बारपाक सडक कालोपत्र १० वर्षदेखि अधुरै, ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु

बारपाक पुग्ने अन्य खण्डको काम पूरा भए पनि अर्कुलदेखि ढोडेनीसम्मको ८ किलोमिटर खण्डको काम १० वर्षसम्म अधुरै रहेपछि ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरिएको हो ।

असार ४, २०८३

हरिराम उप्रेती

Barpak road blacktop incomplete for 10 years, new process begins after contract is terminated

What you should know

गोरखा — २०७५ भित्रै कालोपत्र सकिने गरी ठेक्का लागेको बारपाक सडकको काम अलपत्र बनेपछि पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरिएको छ ।

बाह्रकिलोबाट २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकसम्म पुग्ने ४६.६ किलोमिटर सडक चार खण्ड छुट्टाएर २०७५ सालभित्रै काम सकिने गरी ठेक्का लगाइएको थियो । अन्य खण्डको काम पूरा भए पनि अर्कुलदेखि ढोडेनी (चेनेज २२ देखि ३०) सम्मको ८ किलोमिटर सडकको काम १० वर्षदेखि अलपत्र थियो । उक्त खण्ड निर्माणको जिम्मा लिएको लोहनी एण्ड ब्रदर्शसँग ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरिएको हो ।

०७२ असार ३० मा ठेक्का सम्झौता गर्दा २०७४ असार १५ भित्रै काम सम्पन्न गर्ने उल्लेख भए पनि लोहनी एण्ड ब्रदर्शले ८ पटकसम्म म्याद थप हुँदा पनि काम पूरा गरेको थिएन । तत्कालीन समयमा लोहनी एण्ड ब्रदर्शले १३ करोड २० लाखमा कालोपत्रको जिम्मा लिएको थियो ।

पटक/पटक म्याद थप हुँदा पनि सडक अलपत्र बनेपछि गोरखा सडक योजनाले गत मंसिर १२ मा ठेक्का तोडेको थियो । ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयलाई सिफारिस समेत गरिएको गोरखा सडक योजनाका इन्जिनियर आशिष रिजालले बताए । ‘काम हुँदाहुँदै छाडेको सडक भएकाले यसअघि बिग्रिएको भत्किएको कामको असुल उपरका लागि पनि भनेका छौं, ठेकेदारको बैंक ग्यारेन्टी पनि जफत गर्‍यौं,’ उनले भने,‘ठेक्का तोडेर स्टिमेटलगायतका सबै प्रक्रिया पूरा गरी नयाँ ठेक्का आहृवान भएको छ ।’ अब नयाँ ठेक्काको बाँकी प्रक्रियाको काम सकेर आगामी आर्थिक वर्षबाट काम सुरु गर्ने रिजालले बताए ।

‘ठेक्काको म्याद ३० महिनाको हुन्छ,’ उनले भने,‘बारपाक पुग्ने अन्य खण्ड सबै कालोपत्र भइसक्यो, यो खण्डको काम पूरा भएपछि बल्ल वारपाकसम्मको सडक कालोपत्र पूरा हुन्छ ।’ यसअघिको निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्शले उक्त खण्डमा ८० प्रतिशत काम गरिसकेको छ । तर काम गर्दागर्दै छाड्दा पुनः मर्मत गर्नुपर्ने अवस्था देखिएको रिजालले बताए ।

बारपाक सडक खण्ड अन्तरगत बालुवादेखि बारपाकसम्मको अन्तिम खण्डको काम पनि सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । बारपाक पुग्ने सडकको मसानेठाँटीदेखि निवेल खहरेसम्मको १२ किलोमिटर क्षेत्र मध्यपहाडी लोकमार्ग अन्तरगत पर्छ । उक्त खण्डको कालोपत्र भइसकेको छ । सुरुको खण्डको ५ किलोमिटर र १७ देखि २२ किलोमिटरको खण्डको पाँच किलोमिटर क्षेत्र पनि कालोपत्र भइसकेको छ । ‘यही अर्कुल खण्डमा मात्र समस्या हो, अन्य खण्ड सबै कालोपत्र छ,’ कार्यालयका इन्जिनियर रिजालले भने,‘कही पहिरो गएको क्षेत्रमा मर्मत गर्नुपर्ने छ, त्यसको पनि काम अघि बढिरहेको छ ।’

अर्कुल खण्डको ८ किलोमिटर क्षेत्रमा भने बर्खामा हिलो र हिउँदमा धुलोले आउजाउमा सकस थपिएको छ । १० वर्षसम्म अर्कुल खण्डको ८ किलोमिटर सडक कालोपत्रको काम अलपत्र पर्दा बारपाक, लाप्राक, गुम्दालगायतका स्थानीयलाई बर्खामा आउजाउ तथा दैनिक उपभोग्य ढुवानीमा पनि समस्या हुँदै आएको छ । उक्त सडक अलपत्र बनेको भन्दै स्थानीयले पनि पटक/पटक निर्माणलाई गति दिन माग राख्दै आएका थिए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully