गाउँमा माध्यमिक विद्यालय नहुँदा नर्जाखानी, भित्रिवन र पात्ले क्षेत्रका बालबालिका जंगल र भीरको बाटो पार गर्दै विद्यालय पुग्नुपर्ने कठिनाइ भोगिरहेका छन् ।
What you should know
बागलुङ — तमानखोला गाउँपालिका–६ भित्रिवनका योगेश छन्त्याल कक्षा ९ मा पढ्छन् । उनको घरदेखि विद्यालय चार घण्टा पर छ । दैनिक आउजाउ गर्ने संभावना नभएपछि उनी वडा ५ को खुंखानी गाउँमा डेरा लिएर बस्छन् । सहर पस्न नसकेपछि उनी यहाँको शान्ति माविमा पढ्दैछन् । कलिलो उमेरमै डेरा लिएर बस्ने, आफै खाना बनाउने गरिरहेका छन् ।
उनका साथी कृष्टी छन्त्याल, शार्मिला रसाईली र सुस्मिता रसाईली भने तीन घण्टा हिँडेर मात्र विद्यालय पुग्छन् । नर्जाखानीबाट खुंखानी पुग्न उनीहरुले बिहान ७ बजे नै निस्कनुपर्छ । जाडो मौषममा डेरामा बस्छन्, गर्मीमा घर फर्कन्छन् । ४ बजेको कक्षा छुटेपछि बेलुकी ७ बजे मात्रै घर पुगिने भएपछि अन्तिम पिरियड छाडेर हिँड्छन् । घर पुग्दा थाकेर गृहकार्य गर्न पनि नभ्याइने उनीहरु बताउँछन् ।
कक्षा ८ सम्म उनीहरुले नर्जाखानीको विष्णु आधारभूत विद्यालय पढेका थिए । अब उनीहरु पढ्ने विद्यालय नजिकमा छैन । टाढाको विद्यालय जानुपर्दा कतिपय साथीले पढाइ छाडेको उनले बताए । ‘डेरामा बस्नुपर्ने, आफैले पकाएर खानुपर्ने बाध्यताले साथीहरु विद्यालय जान पनि मान्दैनन्,’ कक्षा १० का होमबहादुर हर्मेलले भने, ‘यो वर्ष कटाउन पाइयो भने त अर्को वर्ष बजार झरेर पढ्न पाइएला ।’ अभिभावकले आँटो र पिठो पठाइदिएपछि बालबालिकाले सागतरकारी गाउँमा व्यवस्था गर्छन् ।
वडा ६ को नर्जाखानी, भित्रिवन र पात्लेका विद्यार्थी कक्षा ९ र १० पढ्न खुंखानी जानुपर्छ । कक्षा ११ र १२ पढ्नकालागि भने अधिकांश विद्यार्थी बोङगादोभान र बुर्तिवाङ जान्छन् । बुर्तिवाङ जान जिपमा तीन घण्टाको यात्रा गर्नु पर्छ । केही वर्षअघिसम्म एक दिनको पैदल यात्रामा बुर्तिवाङ पुगिन्थ्यो ।
स्थानीयले गाउँमै माध्यामिक विद्यालय खोल्ने धेरै प्रयास गरे पनि आर्थिक संकटले सकेनन् । सरकारी शिक्षकको कोटा नपाएको, आन्तरिक स्रोतले धान्न नसकिने र विद्यार्थी संख्या थोरै हुने डरले अभिभावकले विद्यालयको कक्षा बढाउने आँट गर्न सकेनन् ।
‘कक्षा ८ सम्म पनि हामीले चन्दा उठाएर निजी स्रोतका शिक्षक राखेर चलाएका छौं, माथिल्लो कक्षा चलाउन झनै समस्या पर्छ,’ स्थानीय मीनाकुमारी रसाइलीले भनिन्, ‘खर्च गर्न पनि सकिएन, छोराछोरी पठाएर पनि चिन्ताले सताउँछ ।’ नर्जाखानी र खुंखानीबीचको बाटो जंगल र भीर पार गरेपछि मात्र पुग्न सकिन्छ । चार वर्षअघि तमानखोला गाउँपालिकाले खुंखानी खोलामा झोलुंगे पुल बनाएकोले यो यात्रा झण्डै ३० मिनेट छोटो भएको छ ।
दैनिक ६ घण्टासम्म हिँड्नु परेपछि बालबालिकाले न घरको काम सघाउन पाएका छन्, न घरमा पढ्ने अबसर नै पाएका छन् । थाकेर आएका बालबालिकाबाट गृहकार्यको खोजी गर्न समेत नसकिएको प्रधानाध्यापक सत्यनारायण सिंहले बताए । विद्यालयले आफ्नै छात्रावास बनाउने योजना पनि राखेको छ । तर आर्थिक अभावले विद्यालयको भवन बनाएपछि छात्रावास सपना अधुरै छ ।
पात्ले, भित्रिवन र वडा ५ कै माथिल्लो थास्पुरीका बालबालिका हिँड्ने सास्तीले कक्षा ९ देखि नै बुर्तिवाङ झरेर पढ्ने गरेका छन् । यसरी बजार पठाउँदा अभिभावकलाई आर्थिक भार परेको छ । ‘बाबुआमाको क्षमता नभए पनि धेरैले बजारमा डेरा लिएर पढ्न बाध्य भए,’ स्थानीय तिर्सना सिर्पालीले भनिन्, ‘हाम्रो क्षेत्रमा पढ्ने लेख्ने समस्या धेरै छ ।’ उनका अनुसार वडा ५ कै थास्पुरीबाट पनि धेरै बालबालिका शान्ति मावि आउन नसकेपछि अभिभावकले डेरा खोजेर राख्ने गर्छन् ।
विद्यालयका शिक्षक भूमिराज सेन्चुरीले लामो दिनमा धेरै बालबालिका घरबाटै आउने जाने गरेको र जाडो मौषममा भने अधिकांशले डेरा लिने बताए । ‘हामीले छात्राबास बनाउन सकिएको छैन,’ सेन्चुरीले भने, ‘योजना छ, तर अहिले बालबालिकाले दुःख पाइरहेका छन् ।’ उनका अनुसार नर्जाखानीबाट १५, थास्पुरीबाट १५ र भित्रिवनबाट ५ जना विद्यार्थी आउने गरेका छन् । उनीहरुलाई ३ देखि ४ घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।
प्रधानाध्यापक सत्यनारायण सिंहले गण्डकी प्रदेश सरकारमा बजेट माग गरेर छात्राबास बनाउने योजना सुनाए । ‘ग्रामीण क्षेत्र भएकोले योजना पार्नै मुस्किल छ, बल्लबल्ल विद्यालयको भवन राम्रो बनायौं, छात्रावासको लागि बजेट पाउने नपाउने ठेगान छैन,’ उनले भने, ‘छात्राबास बनाउन सकेमा ५० बढी बालबालिका तत्काल राख्न सकिने अवस्था छ ।’ गाउँपालिकाले पनि यो विषयमा पहल गरिरहेको उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताइन् ।
