दरौदीमा १५ करोडको स्टिल ट्रस पुल निर्माण सकियो

यो पुलले सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाकावासीलाई यातायातमा सहज हुनेछ ।

असार २८, २०८३

हरिराम उप्रेती

गोरखा — नयाँ साँघु–नारेश्वर–गोरखा सडक खण्ड अन्तरगत दरौदी नदीमा स्टिल ट्रस पुल निर्माण भएको छ  । १५ करोड ६० लाख खर्चेर निर्माण भएको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार उद्घाटन गरे। 

दरौदीमा उक्त पुल निर्माण भएसँगै गोरखाको सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाका स्थानीयलाई आउजाउमा सहज हुनेछ ।

२०७८ असार ६ मा ठेक्का सम्झौता गरेर पुल निर्माणको जिम्मा एलिट कन्ट्रक्सन कम्पनी सुकेधाराले जिम्मा लिएको थियो । दुई पटक म्याद थप गरेर पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । 

गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक–६ नयाासाघु जोड्न दरौदीमा ७८ मिटर लम्बाई र ८.४ मिटर चौडाइको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय प्रमुख सन्तोष अर्यालले बताए । पुल सँगैको दुई किलोमिटर सडक कालोपत्र गर्न पनि यस क्षेत्रका बासिन्दाले माग गरेका छन् । दुई किलोमिटर सडक कालोपत्र भए निवेल हुादै आएको नारेश्वर सडकसँग जोडिने छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully