बागलुङ र गुल्मी जोड्ने कालीगण्डकी करिडोरका पुराना पुल मर्मत नहुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
What you should know
बागलुङ — कालीगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्डमा दर्जन जति पुल जीर्ण बन्दा यात्रा जोमिपूर्ण बनेको छ । १२ वर्षअघि नेपाली सेनाले सडकको ट्रयाक खोल्ने क्रममा राखेका ट्रस्ट पुलहरु अहिले जीर्ण भएका हुन् । यो करिडोरमा बागलुङका ३ र गुल्मीका ६ गरी ९ वटा पुल जोखिममा परेका हुन् । ती स्थानमा पुल पक्की नबन्दा यातायात संचालनमा जोखिम कायमै छ ।
कालोपत्र भएर दैनिक दर्जनौं सवारी गुड्न थाले पनि जीर्ण पुलको मर्मत र नयाँ बनाउने काम हुन सकेको छैन । जीर्ण पुलमा अहिले जोखिम मोलेर सवारी गुडिरहेका छन् । पुराना ती पुलमा खिया लागेको छ । पुलको बीचमा राखिएका डेकहरु हल्लिने गरेका छन् । कतिपय खियाले मक्किएको र चिप्लो भएका छन् ।
यो करिडोरमा पछिल्लो समय भैरहवादेखि मुक्तिनाथ जाने यात्रुको संख्या बढी हुने गरेको छ । भारतीय पर्यटक र तीर्थयात्री पनि यो सडक प्रयोग गर्ने धेरै छन् । भैरहवाबाट सामान ल्याएर बागलुङ र बेनी आउने १४ पांग्रे ट्रक समेत यो सडकमा गुड्न थालेका छन् । ‘पुलहरु जीर्ण छन्, दुर्घटनाको डर भइसकेको छ,’ जैमिनी नगरपालिका ५ का हरिबहादुर क्षेत्रीले भने, ‘सेनाले अस्थायी रुपमा राखेको पुलको भरमा १२ वर्ष बिताइसकियो, अझै पनि पक्की पुल बन्ने सुरसार छैन ।’
जैमिनी १ र ५ जोड्ने ठेउलेखोला पुल, जैमिनी ७ को लौंवाखोला पुल र बागलुङ र गुल्मी जोड्ने पालुङखोलाको पुलमा बढी जोखिम छ । बागलुङ नगरपालिका १ को मालढुंगादेखि वडा १० गलुवा जोड्ने काठेखोलाको पक्की पुल पनि जीर्ण छ । यो पुल तत्कालीन जिल्ला विकास समितिले २०६६ सालमा साना सवारी साधनकालागि भन्दै बनाएको थियो । चार वर्षअघि काठेखोलाको बाढीले यो पुलको उत्तरतर्फको पिलर भत्काएको थियो । सामान्य मर्मत गरेर चलाए पनि जोखिमको छ । सानो गाडीका लागि मात्र बनाइएको पुलमा ठूला सवारीलाई जोखिम हुने बागलुङ नगरपालिकाका इन्जिनियर दिपेन्द्र भण्डारीले बताए ।
करिडोर अर्न्तगत बागलुङ र गुल्मी जोड्ने धुसको पालुङखोला पुलमा पैदल यात्रुलाई पनि जोखिम भएको स्थानीय ओमकार थापाले बताए । यो खोला गहिरो र पहरा भएकोले पुलबाट स्थानीयले गाईभैंसी वारपार गराउन पनि कठिन भएको उनले गुनासो गरेका छन् । करिडोर बनेपछि गुल्मीको कालीगण्डकी गाउँपालिकाको बरालबा र बागलुङको धुस गाउँका बासिन्दा सडक छेउमा झरेका छन् । बजार जस्तै बसिसकेको यहाँ पुल भने जीर्ण भएकोले दुर्घटनाको खतरा बढेको स्थानीयले बताएका छन् ।
बागलुङ नगरपालिका १० र १३ जोड्ने कालाखोलाको पुल भने तीन वर्षअघि नै बनाइएको हो । त्यसबाहेक धापाखोला, अर्जेवा लगायतका पुल भने अघिल्लो वर्ष बनेर संचालनमा आइसकेका छन् । ‘ठूलो खोला र बढी जोखिम भएको स्थानमा भने पुल अझै बनेन’ जैमिनी नगरपालिका ५ का अध्यक्ष ठगबहादुर क्षेत्रीले भने, ‘जोखिम भएको नदेखेका हुन् कि वेवास्ता हो ?’ जोखिम र दुर्घटना पर्दा नगरपालिकामाथि दोष आउने उनले बताए । अघिल्लो वर्ष ठेउले खोलामा आएको बाढीले यो पुलको छेउका घर बगाएको थियो भने दक्षिण तर्फको पिलरमा असर परेपछि नगरपालिकाले पर्खाल लगाएर बाढी रोकेको थियो ।
करिडोर आयोजना कार्यालय पाल्पाका सिनियर डिभिजन इन्जिनियर शिवलाल दाहालले बागलुङका ३ वटा, गुल्मीका ६ गरी ९ वटा करिडोरतर्फ र कालीगण्डकी राजमार्गतर्फ पर्वत खण्डका ५ गरी १४ वटा पक्की पुल बनाउनुपर्ने बताए । ‘हामीले राष्ट्रिय योजना आयोगमार्फत अर्थ मन्त्रालयको स्विकृतिका लागि पत्र पठाएका छौं,’ दाहालले भने, ‘स्विकृत नभएसम्म भन्न सकिएन, नत्र बनाउने योजना छ ।’ लागत स्टिमेटसहित माग गरिएकोले स्विकृत भएमा हिउँदमा ती पुल बनाउन सुरु हुने उनले बताए ।
करिडोरको बलेवादेखि मालढुंगातर्फको सडक भने अझैसम्म सम्पन्न भएको छैन । २०७९ मंसिरमा पहिलो पटक र २०८२ जेठ १७ मा एक वर्षकालागि दोस्रो पटक थपिएको म्याद पनि सकिएको छ । यहाँ अझै कालोपत्र भैसकेको छैन । यहाँको कालाखोलामा गत वर्ष खसेको पहिरोको सामग्री उठाउने नाममा ठेकेदार कम्पनीले काम ढिला गरेको हो ।
‘खड्क कृष्ण बिएण्ड जेभी’ कम्पनीको ठेक्का भए पनि बिएण्ड अर्थात बिडारी कन्स्ट्रक्सनले यो खण्डको काम गरिरहेको हो । निर्माण कम्पनीले भने कामको ९० प्रतिशत काम सकिएको दाबी गर्दै आएको छ । ९९ करोड रुपैयाँको लागतमा ८ किमी खण्ड कालोपत्रकालागि ठेक्का लागेको थियो । काम नसकेको बिडारी क्नसट्रक्सनलाई भने मुख्य काम सकेर छिटो हस्तान्तरण गर्न लगाइने दाहालले बताए । ‘९० प्रतिशत काम सकिएको छ, अब कालोपत्र सक्ने बित्तिकै हस्तान्तरण मार्ग्छौं,’ उनले भने, ‘सडक सुरक्षाको काम भने पछि पनि गर्न सकिन्छ ।’ सडक छेउमा पिलर राख्ने, डिभाइटर बनाउने र रंगरोगनको काम एक वर्षभित्र गर्ने गरी सडक हस्तान्तरणको प्रक्रिया थाल्न सकिने उनको भनाइ छ । वर्षातमा काम गर्दा राम्रो नहुने भन्दै आगामी कात्तिकमा गर्न लगाउने गरी तयारी भएको उनले बताए ।
बागलुङकै मालढुंगादेखि कुश्मीसेरा जाने सडकको एक्लेसालमा ५ वर्षअघि खसेको पहिरो अहिलेसम्म नियन्त्रणमा आएको छैन । हरेक वर्षातमा पहिरो खस्दा करिडोरको गलुवा खण्ड पटक पटक अबरुद्ध हुने गरेको छ । अघिल्ला वर्षको वर्षातमा नियमित पहिरो खस्दा असारदेखि असोजसम्म सडक ठप्प भएको थियो । यो पटक करिडोर खण्डमा पक्की पर्खाल लगाएर पहिरो रोक्ने प्रयास भएको छ । यो पहिरो रोकियो भने दक्षिण बागलुङका अन्य पालिकामा जान पनि सडक सहज हुनेछ । सडक अबरुद्ध भएपछि बलेवा र जैमिनी क्षेत्रका यात्रुले झोलुंगे पुलमार्फत पर्वतको कुश्मा गएर मात्र बागलुङ सदरमुकाम आउन बाध्य थिए । वर्षात लागिरहेकोले स्थानीयले यो वर्ष पनि सास्ती भोग्नुपर्ने हो कि भन्ने चिन्ता लागेको जैमिनी नगरपालिका ७ का तमसम रानाले बताए ।
