्पतालका डा. सुजन शर्मा र डा. राजकुमार चोचाङ्गी नियमित यहीं बस्ने भएकाले उनीहरूलाई आवास आवश्यक पर्छ। त्यसबाहेक स्टाफ नर्स सुनिता चालिसे, अहेव विदुर शर्मा, डिल्लीप्रसाद शर्मा, नर्स शान्ति शर्मा, लक्ष्मीकुमारी शर्मा, मनिकला थापालगायतलाई पनि क्वार्टरको सुविधा छ।
अहेब शर्मिला देवी शर्मा र कार्यालय सहयोगी विष्णुदेवी शर्मा भने घरबाटै आउने–जाने गर्छन्। नियमित बस्नुपर्ने सहयोगी घरबाट आउने–जाने गरिरहेका छन् भने निश्चित समयमा मात्रै ड्युटी गर्ने कर्मचारी भने क्वार्टरमा बस्दै आएका छन्। अघिल्लो वर्ष यहाँ १४ हजार २ सय ६ जना बिरामीले सेवा लिएका थिए। यस वर्ष पनि बिरामीको संख्या उस्तै छ।
चालु वर्षदेखि बर्थिङ सेन्टरमा बिरामी कुरुवा कक्ष पनि बनाइएको छ। तर पुरानो जस्ताको भवनबाट सेवा प्रवाह गरेर नयाँ पक्की भवनमा स्वास्थ्यकर्मी बस्दा अस्पतालप्रति नकारात्मक धारणा बनेको छ। ‘हामी अनुगमनमा गएपछि मात्रै थाहा पायौं, सेवा दिने अस्पताल त जस्ताको भवनमा रहेछ, स्वास्थ्यकर्मी पक्की भवनमा बस्ने रहेछन्,’ जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भने, ‘यो अलि सुहाएन कि भन्ने लाग्यो।’ उनले आवासका रूपमा प्रयोग गरिएका भवनमा पनि केही स्वास्थ्य सेवा सञ्चालन गरे विवाद कम हुने बताए।
अस्पताल प्रमुख डा. सुजन शर्माले ह्विलचेयर सहजै लैजान सकिने भएकाले भुइँतलाको भवनबाट सेवा सञ्चालन गरिएको बताए। ‘भवनको अभाव छैन। आवश्यकता परे आवासका भवन पनि उपयोग गर्न सकिन्छ,’ उनले भने, ‘सेवालाई चुस्त बनाउन सक्दो प्रयास गरिरहेका छौं।’
जैमिनी नगरपालिकाको प्रशासकीय केन्द्र कुश्मीसेरा बजारदेखि करिब ३ किलोमिटर माथि भएकाले यहाँ बिरामी कम आउने गरेको स्थानीय बताउँछन्। ‘अस्पताल माथि छ, रिफर गर्नुपर्यो भने फेरि तल फर्कनुपर्छ,’ जैमिनी–६ की शान्ति चालिसेले भनिन्, ‘त्यसैले हामी सिधै बागलुङ वा कुश्मा जाने गरेका छौं।’
अस्पताल जाने सडक पनि सहज छैन। दुई वर्षअघि नगरपालिकाले सडक ढलान गरे पनि घुम्तीहरू अझै जोखिमपूर्ण छन्। त्यसबाहेक अस्पतालको सेवा प्रभावकारी नभएको आरोप पनि लाग्ने गरेको छ। स्थानीय लितक थापाले भने, ‘दरबन्दीका स्वास्थ्यकर्मी नियमित बस्दैनन्। सेवा गर्नेभन्दा व्यक्तिगत काममै बढी व्यस्त हुन्छन्।’
नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाइमा उनले स्वास्थ्य संस्थाको सेवा प्रभावकारी नभएको र दरबन्दीका कर्मचारी घरपायक तथा नातावाद खोज्दै हिँड्ने गरेको आरोप लगाउने गरेका छन्। जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले नगरको स्रोत–साधनले भ्याएसम्म अस्पताललाई व्यवस्थित बनाउने प्रयास भइरहेको बताए। ‘भवन कसरी उपयोग भएको छ भन्ने विषयमा छलफल गरौंला। तर सेवा प्रभावकारी हुनुपर्छ, त्यसमा हामी सचेत छौं,’ उनले भने, ‘अहिले जनसंख्या पनि घटेको छ, सुत्केरीको संख्या पनि कम छ। त्यसैले अस्पताल भवन सानो भए पनि सेवा प्रवाह भइरहेको छ।’
ग्रामीण बस्तीबाट प्रसूति सेवाका लागि आउने बिरामीका कुरुवालाई बस्ने ठाउँ नभएकाले नगरपालिकाको ६ लाख र सम्बोधन परियोजनाको ४ लाख रुपैयाँ गरी १० लाखको लागतमा कुरुवा कक्ष निर्माण गरिएको हो।अन्य सेवाका बिरामीमध्ये जटिल अवस्थाका बिरामीलाई मात्रै भर्ना गरिन्छ। नगरको लक्ष्य अस्पताललाई व्यवस्थित गरी १५ शय्याको बनाउने रहेको उपप्रमुख हरिहर शर्माले बताए।
