दादुराको प्रकोपपछि बागलुङ प्रदेश जनस्वास्थ्य कार्यालयले विभिन्न पालिकाका ३२ हजार बालबालिकालाई खोप लगाएर पूर्णखोप सुनिश्चितता घोषणा गरेको छ।
What you should know
बागलुङ — गत फागुनमा दादुराको प्रकोप देखिएपछि तत्काल नियन्त्रणको काम थालेको प्रदेश जनस्वास्थ्य कार्यालयले ३२ हजार बालबालिकालाई खोप लगाएको छ । नियमित र पूर्ण खोपकालागि झने कार्यालयले छुट्टै कार्यक्रम संचालन गरेको थियो ।
दादुरा संत्रमित बालबालिकाको उपचार, आइसोलेसन सेन्टर निर्माणसहित प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले ३२ हजार बालबालिकालाई खोप लगाएको हो ।
ढोरपाटन नगरपालिका ७, ८ र ९ मा प्रकोप देखिएपछि पहिलो चरणमा ढोरपाटन नगरपालिकाभित्रका ६ हजार ७५ बालबालिकालाई खोप लगाइएको थियो भने वैशाखदेखि दोस्रो अभियानमा असारसम्म थप २६ हजार ३ सय ४७ बालबालिकालाई खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए ।
ढोरपाटन नगरपालिकासहित आसपासका निसीखोला गाउँपालिका, तमाखोला गाउँपालिका, बडिगाड गाउँपालिका र गलकोट नगरपालिकामा समेत खोप लगाइएको हो । बाँकी पालिकामा पनि आगामी वर्ष खोप लगाउने योजना उनले सुनाए । ‘दादुरा र रुबेला निर्मुल पार्ने अभियान नै चलाउने गरी यो खोप कार्यक्रम जोडिएको हो,’ शर्माले भने, ‘जन्मेको १५ महिनाभित्रका बालबालिकालाई लगाउने भए पनि प्रकोप देखिएकोले १५ वर्षसम्मका बालबालिकालाई समेत यो खोप लगाइएको हो ।’
गत फागुन १९ मा ढोरपाटनमा संक्रमण देखिएपछि निर्वाचनको समयमा समेत स्वास्थ्यकर्मी घरघरमा पुगेर बालबालिकाको उपचार गरेका थिए । यो रोग एक महिनासम्म फैलिएको थियो । उक्त समयमा ढोरपाटनका २ सय ४४ बालबालिकामा दादुरा संक्रमण भएको थियो । जन्मेदेखि २० वर्ष उमेरसम्मकालाई दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठनको टोली समेत यहाँ अनुसन्धानमा आएको थियो । प्रारम्भिक अनुसन्धानमा ढोरपाटनका घुम्ती बस्तीका बालबालिकाले खोप नलगाएको, उनीहरुबाट अन्यमा पनि संक्रमण फैलिएको पत्ता लागेको थियो ।
सरकारी निकायबाट सबै बालबालिकालाई पुनः एकपटक खोप लगाउने अभियान चलाएपछि पश्चिम बागलुङका ५ वटा स्थानीय तहमा खोप पूरा गरिएको हो । त्यसबाहेक जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २ सय ७८ जना र १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ गरी १४ हजार २ सय ५७ जना बालबालिकालाई आवश्यक पर्ने सबै खोप लगाएर जिल्लालाई नै पूर्णखोप सुनिश्चितता र दिगोपना भएको घोषणा समेत गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार दादुरा ढोरपाटनमा फैलिए पनि जिल्लाका अन्य स्थानमा पनि सोही प्रकृतिको लक्षणसहितका बिरामी छिटफुट देखिएकोले जिल्लाभर खोप लगाएर रोग निर्मुल पार्ने लक्ष्य राखिएको छ । खोप लगाइसकेकाहरुलाई संक्रमण भए पनि खतरा नहुने भएकोले यो वर्ष सबैलाई खोप लगाइएको हो । सन् २०२६ मा दादुरा र रुबेला रोग निर्मुल पार्ने लक्ष्य राखेको छ ।
कार्यालयले खोपबाहेक जिल्लाभर रक्तअल्पता भएका किशोरकिशोरीको पहिचान गरी उपचारको दायरामा ल्याउने, कुपोषण घटाउने र विद्यालयहरु पोषणमैत्री बनाउने कार्यक्रम समेत संचालन गरेको हो ।
चालु वर्ष बागलुङ नगरपालिकाबाट सुरु भएको यो अभियानमा ६ हजार २ सय ४२ बालबालिकाको रक्तअल्पता र पोषण परीक्षण गरिएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । यो अभियानबाट बालबालिकामा परेको असरबारे पत्ता लागेको र आवश्यक उपचार पनि सुरु भएको खनालको भनाइ छ ।
