टेम्पल बेलका मजदुर र शिल्पीलाई सम्मान

करिब १ अर्ब २५ करोड रुपैयाँको लगानीमा निर्माण भएको टेम्पल बेल बुटिक होटल एन्ड स्पाको जगमा एउटा परिवारको पुर्ख्यौली सम्झना र आत्मीयता जोडिएको छ ।

जेष्ठ २०, २०८३

दीपक परियार

Temple Bell workers and craftsmen honored

What you should know

पोखरा — भव्य भवन ठड्याउन अहोरात्र पसिना बगाउने मजदुर र शिल्पकारहरू अक्सर ओझेलमा पर्छन् । तर, पोखराको लेकसाइडस्थित लालुपाते मार्गमा सञ्चालनमा आएको टेम्पल बेल बुटिक होटल एन्ड स्पाले भने आफ्नो स्थापनाको पहिलो वर्षगाँठ तिनै पर्दापछाडिका नायकहरूलाई विशेष सम्मान गर्दै मनाएको छ ।

होटलको सुन्दरतामा ज्यान भर्ने काठका शिल्पी, ढुंगा काट्ने र बिछ्याउने मजदुर, इन्जिनियर तथा निर्माण कम्पनीका प्रतिनिधिलाई होटलले पहिलो वार्षिकोत्सवका अवसरमा सोमबार विशेष सम्मान गरेको हो ।

मौलिकता झल्काउन स्थानीय ढुंगा, नेपाली काष्ठकला, ढाका, थान्का र नेपाली कलाको प्रयोग गरिएको यस होटलको निर्माणमा खटिएका शिल्पीहरू लक्ष्मण गदाल, कृष्ण गदाल, मञ्जुर आलम, विष्णु विक र जसबहादुर विकलाई जनही १० हजार रुपैयाँसहित होटलले सम्मान गरेको छ । सुपरभाइजर सूर्यबहादुर थापा, निर्माण कम्पनीका ओमप्रसाद रिजाल, पूर्व रेजिडेन्ट म्यानेजर गुप्त गिरी, इन्जिनियर रमेश पोखरेल, ग्लोबल आईएमईका प्रदेश प्रमुख सुशोभन देवकोटा, सीए लक्ष्मण अधिकारी, आर्किटेक्ट सुरेश श्रेष्ठ, इन्जिनियर दिलीप न्यौपाने, कास्की जिल्ला टेनिस संघका संस्थापक अध्यक्ष विनोद कायस्थ र सर्वोत्कृष्ट कर्मचारीका रूपमा फुड एन्ड बेभरेजका विवश कुमाललाई पनि सम्मान गरिएको कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए ।

करिब १ अर्ब २५ करोड रुपैयाँको लगानीमा निर्माण भएको यस होटलको जगमा एउटा परिवारको पुर्ख्यौली सम्झना र आत्मीयता जोडिएको छ । होटलका अध्यक्ष विश्वराज पौडेलले आफूहरू जन्मेको, हुर्केको र बुवाआमाको पसिना बगेको पैत्रिक थलोको घर भत्काएर व्यावसायिक रूप दिने निर्णय लिनु निकै चुनौतीपूर्ण र कठिन रहेको सुनाए । आफ्नो निजी जग्गा र घरलाई व्यावसायिक कम्पनीमा रूपान्तरण गर्दा सुरुमै करिब १ करोड रुपैयाँको आर्थिक भार व्यहोर्नुपरे पनि अहिलेको प्रतिफलले खुसी दिएको उनले बताए । सामान्य होटलभन्दा बुटिक होटल बनाउँदा लागत करिब ३० प्रतिशतले बढेर होटल झन्डै सवा अर्ब रुपैयाँको प्रोजेक्ट बन्न पुगेको उनको भनाइ थियो ।

करिब साढे २ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलको यात्रा सन् २०२१ को डिसेम्बरबाट सुरु भएको हो । कोभिड महामारीको कठिन समयमा पनि काम नरोकी साढे ३ वर्षको निरन्तर मिहिनेतपछि होटल तयार भएको थियो । होटलमा ४७ वटा डिलक्स बुटिक, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर सुइट र १ वटा भव्य प्रेसिडेन्सियल सुइट गरी कुल ५५ वटा सुसज्जित कोठाहरू छन् । होटलभित्र आकर्षक लबी, ज्याकुजीसहितको स्विमिङ पुल, बुद्ध सदन नामक सम्मेलन हल, अत्याधुनिक स्पा, याक एन्ड यती स्विमिङ पुल बार, आन्टी आलाकार्ट रेस्टुरेन्ट, बेकरी, कफीसप र योगा हल जस्ता सुविधाहरू रहेका छन् ।

१८ वर्षअघि एउटा सानो ‘चिल्ली बार एन्ड रेस्टुरेन्ट’ बाट व्यावसायिक यात्रा सुरु गरेका होटलका प्रबन्ध निर्देशक भीष्मराज पौडेलले अहिले आफूहरू ६ वटा ठूला संस्थासम्म पुग्न सफल भएको बताए । पर्यटन राजधानी पोखरामा आउने मध्यम र उच्च स्तरका पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस होटलले हाल ६५ जना दक्ष कर्मचारीलाई रोजगारी दिइरहेको र नाफा मात्र नभई समाजप्रतिको उत्तरदायित्व पनि बोकेको उनले दाबी गरे ।

नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले पोखराका होटलहरूमा करिब ४० हजार बेड भए पनि टेम्पल बेलजस्तो विशिष्ट सुविधा र सुरक्षा दिने बुटिक होटलको माग उच्च रहेको र यसको सम्भावना निकै राम्रो देखिएको उल्लेख गरे । उनले पछिल्लो समय विदेशमा रहेका नेपाली पनि स्वदेश घुम्न आउने संख्या बढेकाले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र सम्मानित शिल्पी जसबहादुर विकलगायतले आफ्ना भनाइ राखेका थिए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully