आगामी वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक गरी ५९ सांसदलाई जनही २ करोड ८० लाख बराबरको योजना समावेश गरिने सहमति भएको छ।
पोखरा — गण्डकी प्रदेशसभाका ५९ जना सांसदले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा २ अर्ब रुपैयाँका योजना लैजाने भएका छन्। प्रत्यक्ष र समानुपातिक सांसदलाई यस पटक समान सिलिङ दिने राजनीतिक सहमतिसहित १ असारमा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले बजेट प्रस्तुत गर्दैछन्।
प्रत्यक्ष निर्वाचित ३५ जना सांसदले १ अर्ब ३६ करोड ८० लाख र समानुपातिकतर्फका २४ जना सांसदले ६७ करोड २० लाख गरी कुल २ अर्ब ४ करोड रुपैयाँका योजना बजेटमा समावेश हुनेछन्। बजेटमा प्रत्यक्ष र समानुपातिक गरी सबै ५९ जना सांसदका लागि मन्त्रालयगत हिसाबले जनही २ करोड ८० लाख रुपैयाँका योजना समावेश गरिनेछन्।
३६ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदले बहुवर्षीय ठेक्का लाग्न सक्ने गरी १ करोड रुपैयाँको सडक वा पुलसम्बन्धी योजना छुट्टै पाउनेछन्। ‘एक निर्वाचन क्षेत्र, एक बहुवर्षीय सडक’ भनेर १ करोड रुपैयाँ छुट्याइएको हो। तर प्रत्यक्ष निर्वाचित सांसदले त्यसलाई आफ्नो योजना भनेर हाइज्याक गरे,’ एक समानुपातिक सांसदले भनिन्, ‘पुँजीगततर्फ प्रदेशले खर्च गर्ने रकमको ७० प्रतिशत सांसदलाई भारी बोकाउने र बाँकी ३० प्रतिशत मुख्यमन्त्री, मन्त्री र सचिवहरूले आफू अनुकूलका योजनामा बाँड्ने प्रवृत्ति देखियो, जुन गलत छ।’
भौतिक पूर्वाधार मन्त्रालयमा डेढ करोड, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा ५० लाख, पर्यटन मन्त्रालयमा ४० लाख, सामाजिक विकास मन्त्रालयमा ३० लाख र वन मन्त्रालयमा १० लाख रुपैयाँको सिलिङ प्रत्येक सांसदलाई दिइएको छ। सांसदहरूले सिलिङभित्र आफूले रोजेका योजना सम्बन्धित मन्त्रालयमा बुझाएका छन्।
अघिल्ला वर्षहरूमा प्रत्यक्ष र समानुपातिक सांसदका बीच फरक-फरक बजेट विनियोजन हुँदै आएकोमा यस पटक निर्वाचन क्षेत्रको एउटा योजनाबाहेक सबैलाई बराबर सिलिङ दिइएको ती सांसदले बताइन्। दुई प्रणालीबाट निर्वाचित भए पनि संसद्भित्र सबैको हैसियत समान हुनुपर्ने भन्दै विगतमा संसद्मै चर्को आवाज उठ्दै आएको थियो। ‘समानुपातिक सांसदहरूको दबाब र दुई मन्त्री पनि समानुपातिकबाट आउनुभएकोले यस पटक समान सिलिङमा सहमति जुट्यो,’ ती सांसदले भनिन्।
चालु आर्थिक वर्षकै हाराहारीको आकारमा आगामी बजेट आउने देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ विनियोजन भएको थियो। त्यसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ३४ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजन भएको थियो।
मन्त्रालयहरूका लागि झन्डै २९ अर्ब रुपैयाँको सिलिङ तोकिएको भए पनि बजेटको कुल आकार चालु वर्षकै हाराहारीमा पुग्ने नेताहरूको भनाइ छ। भौतिक पूर्वाधारमा सबैभन्दा बढी रकम विनियोजन हुने भए पनि आगामी बजेटमा कृषि तथा पर्यटन क्षेत्रमा नयाँ कार्यक्रम ल्याइने तयारी छ। कृषिमा उत्पादन र बजारीकरणलाई जोड्ने कार्यक्रम तथा ऊर्जा, जलस्रोत एवं खानेपानी मन्त्रालयका अधुरा योजना सम्पन्न गर्नका लागि पनि उल्लेख्य रकम विनियोजन हुने बताइएको छ।
