पुरानो भवन जीर्ण भएपछि बागलुङ ६ मा नयाँ स्वास्थ्य चौकी भवन ८१ दिनमा निर्माण गरी सेवा सुरु भएको छ।
What you should know
बागलुङ — सरकारी भवन बनाउन करोडौं बजेट र ठेक्का लागेको वर्षौं कुर्नुपर्ने बाध्यता बीच यहाँको एक स्वास्थ्य चौकी भवन भने साढे २ महिनामै निर्माण सकिएको छ ।
बागलुङ नगरपालिका ६ को स्वास्थ्य चौकी भवन निर्माण थालिएको ८१ दिनमा सम्पन्न भएको हो । पुरानो र जीर्ण भवनमा रहेको स्वास्थ्य चौकीले सेवा दिन नसक्ने भएपछि संघीय सरकारबाट आएको ७४ लाख रुपैयाँमा भवन बनाइएको हो । यो भवन ठेक्कामा नदिई निर्माण समितिले बनाएको हो ।
स्थानीयले २ रोपनी जग्गा दान गरेपछि गत चैतमा निर्माण थालेर असारभित्रै सम्पन्न गरिएको हो । यो भवन बनेपछि नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भवनको उद्घाटन गरे । यो भवनमा तत्कालकालागि ओपिडी, इमरजेन्सी उपचार कक्ष, परिवार नियोजन तथा मातृशिशु सेवा कक्ष, स्वास्थ्यकर्मी कक्ष र भान्सा समेत बनाइएको छ ।
सदरमुकामदेखि ८ किमी दुरीमा रहेको यो वडावासीले सामान्य स्वास्थ्य समस्याकालागि पनि बजार झर्नुपर्ने बाध्यता थियो । समयमा गाडी नपाउने, महंगो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन संघीय सरकारको बजेटमार्फत योजना सम्झौता गरेर रातदिन नभनी काम गरिएको निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर कार्कीले बताए । ‘काम थालेको ८१ दिनमा हामीले काम सकेर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छौं,’ कार्कीले भने, ‘भवन अभावमा गुणस्तरीय स्वास्थ्य सेवा नपाएका स्थानीयलाई अब सहज हुनेछ ।’ यो भवनमा संघीय सरकारको ७४ लाखबाहेक स्थानीयले झण्डै ५ लाख बराबरको श्रमदान पनि गरेका छन् ।
नियमित रुपमा आउने बिरामीको उपचारका साथै दक्ष प्रसूतिकर्मी भएकोले सुत्केरी सेवा पनि दिन सकिने स्वास्थ्य चौकीका प्रमुख विष्णुनाथ शर्माले जानकारी दिए । यहाँ छोटो समयमै तारबार, रंगरोगन समेत गरिसकिएको छ । आवश्यकताका कारण बनाइएकोले समयमा सक्नकालागि स्थानीयको पनि साथ मिलेको कार्की बताउँछन् । वडा कार्यालयले पनि समयमा काम सक्ने उपभोक्ता समिति, जग्गादाता र सहयोगीलाई सम्मान गरेको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए । अब मुल सडकदेखि १ सय मिटर पक्की सडक बनाएर स्वास्थ्य चौकीसम्म एम्बुलेन्स र ट्याक्सी जाने बनाइने केसीले बताए ।
गत वर्ष बागलुङ नगरपालिका २ र ६ कालागि स्वास्थ्य संस्था व्यवस्थापन शीर्षकमा ३७/३७ लाख रुपैयाँ आएको थियो । बागलुङ नगरपालिका २ मा धौलागिरि अस्पताल समेत रहेकोले वडाको सहमतिमा दुवै बजेट राखेर वडा ६ को स्वास्थ्य चौकी नै बनाइएको हो । ‘आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई पुर्याउने लक्ष्यले यो काममा लगानी गरिएको हो,’ केसीले भने, ‘वडा २ ले पनि हाम्रो अभियानमा साथ दियो ।’ भवन बनेपछि यहाँ गुणस्तरीय सेवाकालािग पहल गरिने शर्माको भनाइ छ ।
यो स्वास्थ्य चौकीले नियमित खोप सेवा समेत संचालन गर्दै आएको छ । भवन अभावमा खोप सुरक्षित राख्न नसकेपछि सदरमुकामदेखि ल्याउनुपर्ने बाध्यता अब हटेको छ । त्यस्तै विद्युत सेवा सहज भएको डिपफ्रिज राख्न सकिने, औषधि भण्डारण सुरक्षित भएको र सेवाग्राहीलाई केही समय कुर्न पनि सकिने स्थान समेत बनाइएको छ ।
यहाँ अपांगमैत्री शौचालय, सुरक्षित खानेपानीको व्यवस्थापन, ह्विलचियरमा पनि बिरामी आउन सक्ने गरी र्याम्पको व्यवस्था छ । अपांगता भएका, दीर्घरोगीलाई गोप्यता कायम गराई औषधि वितरण समेत गरिने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
