अजिरकोटको सिराडाँडासम्म सवारीसाधनमा पुगेका पर्यटक यहाँबाट ५ घण्टा हिँडेर नागेपोखरी पुग्छन् ।
What you should know
गोरखा — ५ घण्टाको उकालो यात्रामा असिनपसिन बनेका यात्री नागेपोखरीको मनमोहक दृश्य देखेपछि थकाइ भुल्छन् । सिरानडाँडाबाट मानव बस्तीविहीन क्षेत्र छिचोल्दै पुगिने अजिरकोट–१ को नागेपोखरी पछिल्लो समय प्रकृतिप्रेमी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
यस क्षेत्रबाट बुद्ध र गणेश हिमाल शृंखला नजिकबाट देखिन्छ । समुद्री सतहबाट ३२ सय मिटर उचाएमा रहेको तालले पर्यटकलाई लोभ्याएको मात्र छैन, यसको महत्व झनै बढाएको छ ।
धार्मिक मतका अनुसार कैलाश पर्वतको गोप्य ओडारमा अमृतमय विषधारण गर्ने दुर्लभ नाग बस्छन् । यस पोखरी उक्त नाग देवताबाट वर्षा भएको अमृत जलले बनेको यस क्षेत्रका स्थानीयको जनविश्वास छ । आकास (ना) बाट बर्सेको पानी (क्यू) ले बनेको पोखरी भन्ने अर्थमा यसलाई ‘नाक्यूपोखरी’ भनिँदै आएको थियो । नाग पञ्चमीममा मेला लाग्न सुरु भएपछि यसलाई नागेपोखरी भनिएको कथन छ ।
नागेपोखरी प्राकृतिक पोखरी हो । जैविक विविधक र सिमसारको हिसाबले पनि यसलाई महत्वपूर्ण क्षेत्र मानिने अजिरकोट–१ का नरजंग गुरुङले बताए । ‘यो धार्मिक स्थल हो, नागपञ्चमीमा ठूलो मेला लाग्छ,’ उनले भने, ‘पहिले मेला लाग्दा मात्र भिडभाड हुने नागेपोखरीमा अहिले भने पर्यटकको भिड बढ्न थालेको छ ।’ नागेपोखरी क्षेत्रमा रातो, सेतो, गुलाफी र निलो चार प्रकारका लालीगुराँस पाइने उनले बताए ।
गर्मी छल्न आउने पर्यटक पनि नागेपोखरी पुग्ने गरेका छन् । चितवन, काठमाडौं, लमजुङ, तनहुँदेखिका पर्यटक यतिखेर नागेपोखरी पुग्ने गरेका छन् ।
अजिरकोटको सिराडाँडासम्म गाडीको यात्रामा पुगेका पर्यटक यहाँबाट ५ घण्टा हिँडेर नागेपोखरी पुग्छन् । नागेपोखरीलाई व्यवस्थित ढंगले विकासका लागि गाउँपालिकाले विभिन्न पूर्वाधार निर्माण गरिरहेको अजिरकोटका अध्यक्ष दीपक देवकोटाले बताए । ‘यस क्षेत्रमा पोर्टर हाउस छ, खानेपानीको व्यवस्थापन गर्दै छौं,’ उनले भने, ‘निजी जग्गा छैन, राष्ट्रिय र सामुदायिक वन हुँदा भोगाधिकारको विषयमा लगानीकर्ता मार्फत थुप्रै कम गर्न खोजे पनि जटिलताहरु छन् ।’
नागेपोखरी भएर बुद्ध हिमाल हिमालचुली ग्रेट सर्किट ट्रेलको रुपमा विकास गर्न लागिएको पनि उनले बताए । ‘यस क्षेत्रमा मोटरबाटो ल्याउन हुँदैन भन्नेमा सचेत छौ,’ उनले भने,‘यस क्षेत्रको खर्क सुधारमा र पर्यटकलाई सजिलोका लागि विभिन्न संरचना निर्माणमा गाउँपालिकाको जोड छ ।’