आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।
पोखरा — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सोमबार प्रदेशसभामा नयाँ बजेट सार्वजनिक गर्दैछ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।
प्रदेश नीति तथा योजना आयोगले आर्थिक दबाबका कारण आगामी वर्षका लागि बजेट सिलिङ घटाएर २८ अर्ब ७० करोड ५६ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको भए पनि मन्त्री र सांसदहरूको दबाबका कारण बजेट चालु आर्थिक वर्षकै हाराहारी (करिब ३३ अर्ब रुपैयाँ) मा आउने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी ३५ अर्ब ९० करोड पुगेको गण्डकीको बजेट त्यसयता क्रमशः घट्दो क्रममा छ । आन्तरिक स्रोत नबढ्नु र संघबाट आउने अनुदान घट्नुले प्रदेशको बजेटमा चाप परेको छ ।
आगामी बजेटमा पुँजीगत खर्चतर्फ ५७ प्रतिशत, चालुतर्फ ३३ प्रतिशत, वित्तीय व्यवस्थापनमा १ प्रतिशत र अन्तरसरकारी वित्त व्यवस्थापनतर्फ ८.७५ प्रतिशत रकम विनियोजन हुने अनुमान छ । अन्तर्राष्ट्रिय तनाव र राष्ट्रिय आर्थिक सूचकहरू दबाबमा रहेकाले प्रदेश अर्थतन्त्रमा चुनौती थपिएको मन्त्रालयका सचिव टोकराज पाण्डेले बताएका छन् ।
यद्यपि, प्रदेशको सञ्चित कोष सुदृढ रहेकाले भुक्तानीमा समस्या नहुने र चालु आवमा रोयल्टी संकलनमा सुधार भएको उनको भनाइ छ ।
बहुवर्षीय योजनाको दायित्व झन्डै ६० प्रतिशत पुगेको अवस्थामा यसपटकको बजेटमा पूर्वाधार, स्वास्थ्य, शिक्षा जस्ता नागरिकका प्राथमिकता प्राप्त क्षेत्रलाई समेटिँदै तालिम र सवारी साधन खरिद जस्ता फजुल खर्च कटौती गरिने जनाइएको छ ।
