काठेखोला गाउँपालिकाले बस्तीमा बाढीपहिरोको जोखिम बढ्न नदिन आफ्नै मापदण्डसहित सडक गुरुयोजना लागू गर्दै घरटहरा निर्माणमा कडाइ गरेको छ।
What you should know
बागलुङ — सडक बनाउँदा बस्तीमा जोखिम बढ्ने भएपछि काठेखोला गाउँपालिकाले स्थानीय मापदण्ड बनाएर सडक निर्माण थालेको छ । आफ्नै सडक गुरुयोजना बनाएपछि पालिकाले मापदण्ड विपरीत घरटहरा बनाउन रोक लगाएको छ ।
पालिकाभित्र २२ किमी सडक मध्यपहाडी लोकमार्गमा सूचीकृत छ । यो खण्ड संघीय सडक र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमा पर्छ । यहाँ भने मापदण्डको विवाद अझै कायम छ । तर पालिका सतरीय सडकमा भने मापदण्डलाई कडाइका साथ लागू गरिएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।
यो पालिकाभित्र ३ सय ९८ किमी ग्रामीण सडकको ट्रयाक खुलेको छ । ती सडकलाई पालिकाले तीन समूहमा राखेर आवस्यक मापदण्ड कायम गराएको हो । गाउँपालिकादेखि वडा कार्यालय जोड्ने सडकलाई ‘क’ वर्गको सडक नामाकरण भएको छ । ती सडकमा सेट व्याकसहित १२ मिटर चौडाका बनाइने पालिकाको नीतिमा उल्लेख छ । पालिका केन्द्रदेखि यहाँका ८ वटा वडा कार्यालय पुग्ने सडक बनिसकेको छ । वडा ५, ६, ७ सम्म कालोपत्र समेत भएको छ भने वडा ८ जाने सडक स्तरीय बनिसकेको छ । वडा ४ मा जाने सडक चालु वर्ष कालोपत्रको योजनामा छ ।
अन्यमा पालिकाको आन्तरिक स्रोतले नपुग्ने भएपछि प्रदेश सरकारको साझेदारीमा रकम माग भएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । वडा कार्यालयदेखि मुख्य बस्ती जोड्ने सडकलाई पालिकाले ‘ख’ वर्गका सूचीकृत गरेको छ । ती सडकहरु सेटव्याकसहित १० मिटरका हुनेछन् । ती सडकलाई स्थानीयको अत्यावश्यक सेवामा उपयोग गर्नुपर्ने भएकोले ग्राभेल गर्ने गरी अधिकांशमा काम भएको छ ।
गाउँपालिकाले सडक गुरुयोजना समेत बनाइसकेको छ । गुरुयोजनामा ती सबै सडकको मापदण्डसहित पुलपुलेसा, कल्भर्ट जस्ता पूर्वाधार बनाउने योजना पनि समावेश छ । ‘ग’ वर्गको सडक भने बस्तीदेखि बस्ती जोड्ने सडक हुन्् । ती सडकलाई ६ मिटर चौडाका मात्रै बनाइएको छ । ‘ग्रामीण बस्तीमा नसकिने खालको मापदण्ड बनाइयो भने बाढीपहिरोको जोखिम बढ्छ,’ थापाले भने, ‘स्थानीयको अपतत्व बढ्ने र यातायात पनि सहज बन्ने गरी यी मापदण्ड तोकिएको हो ।’ मापदण्डलाई गाउँसभाले पारित गरेको छ ।
मापदण्डमा धेरै राखेर सडक बनाउँदा कम राख्ने काम नगर्ने गरी वडा अध्यक्षहरुले स्थानीय सहभागितामा गुरुयोजना बनाउका थिए । सडक पूर्वाधारकै कारण बाढीपहिरो जाने खतरा न्यूनीकरण गर्न यो विधि ल्याएको प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले बताए । त्यसबाहेक अन्य पूर्वाधार बनाउने वा भवनकालागि पनि नक्सापास गर्ने र सडक वा सार्वजनिक स्थलको आसपासमा बनाउने भए सोही प्रकृतिको मापदण्ड पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । व्यक्तिगत घरजग्गाकालागि भने पालिकाले नक्सापासको बाध्यकारी प्रावधान राखेको छैन।
बरु वडा तहबाट संकलन हुने करको आधारमा राजश्व बाँडफाँड गर्ने र वडा समानिकरणका योजना संचालन गर्ने नीति बनाएको छ । यो नीतिले वडाले आफ्नो राजश्व संकलनमा आफै चासो देखाउन थालेको छ । काठेखोला गाउँपालिका १, २, ५ र ६ मा पर्ने मध्यपहाडी लोकमार्गको मापदण्ड भने अझै पूरा भएको छैन । ‘लोकमार्गको मापदण्ड पूरा गर्दा गाउँको बस्ती समेत सकिन्छ, यस्तोमा भूगोल हेरेर काम गर्न सके राम्रो हुन्थ्यो,’ वडा ६ का अध्यक्ष बृहस्पति कँडेलले भने, ‘मापदण्ड धेरै भएकोले स्थानीयले मान्न बाध्य बनाउन सकिएको छैन ।’
राष्ट्रिय आयोजना भए पनि २५ मिटरको मापदण्ड यहाँ लागू भएको छैन । लोकमार्ग आयोजना कार्यालयले पनि अहिलेसम्म मापदण्ड बाध्यकारी बनाउन सकेको छैन । लोकमार्ग आयोजनाको राजपत्र प्रकाशित नभएकोले कार्यालयले पनि कडाइ गर्न नसकेको इन्जिनियर सागर सुवेदीले बताए ।
