निर्धारित समय भन्दा अघि नै सम्पन्न भएका लुदिखोला र चुक्तिखोला मोटरेबल पुलको शनिबार उद्घाटन गरिएको छ । पुल उद्घाटन समारोहमा निर्धारित समय अगावै काम सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई पनि सम्मान गरिएको थियो ।
गोरखा — मनकामना पुग्ने सडकको लुदिखोलामा निर्धारित समयभन्दा एक वर्ष अगावै मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । स्याउली बजार–भट्टफाँट–मनकामना सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका–१२ र शहिद लखन गाउापालिका–१ जोड्ने लुदि खोलामा ९ महिनाको अवधिमा पुल निर्माण सम्पन्न भएको हो ।
त्यस्तै पालुङटार नगरपालिका–९ शेराको चुक्ति खोलामा अर्को मोटरेबल पुल निर्धारित समय भन्दा ६ महिना अघि निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा अगावै निर्माण भएका दुवै पुलको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
स्याउली बजार–भट्ट फाँट–मनकामना सडकको लुदि खोलामा निर्माण भएको मोटरेबल पुल २०८२ असार २२ मा ठेक्का सम्झौता भएर गत असोज २५ बाट काम सुरु भएको थियो । २०८४ को असार २१ सम्म दुई वर्ष पुल निर्माणको म्याद रहे पनि एक वर्ष अगावै ठेकेदार कम्पनीले काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख सन्तोष अर्यालले बताए ।
लुदि खोला पुल निर्माणको जिम्मा गणेशकुण्ड इन्फास्ट्रक्चर विल्डर्स विदुर नुवाकोटले पाएको थियो । ७ करोड ५९ लाख ३० हजारको लागतमा बनेको प्रि–स्ट्रेस टि बिम प्रविधिको ६० मिटर लम्बाई र ८.४० मिटर चौडाइको पुल निर्माण भएको हो । पुल निर्माण भएसँगै गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका वासिन्दा लाभान्वित बन्ने छन् ।
स्याउली बजार–भट्टफाँट–मनकामना सडकमा बाह्रै महिना सवारी चल्न सहज वन्ने अपेक्षा लिइएको अर्यालले बताए । शहिद लखन गाउँपालिकाका वासिन्दालाई सदरमुकाम तथा काठमाडौं लगायतका शहर पुग्न पनि सहज बन्ने, उत्पादित कृषि उपज बजारसम्म पुर्याउन पनि सहज वन्ने अपेक्षा गरिएको छ ।
त्यस्तै पालुङटार नगरपालिका–९ शेराको चुक्ति खोलामा निर्माण सम्पन्न भएको पुलको पनि शनिबार नै उद्घाटन गरिएको हो । तल्लो शेरा र माथिल्लो शेरा जोड्ने पुलको २०८२ असार २२ मा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । आगामी पौष २१ सम्म आयोजनाको म्याद रहे पनि सात महिनाअघि नै पुल निर्माण सम्पन्न भएको छ । ३ करोड ४१ लाखको लागतमा पुल निर्माणको जिम्मा अमृत कन्स्ट्रक्सन प्रालिले लिएको थियो ।
उक्त प्लु निर्माण भएसँगै आउजाउमा निकै सहज वन्ने अपेक्षा गरिएको छ । सम्झौता अवधिको म्याद वााकी रहँदै पुल निर्माण सम्पन्न गर्ने दुवै ठेकेदार कम्पनीलाई पुल उद्घाटन समारोहमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको छ । लुदि खोला पुल निर्माण कम्पनी गणेशकुण्ड इन्फास्ट्रक्चर विल्डर्सका सञ्चालक राजेन्द्र थपलिया र चुक्ति खोला पुल निर्माण कम्पनी अमृत कन्स्ट्रक्सनका सञ्चालक मिलन खड्कालाई दोसल्ला ओढाएर कदरपत्रका साथ सम्मान गरिएको हो ।
पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले समयमै काम गर्ने योजनामा वजेट अभाव हुन नदिने बताए । ‘समयमै मात्र होइन, समयभन्दा अगावै गुणस्तरीय पूर्वाधार निर्माण गर्नु सुशासन र विकासप्रतिको प्रतिबद्धता पनि हो,’ उने भने । लुदि खोला पुल निर्माणपछि प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामना मन्दिर पुग्ने भक्तजनलाई यात्रामा सहज बन्ने अपेक्षा लिइएको छ ।
