निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचन समिति प्रमुखले बहुमत नपुगेकाले अर्को चरणको निर्वाचन आवश्यक पर्ने जानकारी दिएको उल्लेख गर्दै निवेदकहरूले त्यसपछि प्रक्रिया नै परिवर्तन गरी एकतर्फी रूपमा निर्णय लिएको दाबी गरेका छन् ।
What you should know
लमजुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशनको निर्वाचन पुनः गराउन सभापतिका तीन जना उम्मेदवारले माग गरेका छन् ।
घोषित जिल्ला सभापति अशोक सापकोटाको पद खारेज गरी पुनः निर्वाचन गराउन माग गर्दै सभापति पदका तीन उम्मेदवारले केन्द्रीय निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उनीहरूले पार्टी विधान, निर्वाचन कार्यविधि र लोकतान्त्रिक प्रक्रियाविपरीत जिल्ला सभापति घोषणा गरिएको आरोप लगाएका छन् ।
गत जेठ २४ गते आयोजना गरिएको अधिवेशनमा सभापति पदका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेको अवस्थामा बढी मत प्राप्त दुई जनाबीच पुनः निर्वाचन गराउनुपर्नेमा दोस्रो बढी मत प्राप्त भोलानाथ शर्मा चुनावबाट पछि हटेपछि पहिलो बढी मत प्राप्त सापकोटा सभापतिमा निर्वाचित भएको घोषणा गरिएको थियो ।
उक्त घोषणा पार्टी विधान, निर्वाचन कार्यविधि र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको र पुनः निर्वाचन गराउन माग गर्दै सभापति पदका उम्मेदवार वीरबहादुर धिताल, विजयरञ्जन पौडेल र नवराज पहाडीले संयुक्त रूपमा बिहीबार केन्द्रीय निर्वाचन आयोगमा निवेदन दिएको उनीहरूले बताए । उनीहरूले घोषित सभापति सापकोटाको पद खारेजको समेत माग गरेका छन् ।
निवेदनमा पार्टी विधान २०७९ (तेस्रो संशोधनसहित) को धारा ३३ उपधारा १(ख) साथै जिल्ला अधिवेशन निर्वाचन कार्यविधि–२०८३ को दफा १६(क) मा जिल्ला सभापति निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ । कुनै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान हुनुपर्ने प्रावधान रहेको दाबी गर्दै निर्वाचन नै नगरी सभापति घोषणा गरिएको उनीहरूको आरोप छ ।
निर्वाचनमा कुल १ सय ७४ सदर मत खसेकामा सभापति घोषित सापकोटाले ६९ मत मात्र प्राप्त गरेका थिए । कुल सदर मतको करिब ३९.६५ प्रतिशत मत प्राप्त गर्ने व्यक्तिलाई सभापति घोषित गरेको भन्दै निवेदनमा गण्डकी प्रदेशकी सहमहामन्त्री एवम् निर्वाचन समिति संयोजक कृष्णकुमारी अधिकारी (अनिशा) को भूमिकामाथि पनि प्रश्न उठाइएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचन समिति प्रमुखले बहुमत नपुगेकाले अर्को चरणको निर्वाचन आवश्यक पर्ने जानकारी दिएको उल्लेख गर्दै निवेदकहरूले त्यसपछि प्रक्रिया नै परिवर्तन गरी एकतर्फी रूपमा निर्णय लिएको दाबी गरेका छन् । ‘निर्वाचन परिणाम घोषणा भएपछि कसैले सभापतिमा ५० प्रतिशत मत कटाउन नसकेको भन्दै अर्को चरणको मतदान हुने जानकारी दिइएको थियो । अधिकांश प्रतिनिधि घर फर्किसकेपछि र अन्य उम्मेदवारहरूको सहमति तथा सहभागिता नलिई अशोक सापकोटालाई जिल्ला सभापति घोषणा गरी शपथसमेत गराइयो,’ निवेदनमा उल्लेख छ ।
निवेदनमा उनीहरूले सापकोटालाई जिल्ला सभापति घोषणा गर्ने निर्णय तत्काल बदर गर्न, उनको पद बहाली खारेज गर्न तथा पार्टी विधानअनुसार पुनः निर्वाचनको मिति तय गरी नयाँ मतदान प्रक्रिया सञ्चालन गर्न माग गरेका छन् । साथै केन्द्रीय निर्वाचन आयोगलाई निष्पक्ष छानबिन गरी विधानसम्मत निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
उक्त निवेदनको बोधार्थ संगठन विकाग प्रमुख समेत रहेका पार्टी केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय अनुशासन आयोग, गण्डकी प्रदेश सभापति, प्रदेश अनुशासन आयोग तथा प्रदेश महामन्त्रीलाई समेत पठाएको छ । दोस्रो चरणको चुनावमा भाग नलिएको भोलानाथ शर्माले पार्टीलाई एकढिक्का बनाउन आफूले उक्त निर्णय लिएको यसअघि नै बताएका थिए । तीन जना उम्मेदवारको निवेदन सार्वजनिक भएपछि उनले व्यक्तिगत आकांक्षाभन्दा संगठनको एकता, उद्देश्य, भविष्यलाई माथि राख्ने निर्णय गरेको प्रतिक्रिया सार्वजनिक गरेका छन् । सापकोटाले यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । बरु बुधबार नवनिर्वाचित समितिको पहिलो बैठक बसेको सार्वजनिक गरेका छन् ।
