सदरमुकाममा शुद्ध पानी खुवाउन आठ वर्षअघि थालिएको योजना अझै पूरा भएको छैन । १९ किमि परबाट पानी ल्याइए पनि पिउनयोग्य छैन ।
बागलुङ — सदरमुकाममा शुद्ध पानी खुवाउन आठ वर्षअघि थालिएको योजना अझै पूरा भएको छैन । काम लगभग सकेर पनि ठेकदारले चासो नराखी सम्पर्कबाहिर हिँडेपछि बजारबासीले शुद्ध पानी खान नपाएका हुन् । हाल १९ किमि परबाट ल्याएको पानी वितरण गरिए पनि धमिलो र पिउन योग्य छैन ।
बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले दैनिक ब्लिचिङ पाउडर राखेर मात्र पानी वितरण गर्दै आएको छ । शुद्ध पानी खुवाउने आयोजना हस्तान्तरण नहुँदा बागलुङ बजारवासीले सास्ती खेपेका छन् । साथै बागलुङ नगर खानेपानी उपभोक्ता संस्था बर्सेनि ८० लाख रुपैयाँ घाटामा परेको छ । हस्तान्तरण नभएपछि नेपाल सरकारले दिने घोषणा गरेको विद्युत् महसुल पनि नपाएको उपभोक्ता संस्थाका अध्यक्ष हरिबहादुर जीसीले गुनासो गरे ।
खानेपानी तथा ढल निकास विभागले कन्सल्ट्यान्टमार्फत बागलुङको काठेखोलाबाट लिफ्ट गरी बजारमा पानी खुवाउन २०७५ सालमा ठेक्का लगाएको थियो । दुई वर्षभित्र काम सक्ने गरी ‘कन्काई जयमाता संयुक्त निर्माण कम्पनी’ले ३० करोड २६ लाख रुपैयाँमा ‘बागलुङ नगर सहलगानी खानेपानी आयोजना’ निर्माण थालेको थियो । तोकेको समयमा काम नसकेपछि लागत बढेर अहिले ३४ करोड ६५ लाख लागत मूल्य पुर्याइसकेको छ । अझै ठेकेदारले योजना हस्तान्तरण गर्ने सुरसार गरेको छैन । संस्थामा आयोजना हस्तान्तरण नभएपछि विद्युत् महसुलमार्फत बर्सेनि ८० लाख सम्म खर्च भएको अध्यक्ष जिसीले जानकारी दिए ।
यो आयोजनाका लागि अहिले सम्म काठेखोलामा ५ वटा समवेल (पानी थिग्राउने ट्यांकी) बनाइएको छ । ५ लाख लिटरको एकवटा र २ लाख लिटरका २ वटा आरबीटी ट्यांकी बनाइएको छ । दुईवटा स्लोसेन्ट ट्यांकी पनि बनेको छ । काठेखोलादेखि रातमाटा हुँदै भीरलाँकुरीसम्म लैजाने पाइपलाइनका लागि ‘डीआई’ पाइप डिजाइन भएको छ । उक्त पाइप जडान गर्न नपाउँदै फुट्न थालेपछि संस्थाले नोक्सानी व्यहोरेर जीआई पाइप थपेपछि जडान गरिएको छ । ठेकेदार कपनीले भने अझै आयोजना हस्तान्तरण नगरेको हो ।
तोकेको समयमा काम सकिने हो भने २०७७ सालमै बागलुङ बजारवासीले काठेखोलाको लिफ्ट योजनाबाट पानी खान पाउँथे । गत वर्षको असारमा ९६ प्रतिशत काम सकिएको दाबी गरे पनि अझै हस्तान्तरण नभएको हो ।
ठेकदार कृष्णहरि चौलागाई अहिले सम्पर्कमा छैनन् । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माणाधीन छ । ३० प्रतिशत लगानीको २५ प्रतिशत नगर विकास कोषको ऋण सहयोगसमेत जुटाइएको छ । यो आयोजना निर्माण नसकिए पनि उपभोक्ता समितिले वर्षमा ८० लाख रुपैयाँ साँवाव्याज भुक्तानी गर्दै आएको छ । यो आयोजनाबाट अहिले सदरमुकामको वडा नं १, २, ३ र ४ मा गरी ४ हजार १ सय धारा जडान भएका छन् । स्थायी र अस्थायी गरी ५० हजार जनसंख्याले यो पानी खाने जीसीले बताए । संस्थाले पानीको चुहावटमा भने सुधार गरेको छ । अघिल्लो वर्षसम्म बक्यौता रहेको मध्ये एक करोड महसुल पनि संकलन गरेको छ ।
