संघीय बजेट नआएपछि पालिकाले नै बनायो ४ किमि सडक

४६ करोडको डीपीआर बनाएर गाउँपालिकाले साझेदारीमा काम थाल्दा संघीय सरकारले लगानी नगर्दा पालिकालाई ५ करोड थप भार ।

जेष्ठ २३, २०८३

प्रकाश बराल

Municipality builds 4 km of road after federal budget fails to arrive

What you should know

बागलुङ — संघीय सरकारको समपूरक बजेट नआएपछि चार वर्षदेखि अलपत्र सडक गाउँपालिकाले पटक–पटक लगानी गरेर पहिलो खण्ड पूरा गरेको छ । कुल १४ किलोमिटरमध्ये ४ किलोमिटर सडक पूरा भएको हो । 

बजेट अभावले लामो समय अलपत्र परेको काठेखोला गाउँपालिका–६ को सुल्डाँडादेखि वडा नं ७ को रेश जोड्ने ४ किमि सडक कालोपत्र गरिएको छ । 

लक्ष्यबौर वडा नं ७ को कार्यालय हुँदै गाजादह जाने सडकको पहिलो खण्ड पालिकाले बनाएको हो । ४६ करोडको डीपीआर बनाएर गाउँपालिकाले साझेदारीका काम थाल्दा संघीय सरकारले लगानी नगर्दा पालिकालाई ५ करोड थप भार परेको छ । 

पहिलो खण्डको काम सक्दा पालिकालाई भार परेपछि बाँकी १० किमि सडक कसरी अगाडि लैजाने भन्नेमा पालिकालाई अप्ठ्यारो परेको छ । ‘पहिलो खण्डको ५ करोड लगानीमध्ये संघीय सरकारको डेढ करोड मात्र लगानी भयो, बाँकी लगानी तीन वर्षदेखि पालिकाबाट गरियो,’ वडाध्यक्ष प्रेम लामिछानेले भने, ‘ट्रयाक खुलेको सडक अलपत्र छ ।’ काम पूरा गर्न सकेमा पर्यटकीय गाजा दह जाने सडक स्तरीय बन्ने छ । त्यसबाहेक वडाका सबै बस्ती समेट्न सकिने समेत उनले बताए । 

यो सडक खण्डको सुल्डाँडादेखि एक्लेखेत काफलबोट ४ किमि कालोपत्र गरिएको हो । जसमध्ये २ किमि ३ सय मिटर खण्ड कालोपत्र, १ हजार ७ सय मिटर ढलान भएको छ । यो सडकलाई वडाको मेन रोड बनाइएको छ ।

ठेकेदार छनोट लगायतको काममा ढिला भएपछि संघीय बजेट रोकिएको थियो । त्यसपछि थप बजेट ल्याउन पालिका असफल भएको हो । अहिलेसम्म यो खण्डमा ७ करोड ७८ लाख लगानीको भइसकेको छ । सानो लगानीको पालिकाले डीपीआर गरेका ठूला सडक बनाउन नसक्ने उनले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully