बाढीले केही घर र रेस्टुरेन्टमा क्षति, किम्रुङ खोलाले झोलुंगे पुल बगायो
पोखरा — अविरल वर्षासँगै आइतबार मोदी खोला र किम्रुङ खोलामा आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नयाँपुल–घान्द्रुक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आएको बाढी मोदी खोलामा मिसिएपछि पानीको बहाव उच्च भई तटीय क्षेत्रमा कटान र डुबान गरेको हो । बाढीका कारण अन्नपूर्ण आधार शिविर जाने पुरानो पदयात्रा मार्गमा पर्ने किम्रुङ खोलाको झोलुंगे पुल समेत बगाएको छ ।
बाढीले अन्नपूर्ण गाउँपालिका-८ र १० को सिमानामा पर्ने स्याउलीबजारमा क्षति पुर्याएको छ । मोदी खोलाको कटानका कारण घान्द्रुक जाने पक्की सडक पूर्ण रूपमा कटान गरेको छ भने स्थानीय दिलिप गुरुङको घर तथा रेस्टुरेन्ट बगाएको छ । बाढीले जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार स्याउलीबजार क्षेत्रका केही घर समेत कटानको जोखिममा छन् ।
घटनालगत्तै वडा प्रहरी कार्यालय बगर, प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १० जनाको टोली खटिएको छ । बगरबाट करिब ५५ किलोमिटर उत्तरमा पर्ने उक्त स्थानमा पुगेको प्रहरी टोलीले स्थानीयवासीको उद्धार र सुरक्षाका लागि काम गरिरहेको छ । बाढीबाट हालसम्म मानवीय र सवारी साधनको भने क्षति नभएको प्रहरीले जनाएको छ ।
अवरुद्ध नयाँपुल–घान्द्रुक सडकखण्ड खुलाउन र जोखिममा परेका संरचनाको संरक्षणका लागि आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । वडा प्रहरी कार्यालय बगरका अनुसार सडक सञ्चालनमा ल्याउन र थप क्षति हुन नदिन सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र प्रयास भइरहेको छ ।
