माग बढेपछि केरा खेतीमा बागलुङका किसान

भारतबाट केरा आयात रोकिएपछि स्थानीय केराको माग, मूल्य बढ्नु र खेती गर्न पालिकाको सहयोग पाउँदा जैमिनीका किसान केरा खेतीमा केन्द्रीत भइरहेका छन् ।

जेष्ठ २८, २०८३

प्रकाश बराल

Baglung farmers take up banana farming as demand increases

What you should know

बागलुङ — बजारमा स्थानीय केराको माग बढेपछि जैमिनी नगरपालिका–१, २, ५, ७ र ८ का किसानले केराको खेतीमा केन्द्रीत हुन थालेका छन् । भारतबाट केरा आयातमा रोक लगाएपछि राम्रो भाउमा सहजै बिक्री हुन थालेपछि यहाँ किसान केरा खेतीमा जुट्न थालेका हुन् । 

जैमिनी नगरपालिकाले ल्याएको ‘सेरा जाऔं, केरा खाऔं’ नारामार्फत यस वर्ष पनि केरा किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा आकर्षण बढेको हो । यो क्रम आगामी वर्ष अझै परिणाममा देखिने वडा १ का अध्यक्ष बिष्णुप्रसाद आचार्यले बताए । उनका अनुसार वडा १ का ५० प्रतिशत बढी किसानले व्यावसायिक रुपमा केरा खेती थालेका छन् ।

जैमिनी-१ का प्रेमप्रसाद चापागाई र मोतीप्रसाद पौडेलको दैनिकी त केराकै वरिपरी बितिरहेको छ । उनीहरुका छरछिमेकीले पनि सयौं बोटका दरले केरा रोपेका छन् । यो गाउँका अधिकांश किसानले १० रोपनी बढी जमिनमा केरा खेती गरेका छन् । गर्मी मौषममा उनीहरुले दैनिक ५ देखि १० घारीसम्म केरा बजार पठाउने गरेका छन् । केही घरबाटै बिक्री हुन्छ । गाउँमा पूजापाठ, चाडपर्व, पूजाआजा र भोजभतेरमा पनि अर्डर आइरहन्छ । केरा बेचेरै ४ लाखसम्म कमाइ गरेको पौडेलले बताए ।

फलाँटे कृषि सहकारी संस्थाका अध्यक्ष रहेका पौडेलले हरेक शेयर सदस्यलाई कृषिमा लाग्न प्रेरित गर्दै आएका छन् । उनको सहकारीका मात्रै झण्डै एक सय जना किसानलाई अन्य कृषि पेशासहित केरा खेतीमा पनि जोडिएको छ । हरेक किसानको घरमा १ सयदेखि १ हजारबढी केराका बोट छन् । उनीहरु अधिकांशले वर्षमा ५० हजारदेखि ४ लाख रुपैयाँसम्म केरा बेचेरै कमाउने गरेको तथ्यांक छ । 

समुन्द्री सतहबाट ६ सय मिटरमात्रै उचाइ रहेकोले जैमिनीघाट र कुश्मीसेरा केरा खेतीकालागि अति उपयुक्त स्थान बनेको छ । कृषि विकास कार्यालय बागलुङकी कृषि अर्थविद् प्रतिभा शर्माका अनुसार जैमिनी स्थानीय केराको उर्भर भूमि हो । कार्यालयले किसानलाई प्राविधिक सहयोग गर्दै आएको उनले बताइन् । बागलुङको १ हजार २ सयदेखि १ हजार ५ सय मिटर उचाइसम्म पनि केरा उत्पादन भइरहेको उनले बताइन् । बागलुङ नगरपालिका १, ३, ४, ८, ९ र १० मा पनि केरा खेती प्रशस्त छ ।

अघिल्लो वर्षसम्म बागलुङको ४२ हेक्टर जमिनमा व्यावसायिक केरा खेती गरिएको थियो । जैमिनीमा थपिएको केराको क्षेत्रफलले आगामी वर्ष यो उत्पादनको क्षेत्र दोब्बर बन्ने उनले बताइन् । गत वर्षसम्म वार्षिक २ सय ४५ मेट्रिकटन केरा उत्पादन भएको बागलुङमा आयात प्रतिस्थापन पछि उत्पादन समेत दोब्बर बन्न सक्ने उनको अनुमान छ । ‘किसानले चासो दिएर बढाउनु भयो भने आयात सजिलै प्रतिस्थापन हुन्छ,’ उनले भनिन्, ‘स्थानीय तहले पकेट बिस्तार गरिरहेकोले उत्पादन बढ्नेछ ।’ कार्यालयले भने ब्लक बनाउन चाहेमा सहयोग गर्ने बताइन् ।

जैमिनीले केरा पकेट क्षेत्रको रुपमा कुश्मीसेरालाई लिएको छ भने बागलुङ नगरपालिकाले बानपा ३ लाई केराको उत्पादनशील क्षेत्रमा राखेको छ । ‘सडक सञ्जालले जोडिएको, उत्पादनको संभावना बढी भएका स्थानमा केरा सहजै बिक्री हुन्छ,’ कृषि शाखाका प्रमुख सुवास सापकोटाले भने, ‘घरघरमा, पसल पसलमा बिक्री हुने भएकोले यकिन तथ्यांक भने देखिएको छैन ।’ कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा सडकमा पछिल्लो समय किसानले केरा खेती बढाएका छन् ।

बागलुङ र जैमिनीका लागि ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ केराका जात सिफारिस छन् । अधिकांश किसानले रामरेखा लोकल र झापाली मालुवा लगाएको पौडेलले बताए । ‘हामीले दशकदेखि थालेको अभियानबाट ‘सेरा जाऔं, केरा खाऔं’ भन्ने नारा विकास गरिसकेका छौं,’ पौडेलले भने, ‘केरा बिक्दैन भन्नै पर्दैन, बरु माग अनुसार पुर्‍याउन सकेका छैनौं ।’ उनले अझै धेरै किसानलाई केरा उत्पादनमा लगाउन सकेमा रोजगारी र आयआर्जन बढाउन सकिने उनले बताए । 

उपभोक्ताले बाह्रै महिना खोज्ने भएकोले केराको बजार राम्रो रहेको बागलुङका व्यवसायी हिरा शर्माले बताइन् । ‘तीजदेखि चेतेदसैंसम्मका चाडपर्वमा केराको राम्रो बजार छ,’ उनले भनिन्, ‘पहिला लोकल केराको मूल्य नै थिएन, अहिले किसानले पनि पाएका छन्, व्यापारीले पनि पैसा पारेका छन् ।’ उनले अधिकतम २ सय रुपैयाँ दर्जनसम्मका केरा खरिद गरेर बढीमा २० रुपैयाँ मात्रै नाफा राखेर बेच्ने गरेको बताइन् । अघिल्लो वर्ष स्थानीय तहले केराको अधिकतम मूल्य १ सय ७० तोकेका थिए । अहिले किसानले बारीमै २ सयमा बेचिरहेका छन् । 

जैमिनी-१ का अध्यक्ष विष्णु आचार्यले हरेक वर्ष जैमिनीमा १० देखि १२ हजार केराका बिरुवा थप भइरहेको बताए । वडा कार्यालयले किसानलाई प्रतिबिरुवा २० रुपैयाँ अनुदान समेत दिएको छ । जैमिनी नगरपालिकाले केरा पकेट बिस्तार कार्यक्रम अर्न्तगत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ थालेको कृषि प्राविधिक रबिन्द्र शर्माले बताए । ‘एक करोड बजेटमा हामीले प्रवर्द्धनात्मक कार्यक्रम गरेका छौं,’ शर्माले भने, ‘सिँचाइकालागि पनि पाइप खरिद गरेर किसानलाई दिने काम भइरहेको छ ।’ अनुदान र प्रवर्द्धनात्मक कार्यक्रम आएपछि बाँझो बनेको जमिनमा पनि किसानले केरा खेती बढाइरहेका छन् । 

यहाँका पसलमा पनि अचेल स्थानीय केरामात्रै पाइने गरेको छ । बागलुङ नगरपालिका–९ का मधु केसी स्कुटरमा राखेर ग्राहकले भनेकै ठाउँमा फलफूल पुर्‍याउने काम गर्छन् । उनको पसलमा अहिले तराइबाट सेमत केरा नआएको महिना बढी भइसकेको छ । भारतबाट आयात रोकिँदा स्थानीयले उत्पादन पनि बढाइरहेको उनले सुनाए । जैमिनी नगरपालिका–१ का तारानाथ आचार्य पनि आफ्नो पसलका लागि गाउँगाउँमा सम्पर्क गरेर केरा झिकाउँछन् । ‘पहिलाझै धेरै बेच्न पाइएको त छैन, तर आएका ग्राहकलाई फर्काउन परेको छैन,’ उनले भने, ‘यहाँ फलेको केरा धेरै दिनसम्म बिग्रदैन, केही दिन राखेर पनि बेच्न पाइन्छ ।’ जैमिनी नगर क्षेत्रमा केराको व्यवसायिक उत्पादन बढिरहेकोले उनले दैनिक केरा मगाउने गरेको बताए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully