७ भारतीयसहित ८ जना पोखराबाट पक्राउ
What you should know
पोखरा — पोखरामा अनलाइनबाट गैरकानुनी रूपमा सट्टेबाजी (बेटिङ) र गेमिङमा सम्लग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित जीवन श्रेष्ठको घरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले बुधबार बिहान करिब ८ बजे उक्त स्थानमा छापा मारेको थियो ।
पक्राउ पर्नेहरूमा मुख्य योजनाकार मानिएका भारत भोपालस्थित मानपुरका ३४ वर्षीय सत्यम सिंह रहेका छन् । पक्राउ पर्ने अन्यमा भारतीय नागरिकमा २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमानसिं तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेशकुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत छन् । सट्टेबाजी अखडाबाट दार्चुला घर भई हाल सेदी बस्ने ३१ वर्षीय दिनेशसिंह बोहोरा पनि पक्राउ परेका छन् ।
प्रहरीले घटनास्थलबाट विभिन्न कम्पनीका ७ थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल र ३४ थान भारतीय सिमकार्ड बरामद गरेको छ । यसैगरी ९ थान किबोर्ड, ४ थान मल्टिप्लग, १ थान १२ भोल्टको ब्याट्री, १ थान यूपीएस, २ थान राउटर र १६ थान चार्जर पनि जफत गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले १८ चैत ०८२ मा सफ्टवेयरको काम गर्ने बहानामा जीवन श्रेष्ठको ७ कोठा भएको घर भाडामा लिएका थिए । उनीहरूले उक्त घरमा बसेर ३ महिनादेखि अनलाइन गेमिङ र बेटिङ (सट्टेबाजी) सञ्चालन गरिरहेका खुलेको प्रहरीको भनाइ छ । यो समूहले भारतबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय बेटिङ सञ्जालको २७औं शाखाका रूपमा यो अखडा सञ्चालन गरेको जिल्ला प्रहरी प्रमुख नवीन कार्कीले बताए ।
उनीहरूले टेलिग्राम र हृवाट्सएप जस्ता सामाजिक सञ्जालका ग्रुपहरू प्रयोग गरी मोबाइलमा ‘गुरुभाइ२४७ डट प्रो’ नामको लिंक पठाउने गरेका थिए । उक्त लिंकमा रकम जम्मा गराएर रजिस्ट्रेसन गरेपछि खेलमा सहभागी गराइन्थ्यो । विशेष गरी क्रिकेट, फुटबल र क्यासिनोका खेलहरूमा हारजितका लागि अनलाइनमार्फत सट्टेबाजी गराउने गरिएको एसपी कार्कीले बताए ।
यो अवैध धन्दाबाट उनीहरूले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँ कमाउने गरेको खुलेको छ । खेल सञ्चालनका लागि भारतीय नागरिकका बैंक खाताहरू भाडामा लिएर प्रयोग गरिएको थियो । अनलाइनबाटै रकम भुक्तानी र संकलन गर्ने यो नेटवर्कमा काम गर्ने कामदारले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
प्रहरीले कम्प्युटरको सिट जाँच गर्दा फरक फरक तीनवटा सिटमा क्रमशः १ करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, ९ करोड २ लाख २२ हजार २६ रुपैयाँ र १० करोड ५५ लाख ६८ हजार ६९० रुपैयाँ क्रेडिट भएको फेला पारेको छ । यो कारोबारका लागि एक्सिस बैंक, आईडीएफसी बैंक, २४ पे, पे बजार, क्यानरा बैंक, गुगल पे, नोक्सोन पे र तेलंगाना ग्रामीण बैंक जस्ता वालेट तथा बैंक खाता प्रयोग भएको पाइएको छ ।
