खाल्डैखाल्डाले मध्यपहाडी लोकमार्गमा जोखिमपूर्ण यात्रा

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड जीर्ण र साँघुरो हुँदा यात्रु तथा चालक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

जेष्ठ ३१, २०८३

प्रकाश बराल

Potholes make travel on the Mid-Hill Highway risky

What you should know

बागलुङ — गत सातादेखि रुकुमदेखि काठमाडौंका लागि स्लिपर बस सञ्चालन सुरु भएको छ । मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ आएर पोखरा भएर ती बस काठमाडौं जान्छन् । तर यति स्तरीय सवारी चल्ने लोकमार्ग भने खाल्डैखाल्डा र साँघुरो छ ।

यात्रुले सधैं जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङकै बुर्तिवाङबाट पनि दैनिक दर्जनौं सवारी यही सडकमार्गबाट सदरमुकाम आउँछन् । बुर्तिवाङ र गलकोटबाट रात्री बस काठमाडौंका लागि चल्छन् । तर हरेक दिन यात्रुले सदरमुकाम नआएसम्म सन्तोषको सास फेर्न पाएका छैनन् । ‘हामीले यात्रामा सधैंको सास्ती खेपेका छौं,’ ढोरपाटन नगरपालिका–१ की जुनु खनालले भनिन्, ‘सदरमुकाम जाँदा होस् या पोखरा–काठमाडौं जाँदा डरैडरको यात्रा गर्न बाध्य छौं ।’ लोकमार्ग साँघुरो, जोखिमपूर्ण तथा धुलो र हिलोले भरिएको उनले टिप्पणी गरिन् ।

खाल्डैखाल्डा नपुरिएकाले सवारी साधन ठाउँठाउँमा ठोक्किने र अर्को सवारीलाई साइड दिनसमेत नमिल्ने भएको चालकहरूको गुनासो छ । हरेक दिन लोकमार्गको बागलुङ खण्डमा दुई सयभन्दा बढी यात्रुबाहक सवारी चल्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । त्यसबाहेक ग्रामीण क्षेत्रमा चल्ने पिकअप, जिप र ट्याक्टरको संख्या पनि त्यो भन्दा बढी हुने गरेको छ । 

हिउँदमा धुलोले सास्ती खेपेका सडकछेउका बासिन्दाले वर्षात् लागेपछि हिलो र पहिरोको पनि सास्ती खेपिरहेका छन् । तीमध्ये बागलुङ खण्डमा हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको अधिकांश चालकको गुनासो छ । ‘यात्रा नगरी भएन, तर जहिले पनि जोखिममा यात्रा गरिरहेका छौं,’ जिप चालक डम्मर क्षेत्रीले भने, ‘हामीले यो सडकमा १० वर्षदेखि सरकार भएको अनुभव नै गरेका छैनौं ।’

काठेखोला गाउँपालिका–६ का बालानन्द कँडेलले पनि झरी पर्न थालेपछि हिलोले हैरानी खेप्नुपरेको बताए । दैनिक दूध उत्पादन गरेर सदरमुकाम पठाउनुपर्ने किसानलाई लोकमार्गको सधैंको सास्तीले सताएको छ । उनको गाउँबाट दैनिक तीन हजार लिटर दूध बजार पठाइन्छ । खाल्डा, हिलो र धुलोको मारमा स्थानीय परेका छन् । लोकमार्गको काठेखोला गाउँपालिका-१, २, ५ र ६ तथा बागलुङ नगरपालिका-३ को खण्ड अझै पूरा भएको छैन । गलकोट नगरपालिका-१ को झाक्रीस्थान तथा वडा-९ र ११ को भालुमारेमा लोकमार्ग सबैभन्दा जोखिमपूर्ण बनेको छ ।

सडकका खाल्डा पुर्ने नाममा टालिएका स्थानसमेत फेरि भत्किन थालिसकेका छन् । गत वर्षको वर्षातमा खसेका पहिरो अहिले पनि पन्छाइएको छैन । २०७२ देखि काम गरेका ठेकेदारहरू कालोसूचीमा परेपछि नयाँ कामले पनि गति लिन सकेको छैन । चौराहा र झाक्रीस्थान नजिकका दुई घुम्तीमा सडक भत्केर गाडी गुडाउनै नसकिने जोखिम भएको छ । ती स्थानमा सडक मर्मत भएको छैन । हटियादेखि खरवाङसम्मको सडकखण्डमा त खाल्डैखाल्डाले यात्रु हैरान पर्छन् ।

साना सवारी साधन हिँड्दा खाल्डाले हैरान पार्ने गरेको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए । ‘हाम्रो नगरभित्रको सडक जीर्ण छ । नगरको बजेट राख्न नमिल्ने, लोकमार्गले वर्षौंदेखि जीर्ण राखेको छ,’ उनले भने, ‘सार्वजनिक सुनुवाइदेखि वडामा आउने सेवाग्राहीले यो सडकको बेहालबारे पटकपटक प्रश्न गर्छन्, तर हामीले केही बताउन सकेका छैनौं ।’ नगरपालिकाको लगानी गर्दा बेरुजु आउने र लोकमार्गले भने चासो नराखेको उनले बताए ।

यो सडक प्रयोग गरेर पश्चिम बागलुङका सबै यात्रु हिँड्छन् भने पूर्वी तथा पश्चिम रुकुम, रोल्पा, जाजरकोट, डोल्पा र दैलेखसम्मका यात्रुले बागलुङको बाटो रोज्छन् । दूरीले छोटो भएकाले अधिकांशको रोजाइ यता परे पनि सडक भने जीर्ण छ । लोकमार्गकै बुर्तिवाङदेखि निसीतर्फका अधिकांश स्थानमा सडक अतिक्रमण छ भने अन्यत्र जीर्ण छ ।

काठेखोला गाउँपालिका–२ को अक्षेतेमा गत हिउँदमा बनेको पुल उपयोगमा ल्याइएको छैन । पुरानो पुलमा हिलो र पानी जमेर जोखिमपूर्ण बनेको छ । तर अहिले पनि जोखिम मोलेर गह्रौं सवारी यहीँबाट गुडिरहेका छन्। यहाँको झन्डै २५ किलोमिटर सडकखण्ड बन्दै नबनेका कारण स्थानीयले पटकपटक आक्रोश पोख्दै सडकसमेत अवरुद्ध गर्दै आएका थिए । तर अहिलेसम्म आयोजना कार्यालयले काम नगरी अलपत्र पारेको छ ।

काठेखोला–५ को अमर मावि र वडा-६ को भीमसेन माविमा पढ्ने विद्यार्थी तथा स्वास्थ्य चौकीमा जाने बिरामीले सधैंको सास्ती खेपेका छन् । बागलुङभित्र १ सय ४२ किलोमिटर लोकमार्ग छ । त्यसमध्ये २५ किलोमिटर कालोपत्रे नभएको र झन्डै ४० किलोमिटर कालोपत्रेपछि पनि जीर्ण तथा खाल्डैखाल्डाको सास्ती रहेको हो ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर ऋषि गौतमले सडकका खाल्डा टाल्ने काम भइरहेको बताए । काठेखोलाको माथिल्लो खण्डमा नयाँ ठेकेदारलाई कामको जिम्मा लगाइसकिएको र तल्लो खण्डमा ठेक्का लगाउने काम गरिने जानकारी दिए ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले नगरपालिकाको सार्वजनिक सुनुवाइदेखि गुनासो पेटिकासम्म लोकमार्गकै समस्या आइरहेको बताए । लोकमार्गले गलकोट नगरपालिका-१, २, ३, ४, ७, ९ र ११ छोएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा २०७६ मा खसेको पहिरो अझै उस्तै जोखिमपूर्ण छ । यो पहिरोले बडिगाड खोला नै थुनिएर ताल बनेको थियो । दुई वर्षपछि ताल खोलिए पनि सडक भने अझै बनेको छैन । पहिरोमै सवारी साधन जोखिम मोलेर यात्रा गरिरहेका छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully