पूर्वाधार अभावले ढोरपाटन स्वास्थ्य इकाइको सेवा प्रभावित

४ हजार बढी जनसंख्या भएको ढोरपाटन उपत्यकामा रहेको स्वास्थ्य इकाइमा न आवश्यक उपकरण छन् न पर्याप्त औषधि । यहाँ बिरामीलाई बस्ने स्थान समेत नहुँदा सास्ती हुने गरेको छ।

असार २८, २०८३

प्रकाश बराल

बागलुङ — ढोरपाटन उपत्यकामा ४ हजार बढी जनसंख्या छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ का अधिकांश बासिन्दाको यहाँ गोठ छ । हिउँदका तीन महिनाबाहेक उनीहरुको नियमित बसाइँ नै उपत्यकामा हुने गरेको छ।

तमानखोला र निसीखोला गाउँपालिकावासी पनि चौपाया चराउने स्थान ढोरपाटन नै हो । यतिधेरै मानिस बस्ने उपत्यकामा सामान्य बिरामी परेमा उपचार गराउने स्थान छैन । ढोरपाटन शिकार आरक्षनजिकै रहेको सामुदायिक स्वास्थ्य इकाइबाहेक नजिकमा स्वास्थ्य संस्था नहुँदा ३२ किलोमिटर परको बुर्तिवाङ झर्नुपर्ने बाध्यता रहेको स्थानीय चकबहादुर अदैले बताए ।

स्वास्थ्य इकाइमा पनि न आवश्यक उपकरण छन् न पर्याप्त औषधि । बिरामीलाई बस्ने समेत स्थान छैन । उपचार गराउन रिफर गर्नु परेमा गाडी पाइदैन । खुला स्थानमा राखेर उपचार गराउने समस्या रहेको इकाइमा कार्यरत सिनियर अनमि सीता बुढामगरले बताइन् । ‘यो चिसो स्थान हो । भित्र राख्ने, न्यानो पार्ने र उपचार गराउन हामीलाई भवन, सामग्री र बस्ने ठाउँ अभाव छ,’ बुढामगरले भनिन्, ‘जनशक्ति पनि अभाव छ ।’ ढोरपाटनमा स्वास्थ्यकर्मी पनि आउन नमान्ने उनले बताइन् । १४ वर्षदेखि सीतासँगै अर्की अनमि पुनम बुढा कार्यरत छिन् । उनीहरुले गर्भवती परीक्षण, सुरक्षित सुत्केरी सेवा र बालबालिकालाई उपचार सेवा दिँदै आएका छन् । 

३ हजार मिटर उचाइको स्थान भएकोले यहाँ सधैं चिसो हुन्छ । बिरामीलाई न्यानो बनाएर राख्ने स्थान नभएपछि बेलाबेला आगो फुक्ने गरेको उनीहरुले बताए । यहाँ बिजुलीको पनि समस्या छ । राष्ट्रिय प्रशारण लाइन छैन । स्थानीय गार्पाखोला लघुविद्युतको भरमा चलेको छ । उक्त लघुविद्युतले उज्यालोकालागि बिजुली पुगे पनि उपकरण चलाउन नपुग्ने उनले बताइन् । रुघाखोकी, निमोनिया र चिसोका बिरामी धेरै आउने गरे पनि औषधि अभाव भैरहन्छ । औषधि माग गरे पनि समयमा आइनपुग्ने उनले बताइन् । 

ढोरपाटनमा जाडो लागेपछि सुरक्षित सुत्केरी सेवा दिन कठिन पर्छ । ‘कोठा तताउने गरी उपकरण छैनन्, चिसोको कारण सेवा दिन कठि हुन्छ,’ बुढाले भनिन्, ‘केही जटिलता आए तत्काल सल्लाह माग्न खोज्दा फोन सम्पर्क नै हुँदैन ।’ इन्टरनेट, फोन समेतको समस्याले ढोरपाटनबाट बुर्तिवाङ वा अन्यत्रका दक्ष स्वास्थ्यकर्मीसँग सल्लाह लिन मुस्किल हुने अनमित बुढाले बताइन् । ढोरपाटनमा अहिले पनि मोबाइल फोनको नेटवर्क राम्रो नरहेको उनले बताइन् । 

वर्षभरीमा ५० जनासम्म गर्भवतीले स्वास्थ्य परीक्षणकालागि आए पनि सुत्केरी गराउन आधा भन्दा बढीलाई बजार (बुर्तिबाङ) पठाउन बाध्य भएको उनीहरुको भनाइ छ । यो इकाईमा वर्षमा ५० बढीले स्वास्थ्य परीक्षण गरे पनि सुत्केरी बन्नेहरु २० जनाको हाराहारीमा मात्रै पुग्ने गरेका छन् । ‘बिरामीलाई समस्या पर्ला भनेर बजार पठाउँछौं, उनीहरुको १० देखि १५ हजार खर्च लाग्छ,’ बुढाले भनिन्, ‘बुर्तिवाङमा सहजै बच्चा जन्मेपछि खर्च बढाइदिएको भन्दै हामीलाई गाली गर्छन् ।’ न्यानो कोठा अभावमा प्रसूति समयमा समस्या आउने गरेको स्वास्थ्यकर्मीले बताए । शिशुको धडकन नाप्ने ‘डप्लर मेसिन’, न्यानो बनाउने हिटरलगायत पटक पटक बिग्रने गर्दा पनि जोखिम नलिने गरेको उनीहरुले बताए । 

बागलुङका ६७ वटा बर्थिङ सेन्टरमध्ये २४ वटामा फेयरमेड फाउण्डेसनले ‘डप्लर’ मेसिन सहयोग गरेको छ । बाँकी ४३ बर्थिङ सेन्टरमध्ये प्रदेश सरकारको सहयोगमा ८ र स्थानीय तहले ३६ वटा मेसिन उपलब्ध गराएको छ । ती उपकरणले काम गर्न सहज भए पनि मर्मत गर्ने जनशक्तिको अभाव रहेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । विद्युत नभएको बर्थिङ सेन्टरमा यो मेसिन उपयोगमा कठिन हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ। 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully