गोरखाका २ सय २५ खानेपानीका नमूना परीक्षणमा १ सय ७६ मा कोलिफर्म

परीक्षणमा गोरखाका ११ वटै पालिकाका खानेपानी मुहानमध्ये ७८ प्रतिशतमा कोलिफर्म फेला परेकोले सरसफाइ र उपचार विधि अपनाउन सुझाइएको छ।

असार १९, २०८३

हरिराम उप्रेती

What you should know

गोरखा — जिल्लाका ११ वटै स्थानीय तहको २ सय २५ वटा खानेपानी मुहानको गुणस्तर नमुना परीक्षण गर्दा आधा भन्दा बढीमा कोलिफर्म (इकोली) देखिएको छ । 

२ सय २५ को नमुना परीक्षण गर्दा १ सय ७६ खानेपानीमा कोलिफर्म देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको मुहान तथा विभिन्न आयोजनाहरुमा पुगेर प्रदेश जनस्वास्थ्य कार्यालयले कोलिफर्मको परीक्षण गरेको थियो । 

परीक्षणको क्रममा आयोजनाहरुले वितरण गर्ने पानीको पनि ‘फिल्टर’ नगरेको पाइएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका ल्याब टेक्निसियन निरीक्षक नारायणबावु अर्यालले बताए । ‘मूलको र आयोजनाहरुबाट वितरण भएको पानीको पनि नमुना परीक्षण गरेका थियौं,’ उनले भने,‘केही आयोजनाबाट वितरण गरेको पानी ट्रिटमेन्टको कुरालाई गम्भीरताका साथ ध्यान दिइएको छैन, फिल्टर प्लान्ट बनाए पनि प्लान्टमा नराखी सिधैं ट्यांकीमार्फत उपभोक्तामा पानी पठाइएको पनि पायौं ।’

गोरखा नगरपालिका क्षेत्रमा १३ वटा खानेपानीको नमुना परीक्षण भएकोमा ८ वटामा कोलिफर्म भेटिएको छ । पालुङटको ९ नमुनामध्ये ८, अजिरकोटको ९ मध्ये ५, बारपाक सुलिकोटको २४ मध्ये १८, भीमसने थापाको १०० मध्ये ९१, चुमनुव्रीको २१ मध्ये १०, धार्चेको ११ मध्ये ९ खानेपानीमा कोलिफर्म भेटिएको छ । 

गण्डकी गाउँपालिकाको ५ मध्ये १, सहिद लखनको १४ नमुनामध्ये १४, सिरानचोकको ६ मध्ये ६ र आरुघाटको १३ नमुना परीक्षण भएकोमा ६ वटामा कोलिफर्म भेटिएको छ । ‘कोलिफर्म भनेको दिशा मिसिएको पानी हो, यसले इम्यूनिटी पावर कम भएकाहरुलाई चाडो असर गर्छ,’ उनले भने,‘कोलिफर्म रहेको पानीमा अन्य ब्याक्टोरिया जिवाणु पनि हुनसक्छन् भनेर परीक्षण गरिएको हो ।’

पानीको मुहानको वरिपरी दिसा–पिसाब निषेध गर्ने र नियमित सरसफाई गर्ने, मुहान संरक्षण गरी भलपानी पस्नबाट रोक्ने, नजिकका सेफ्टी ट्यांकीबाट हुने लिकेज नियन्त्रण गर्ने तथा फुटेका पाइपको समयमा नै मर्मत गरी पानीलाई कोलिफर्मबाट जोगाउन पनि स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । पानी प्रयोग गर्दा उमाल्ने, सोडिस, क्लोरिनेसन, फिल्टर मध्ये एक विधि अपनाएमा समुदायलाई पानीजन्य रोगबाट जोगाउन सकिने उनले बताए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully