६ आरोहीलाई गण्डकी प्रदेश सरकारको सम्मान

गण्डकी प्रदेश सरकारले सगरमाथा, कञ्चनजंघा, अन्नपूर्ण जस्ता ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेका ६ जना प्रदेशका पर्वतारोहीलाई ४५ हजार रुपैयाँसहित सम्मान गरेको छ।

असार २७, २०८३

दीपक परियार

Six climbers honored by the Gandaki Provincial Government

What you should know

पोखरा — गण्डकी प्रदेश सरकारले ८ हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण गर्ने प्रदेशका ६ जना पर्वतारोहीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

उद्योग तथा पर्यटन मन्क्रालयद्वारा शुत्रबार पोखरामा आयोजित एक विशेष समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आरोहीलाई जनही ४५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरे ।

नेपालका अग्ला हिमशिखरहरूमा राष्ट्रिय झण्डा फहराउँदै देश र गण्डकी प्रदेशको प्रतिष्ठा एवं गौरव स्थापित गरेको भन्दै मन्त्रालयले प्रदेशभित्रका पर्वतारोहीलाई सम्मान गरेको हो । समारोहमा पर्वतको कुश्मा नगरपालिका–९ का किरणबहादुर पिसी सम्मानित भए । १३ जेठ ०८२ मा सगरमाथा आरोहण् गरेका उनी हाल भारतीय सेनामा कार्यरत छन् ।

९ जेठ ०८० मा सगरमाथाकै सफल आरोहण गरेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी र २९ जेठ ०७९ मा सगरमाथा चढेका पर्वतको विहादी गाउँपालिका–४ का देवीप्रसाद न्यौपाने पनि सम्मानित भए । अधिकारी हाल नेपाली सेनाको मेजर पदमा पाँचथरमा र न्यौपाने नेपाली सेनाको हुद्दा पदमा श्री सैनिक उच्च शिखर शिक्षालय कैसाङ क्याम्प मुस्ताङमा कार्यरत छन् ।

सम्मानित भएका तनहुँको ऋषिङ गाउँपालिका–२ का अमित थापाले २४ जेठ ०७९ मा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको सफल आरोहण गरेका थिए । उनी हाल नेपाली सेनाको अमलदार पदमा मुस्ताङको कैसाङ क्याम्पस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा कार्यरत छन् ।

४ जेठ ०८० मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका तनहुँकै घिरिङ गाउँपालिका–५ का नवराज राना र तीनवटा ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्न सफल गोरखाको चुमनुव्री गाउँपालिका–१ नाङ्सल छ्योटोन लामालाई पनि मन्त्रालयले सम्मान गरेको छ । राना हाल नेपाली सेनाको प्युठ पदमा कैसाङ क्याम्पमै कार्यरत छन् भने लामाले सगरमाथा, मनास्लु र ल्होत्से हिमालको सफल आरोहण गरिसकेका छन् ।

सम्मान समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो कार्यक्रम केवल औपचारिक समारोह मात्र नभएर साहस, समर्पण, अनुशासन र राष्ट्रिय गौरवको सम्मान भएको बताए । नेपाललाई संसारमा चिनाउने सबैभन्दा ठूलो पहिचान सगरमाथा र गण्डकी प्रदेशका अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, धौलागिरि, नीलगिरि जस्ता हिमशृंखलाहरू हाम्रो सभ्यता, संस्कृति, आस्था र जीवनको आधार भएको उनले उल्लेख गरे । ‘हजारौं वर्षदेखि ऋषि–मुनिहरूले हिमालयलाई तपोभूमिका रूपमा स्वीकार गरेका छन्,’ उनले भने, ‘त्यसैले गण्डकी प्रदेशले हिमाललाई केवल पर्वतारोहणको गन्तव्यका रूपमा मात्र होइन, आध्यात्मिक पर्यटन, योग तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने नीति लिएको छ ।’

जलवायु परिवर्तनले हिमालमा पारेको प्रभावप्रति प्रदेश सरकार गम्भीर रहेको बताउँदै उनले पर्वतारोहणलाई अझ सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकार निरन्तर प्रयत्नशील रहेको र आरोहीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकको बसाइँ लम्ब्याउने र पर्यटनलाई स्थानीय समुदायको आयआर्जनसँग प्रत्यक्ष जोड्नेतर्फ सरकार केन्द्रित भएको बताइन् । उनले सम्मानित आरोहीको सफलताले हजारौं युवालाई नयाँ सपना देख्न प्रेरित गर्ने विश्वाससहित बधाइ व्यक्त गरिन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully