मनसुनजन्य विपद्को जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालयले यी २ प्रमुख सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ ।
लमजुङ — लमजुङमा पर्ने पुष्पलाल (मध्य पहाडी) राजमार्गको सुन्दरबजार–भोर्लेटार सडक खण्ड र हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक मंगलबारदेखि रातको समय सवारी सञ्चालनमा रोक लगाइएको छ ।
मनसुनजन्य विपद्को जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालयले यी २ वटा प्रमुख सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार असार मसान्तसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई रातिको समयमा सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बताए । ‘जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमान तथा बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति न्यूनीकरण गर्न रात्रीकालीन सडक यात्रामा रोक लगाएका छौं,’ उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी गौतमद्वारा जारी सूचना अनुसार डुम्रे–बेंसीसहर–चामे सडकअन्तर्गत बेंसीसहरदेखि मनाङ सिमानासम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । यस्तै, पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत सुन्दरबजार–भोर्लेटार सडकको विमिरे भञ्ज्याङ क्षेत्रमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवतजावत रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङले रातिको समयमा यात्रा नगर्न र आवश्यक परेमा वैकल्पिक सडकमार्ग प्रयोग गर्न अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याएपछि बाढी र पहिरोको जोखिम बढेकाले रातको समय सवारी आवागमन बन्द गरेको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए ।
प्रहरीका अनुसार तनहुँको डुम्रे हुँदै बेंसीसहर–चामे (मनाङ) र फर्किने दुवैतर्फका सवारीसाधनलाई साँझ ६ बजेदेखि रोकिनेछन् । यस्तै पुष्पलाल (मध्य पहाडी) राजमार्गको सुन्दरबजार–भोर्लेटार सडक खण्डमा साँझ ७ बजेदेखि सवारी सञ्चालन बन्द गरिने व्यवस्था मिलाइएको उनले बताए ।
