अन्य खाद्यबालीमा क्षति पुर्याएपछि बागलुङका किसानले अकबरे र अदुवाखेती गर्न थालेका छन् ।
ढोरपाटन (बागलुङ) — बागलुङका किसानले बाँदर आतंंकका कारण परम्परागत खेती गर्न छाडेका छन् । बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदरको गतिविधि बढेको छ ।
खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने खेती गर्न थालेका हुन् । किसानले खाद्यबालीको विकल्पमा अकबरे खुर्सानीको खेती गर्न थालेका छन् ।
जिल्लाको काठेखोला गाउँपालिका–८ का किसान प्रेमप्रसाद कँडेलले मकै पाउन थालेदेखि बाँदरले नष्ट गर्न सुरु गर्ने भन्दै अहिले मकै नलगाएर अकबरे खुसानी लगाउन थालेको बताए । अकबरे बाँदरले नष्ट गर्न नसक्ने उनको भनाइ छ ।
'हामी त हैरानै भयौँ, बाँदरले बारीको मात्रै होइन घरको बार्दलीमै आएर अन्नबाली नष्ट गरिदिन्छ, अहिले त्यही भएर खाद्यबाली लगाउने ठाउँमा अकबरे लगाएको छु, अब गहुँ मकै लगाएर त भित्र्याउन नदिने भयो,' उनले भने, 'बाँदर मार्न पाइँदैन भन्छन्, केही विकल्प त खोज्नैपर्यो ।'
बागलुङ नगरपालिका–११ रायडाँडामा पनि बाँदरले सताएपछि किसानले अकबरे र अदुवाखेती गर्न थालेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । उनका अनुसार गाउँको विभिन्न स्थानमा यस वर्ष यहाँ ४० हजार अकबरेका बिरुवा रोपिएको छ । 'बाँदरले धेरै दुःख दिएपछि यस वर्ष अकबरे खेती गर्न सुरुआत गरेका छौँ, किसानले बारीमा अकबरे लगाउनुभएको छ, यो परीक्षण पनि हो,' अध्यक्ष गौतमले भने, 'राम्रो भयो भने आगामी वर्षदेखि वडाभरि अकबरे लगाउँछौँ, यस खेतीले किसानलाई केही राहत दिन्छ कि भन्ने अपेक्षा लिएका छौं ।'
खाद्यबाली बाँदरले नष्ट गरेपछि तरकारी खेतीतर्फ लागेको स्थानीय तमबहादुर थापाको भनाइ छ । तरकारी बाँकी नराख्ने हुँदा यसपाली अकबरे लगाएको उनको भनाइ छ । सरकारले बाँदर नियन्त्रण गर्न नीति नलिए किसानले राम्रो उत्पादन गर्न नसक्ने थापाले गुनासो गरे ।
यस वर्ष रायडाँडामा पहिलो चरणमा ७५ जना किसान अकबरे खुर्सानी उत्पादनमा लागेका छन् । ४० हजार बिरुवा उत्पादन गरिएको छ । यो योजना सफल भएमा बाँदरको आतंक भएका अन्य गाउँमा पनि अकबरे खेती गर्न सकिने स्थानीय बताउँछन् ।
