कालीगण्डकी नदीमा मात्रै पाइने शालीग्राम नदी दोहनले हराइ रहेको बेला यहाँ भने संग्रह गरेर राखिएको हो । १ सय ५० मिटर लामो सुरुङभित्र सजाएर राखेको शालीग्राम हेर्न धेरै पर्यटक आउने गरेका छन् ।
What you should know
बागलुङ — पछिल्लो समय बागलुङमा भारतीय पर्यटक र तीर्थयात्री बढेका छन् । मुक्तिनाथ जाने पर्यटकले बागलुङ कालीका, शालीग्राम संग्राहलय र पञ्चकोट भ्रमण गर्न थालेका छन् ।
कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट सिधै मुक्तिनाथ जाने सडक बनेपछि तीर्थयात्रीहरुले बागलुङमा पनि समय बिताउन थालेका हुन् । कालीगण्डकी करिडोर भित्रका अन्य धार्मिक स्थलको समेत भ्रमण गर्दै उनीहरु मुक्तिनाथ पुग्ने गरेका छन् । मुक्तिनाथ गएका अधिकांशले शालीग्राम संग्राहलय र कालीका मन्दिर दर्शन गरेको स्थानीय व्यवसायी अर्जुन चोखालले बताए ।
तीर्थयात्रामा आएका भारतका आसुतोस नमादले त कालीका मन्दिर, शालीग्राम संग्राहलय, पञ्चकोट र कालीगण्डकी नदी माथी बनेको लामो झोलुंगेपुलको भिडियो बनाइ टिकटक र सामाजिक सञ्जालमा पनि पोष्ट गरेका छन् । उनले धार्मिक सर्किटको रुपमा मुक्तिनाथदेखि बागलुङका अधिकांश स्थलको चर्चासमेत गरेका छन् ।
भारतको अयोध्याबाट आएका बालकृष्ण आचार्यले पनि शालीग्राम संग्राहलयले आकर्षित गरेको बताए । ‘म त दंगै परेँ, हामीले एकदुइवटा शालीग्राम राखेर पूजा गरेका थियौं, यहाँ संग्राहलयको दर्शन गर्न पायौं,’ उनले भने, ‘हामीले पनि यो क्षेत्रको प्रचार गरेर तीर्थयात्रीलाई पठाउँछौं ।’ भारतीय तीर्थयात्री रमाएर बस्ने स्थल रहेको उनले बताए । यहाँ १ लाख १५ हजार शालीग्रामलाई सुरुङ भित्र संग्रह गरिएको छ ।
कालीगण्डकी नदीमा मात्रै पाइने शालीग्राम नदी दोहनले हराइ रहेको बेला यहाँ भने संग्रह गरेर राखिएको हो । १ सय ५० मिटर लामो सुरुङभित्र सजाएर राखेको शालीग्राम हेर्न धेरै पर्यटक आउने गरेका छन् । आन्तरिक र भारतीय पर्यटक यहाँ नियमित आउने गर्छन् । शालीग्राम संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले यकिन तथ्यांक नराखेको तर वर्षभरी डेढलाख जति पर्यटकले हेर्ने गरेको बताए । जहाँ भारतीय मात्रै ३० हजार बढी आएको रेकर्ड छ ।
मुक्तिनाथ दर्शन गरेर फर्केका पर्यटक मध्ये अधिकांशले यहाँ प्रवेश गरेका छन् । ७ वर्ष अघि यो संग्राहलय स्थापना गरिएको थियो । शुद्ध शाकाहारी भोजन गर्न चाहने तीर्थयात्री कतिपय होटलमा बस्छन् भने केहीलाई यहाँको मुक्तिनाथ बेद विद्याश्रम पाठशालाको आश्रममा राखिने गरिएको छ । मुक्तिनाथ जानेहरुले ७ देखि १० दिनको प्याकेज बनाएर घुम्न आउँदा एक देखि डेढ दिनको समय बागलुङमा बिताउने गरेका हुन् ।
भारतको मायापुरबाट आएका माधव हरिदासले शालीग्राम संग्राहलय घुम्दा शान्ति मिलेको बताए । उनले संसारभर घुमेर पनि एकलाख शालीग्राम एकै स्थानमा दर्शन गर्न नपाएको भन्दै यो अवसर यहाँ आएर मिलेको बताए । भारतको केरला, आन्द्र प्रदेश, गुजरात लगायतका स्थानबाट बढी भारतीय आउने गरेको प्रपन्नाचार्य बताउँछन् । भारतका प्रसिद्ध सिनेकर्मी, व्यवसायीले पनि बागलुङ भ्रमण गरेका छन् । नेपाल भारत प्रवर्द्धनात्मक भ्रमणका लागि पोखरा आएकाहरुले पनि बागलुङका गन्तव्य रोज्न थालेका छन् । पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले पनि भारतीयहरु बगलुङका गन्तव्य प्रति आकर्षित भएको बताए ।
५ सय वर्ष पुरानो इतिहास भएको बागलुङ कालीका र पञ्चकोट पनि अधिकांशको आर्कषणको केन्द्र बनिरहेको हो । कालीगण्डकीको सभ्यता र धार्मिक महत्वबारे पनि धेरैले जान्न चाहने गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का बताउँछन् ।
भारतबाट आउनेले जनकपुर, लुम्बिनी, पशुपति र मुक्तिनाथको यात्रामा शालिग्राम संग्राहलयलाई प्राथमिकतामा पारेका हुन् । भक्तपुरका बरुण गोपाल श्रेष्ठले पहिलो पटक शालीग्रामको संग्रह देख्न पाएको भन्दै आफ्ना टोल छिमेकीलाई पनि घुम्न पठाउने बताए । यहाँ निर्माणाधीन पञ्चकोट, संसारकोट र कारीकोट लगायतका स्थानमा पनि पर्यटक आउने क्रम बढिरहेको छ । बागलुङ नगरपालिकाले आफ्नै पर्यटन नारा, लोगो र महत्त्वपूर्ण गन्तव्यलाई क्युआर कोर्डमा दर्ता समेत गरेको छ । पर्यटन दिवसको अवसरमा नारा र लोगो सार्वजनिक गरेको हो भने मुख्य गन्तव्यलाई क्युआरमा उतारेको हो । क्युआरबाट अध्ययन गरेर पनि कतिपय पर्यटक आउन थालेका हुन् ।
त्यसबाहेक नगर पर्यटन गुरुयोजनाको पनि तयारी गरेको हो । पर्यटन पुस्तिका र वृत्त चित्र तयार गर्ने कामसमेत नगरले थालेको छ । प्रमुख ११ वटा गन्तव्यको क्युआर कोर्ड बनेपछि पर्यटकले मोबाइलबाट पनि ती स्थानबारे जान्न पाएका छन् । बागलुङ कालीका, शालीग्राम संग्राहलय, पञ्चकोट, भैरवस्थान, लामो झोलुंगेपुल, मालिका, भकुण्डे, कालीगण्डकी, बञ्जीजम्प र इस्कोन लगायतका स्थानलाई क्युआरमा पनि राखिएको हो ।
गण्डकी प्रदेशको बजेट कार्यक्रममा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले मुक्तिनाथदेखि बागलुङ कालीका र पञ्चकोटसम्मको क्षेत्रलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने योजनासमेत सुनाएका थिए । यो विषयले स्थानीयमा थप चासो र उत्साह बढेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए । ‘पर्यटनबाटै हामीले समृद्धि खोज्ने हो,’ शाक्यले भने, ‘पर्यटक बढ्दा स्थानीय उत्पादन पनि बढ्छ, किसानको पनि आम्दानीको श्रोत बढ्छ ।’ सरसफाइ र पर्यटकका रोजाइ अनुसारका परिकार तथा गन्तव्य तयार गर्न पहल भएको उनले बताए ।
