ऐँजेरु आफै झरेर गए, अब राप्रपा बन्ने बाटो खुला भयो : लिङ्देन

रास्वपाले एकल बहुमत ल्याए पनि सरकार ५ वर्ष नटिक्ने लिङ्देनको भनाइ छ ।

जेष्ठ २२, २०८३

हरिराम उप्रेती

Ainjeru has gone down on his own, now the path to forming the RPP is open: Lingden

What you should know

गोरखा — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ‘ऐँजेरु’ आफै झरेर गएको भन्दै अब राप्रपा पार्टी बन्ने बाटो खुला भएको बताएका छन् । शुक्रबार राप्रपाको गोरखा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले चुनावको बेला उम्मेदवार पनि नबन्ने र उम्मेदवारलाई मत माग्न पनि नजाने मानिसहरूले पार्टी छाडेर जाँदा दु:ख मान्न नहुने बताए ।

‘जसले ऐँजेरुका रुपमा काम गरिहेका थिए, खुट्टामा पलाएको ऐँजेरु जुत्ता लगाउन पनि काम नदिने, हिड्न पनि अप्ठारो हुने, काटेर फालुम जिउको मासु फ्याँकुकी नफ्याँकु भनेको बेला आफै झरेर गएको छ,’ उनले भने,‘तपाईंहरूले चिन्ता लिनुपर्दैन, बनावटी र आश्वस्त पार्न मात्र भनेको हैन, अब राप्रपा बन्ने बाटो खुला भयो ।’

पार्टीको नेता कार्यकर्ता चुनावका लागि काम गर्ने भए पनि पार्टी छाडेका नेताहरू चुनावमा पार्टीलाई ‘राष्ट्रिय पार्टी बन्न दिनु हुँदैन’ भनेर लागेको उनको आरोप छ । ‘चुनावमा उम्मेदवार पनि नबन्ने, भोट पनि दिन नजाने, यो पार्टीलाई राष्ट्रिय पार्टी बन्न दिनु हुँदैन भन्नेहरू पार्टी छाडेर गए त के दु:ख मान्नु ?,’ उनले थपे, ‘तपाईँले देखेका मानिसहर" चुनावमा कहाँ थिए, भोट माग्न आएका थिए, नामै लिएर भन्नुपर्दा धवलशमशेर उनको जिल्लामा कहाँ–कहाँ भोट माग्न जानुभयो ?’

अघिल्लो चैतमा भएको आन्दोलनप्रति लक्षित गर्दै लिङ्दनेले ८७ वर्षको आराम गर्ने उमेरका व्यक्तिलाई आन्दोलनको संयोजक बनाएर अघि बढ्दा देशभर बनिरहेको माहौल पनि भताभुंग भएको बताए । 

लिङदेनले रास्वपा नेतृत्वको सरकार ५ वर्ष नटिक्ने दाबी पनि गरेका छन् । केही राजनीतिक दलले चुनाव हार्दैमा र अर्को राजनीतिक दलले चुनाव जित्दैमा राजनीति स्थिर भएर जान्छ भन्ने कुरा गलत रहेको उनले बताए । ‘केही मानिसलाई भ्रम छ कि एउटा राजनीतिक पार्टीले दुई तिहाई बहुमत ल्याएको छ, ५ वर्ष कसले के गर्छ ? तर, नेपालको राजनीतिमा नबिर्सनु पर्ने कुरा के छ भने जब कुनै दलले संसदीय चुनावमा एकल बहुमत प्राप्त गर्छ, त्यो ५ वर्ष टिकेको छैन,’ उनले भने, ‘अहिले पनि एउटा पार्टीले बहुमत प्राप्त गर्‍यो भनेर ५ वर्ष सरकार जान्छ भनेर ढुक्क हुने अवस्था छैन । सरकारको प्रारम्भिक क्रियाकलापले पनि आश्वस्त हुने ठाउँ छैन ।’ निर्वाचन हारेको दलले यति चाँडो प्रतिक्रिया दिने बेला नभए पनि सरकारको प्रारम्भिक लक्षण ठिक नदेखिएको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully