सडक बनेपछि निसेलढोरका किसानले आलु, स्याउ सजिलै बजार पठाउन पाएका छन् भने भेडापालनका लागि खोर र औषधि वितरणले थप राहत दिएको छ ।
What you should know
बागलुङ — निसीखोला गाउँपालिकाले सडकको पहुँच नभएको निसेलढोरमा सडक र भेडापालन बिस्तारकालागि चालु आर्थिक वर्षमा साढे २ करोड बढी लगानी गरेको छ । यो लगानीले किसानलाई व्यवसायिक बनाउने, उत्पादनलाई बजार पठाउने र कृषि फसल र फलफूल जन्य बस्तुको उत्पादन बढाउने लक्ष्य राखिएको छ ।
वडा ५ को निसेलढोर सडक अभावमा पालिका र बजार क्षेत्रसँग धेरै टाढा थियो । त्यसैले सडकले जोडेर किसानको उत्पादनलाइ बजारीकरण गर्ने काम भएको अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । सडक अभावमा स्थानीयले स्वास्थ्य, शिक्षा र दैनिकीकालागि पनि हैरानी खेप्नुपर्ने बाध्यता थियो । निसेलढोर जाने सडक थिएन । चालु वर्ष ७२ लाख लगानीमा ढोरपाटनदेखि निसेलढोर जाने सडक स्तरोन्नति गरिएको हो ।
गण्डकी प्रदेश सरकारको ६० लाख र पालिकाको १२ लाख गरी सडक बनाइएको हो । तीन वर्षअघि ट्रयाक खोले पनि सडक जीर्ण, चिप्लो र जोखिमको थियो । यो रकमले ग्राभेल गरिएपछि यात्रा सहज भएको छ । ‘हामीले झण्डै ६ किमी सडक ग्राभेल गरेका छौं,’ घर्तीले भने, ‘किसानको उत्पादन बजारीकरण गर्न र स्थानीयलाई शिक्षा तथा स्वास्थ्य सेवा पुर्याउन यो लगानी गरिएको हो ।’
बजेट अभावले अघिल्लो वर्ष चाहेर पनि गर्न नसकेपछि प्रदेश सरकारमा माग गरिएको थियो । प्रदेशको रकम आएपछि पालिकाले साझेदारीमा सडक बनाएको हो ।
यो सडक बनेपछि स्थानीयले निसेलढोरमा उत्पादन भएको आलु र स्याउ बजार पठाउन सहज भएको स्थानीय कुमबहादुर विकले बताए । निसेलढोरदेखि वडा ५ को केन्द्र पुग्न १२ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । स्थानीयले पैदल हिँड्न नसक्ने भएकोले यो सडकले ढोरपाटन हुँदै बुर्तिवाङको बाटो वडा कार्यालय पुग्दा चार घण्टामा पालिका र वडा मुकाम पुग्न सकिने भएको विकले बताए ।
पालिकाले वडा ५ र ६ का किसानलाई लक्षित गरेर भेडाको खोर पनि बनाइएको छ । यो खोरमा किसानले एकैपटक सयौं भेडा राख्न सक्छन् । दिउसोमा खर्कमा चराइएका भेडाहरु रातको समयमा यहाँ सुरक्षित राख्न सकिन्छ । संघीय सरकारको बिशेष अनुदानमा १ करोड १२ लाख लगानी गरेर २४ वटा भेडाको खोर बनाएको गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले बताए । यो खोरले यहाँका सयौं भेडापालक किसानलाई राहत मिलेको छ ।
हिउँदमा बेसी झर्ने किसान वर्षातमा लेकमा चरनकालागि भेडा धपाएर जाने गर्छन् । उनीहरुले लामो समय सम्म त्यहाँ बसेर भेडा चराउने गर्छन् । लेकमा बँदेल र चितुवाको डर हुने भएकोले यो खोरबाट सुरक्षित बनाउन सकिने किसानको भनाइ छ ।
पालिकाले चालु वर्षको बजेटबाटै ३० जना किसानलाई (भेडाको भाले) थुमा अर्थात भेडाको व्याड बोका दिएको घर्तीले बताए । यो वर्ष नै किसानहरुलाई १ सय बढी भेडाका पाठापाठी खरिद गरेर अनुदान पनि दिइएको छ । खुला रुपमा छाड्दा साना पाठापाठी चिसोले मर्ने, चोरी हुने डर समेत थियो । खोर बनेपछि किसान ढुक्क भएका छन् ।
भेडा तथा पशुकालागि उपचार गर्न दक्ष चिकित्सक सहितको घुम्ती शिविर संचालन, आवस्यक औषधि खरिदलगायतमा पनि पालिकाले लगानी गरेको छ । १२ लाख लगानीको औषधि खरिद गरेर पठाइएको घर्तीले बताए ।
पशुपालन र कृषिबाटै आत्मनिर्भर बनाउने लक्ष्य पुरा गर्न पालिकाले यो लगानी गरेको बताए । सडकको पहुँचले पनि किसानको उत्पादनलाई बजारीकरण गर्नमै सहयोग मिलेको घर्ती बताउँछन् । ‘हाम्रो पालिकाको समृद्दिको आधार र संभावना नै भेडा पालनमा हो,’ उनले भने, ‘त्यसबाहेक किसानको बारीमा सुन्तला, कागजती, किबी जस्ता नगदेबालीका बिरुवा दिने, प्राविधिक सहयोग गर्ने र उनीहरुको उत्पादनलाई बजारीकरणमा साथ दिने काम पनि भएको छ ।’
आम नागरिकले घरमा बसेर केही न केही कमाइ गर्न सक्नुपर्छ भन्ने मान्यता बनेको उनले बताए । भेडाको ऊनलाई पनि बजारीकरण गर्ने वा ऊनका सामग्री बनाउने काममा पालिकाले सहयोग गरेको छ । कृषि बिकासकालागि संचालित नाफा परियोजनामार्फत ४ वटा किसान पाठशाला संचालन गरेर मध्यपहाडमा फलफूूल खेती बिस्तारको काम गरिएको छ ।
