गाउँपालिकाद्वारा बालगृह सञ्चालन

हरेक वर्ष बालबालिकालाई खाद्यानको व्यवस्था पालिकाले गर्दै आएको छ भने विभिन्न संघसंस्था, लायन्स क्लबहरूलगायतले यहाँ आएर बालबालिकालाई शैक्षिक सामग्री, पोसाकजस्ता सामग्री वितरण गर्दै आएका छन् ।

जेष्ठ १७, २०८३

प्रकाश बराल

Rural municipality operates a children's home

What you should know

बागलुङ — भएरबोंगाकी अभिभावकविहीन एक बालिकाले पढ्न नपाएको थाहा पाएपछि तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ५ वर्षअघि उनको शिक्षा–दीक्षाका लागि सहयोग गरे । पहिलो कार्यकालमा समेत उनी अध्यक्ष थिए ।

त्यो सहयोगपछि उनको मनमा बालगृह नै सञ्चालन गर्ने विचार आयो । त्यसपछि कार्यपालिकाको बैठक र गाउँसभामा पनि यो प्रस्ताव राख्दा सबैले स्विकारे । संविधानले दिएको बालअधिकारको रक्षा गर्न पालिकाभित्र रहेका अभिभावकविहीन, अति विपन्न र विपतमा परेका बालबालिकालाई निःशुल्क खाने बस्ने व्यवस्थासहित पढाउने योजना बन्यो । 

सोही आधारमा २०७९ सालदेखि तमानखोला गाउँपालिका वडा नं ३ को तमानगाउँमा घर भाडामा लिई पालिकाले बालगृह सञ्चालन गर्दै आएको छ । सोही वर्षदेखि गाउँपालिकाले वर्षको १० लाख रुपैयाँ बालगृह सञ्चालनका लागि विनियोजन गर्दै आएको वडाध्यक्ष झकबहादुर बुढाले बताए । उनीहरूलाई स्थानीय धनगौज्योति माविमा पढ्ने व्यवस्था गरिएको छ । एसईई दिएपछि भने उनीहरूलाई पालिका मुकाम रहेको बोंगादोभान वा अन्यत्र पढाउने योजना छ । अहिलेसम्म यहाँका बालबालिका कक्षा १० मा पुगेका छन् ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले यो गृह निर्माणले संवैधानिक अधिकार रक्षा गर्न सहज भएको बताए । ‘कसैले हामीलाई संविधानको अधिकार र जिम्मेवारी के पूरा गर्नु भयो भनेर सोध्दा हामीले बालगृह बनाएको भन्न पाएका छौं,’ उनले भने, ‘बजेटको जोहो गर्न सकेमा छुट्टै घर बनाएर सञ्चालन गरिनेछ ।' अहिले भने तमान गाउँका स्थानीयको घर भाडामा लिएर यो बालगृह सञ्चालनमा आएको छ । अहिले यहाँ १६ जना बालबालिका र १ आया गरी १७ जना आश्रित छन् ।

हरेक वर्ष बालबालिकालाई खाद्यानको व्यवस्था पालिकाले गर्दै आएको छ भने विभिन्न संघसंस्था, लायन्स क्लबहरूलगायतले यहाँ आएर बालबालिकालाई शैक्षिक सामग्री, पोसाकजस्ता सामग्री वितरण गर्दै आएका छन् । यो कामलाई कतिपयले आलोचना पनि गरेका छन् । बालगृहमा राखेका बालबालिकाप्रति नागरिकको हेराइ नकारात्मक हुने उनीहरूले बताए पनि पालिकाले परोपकारी काम र बालबालिकाको उज्ज्वल भविष्यका लागि काम गरेको भन्दै वडाध्यक्ष झकबहादुर बुढाले यो नमुना काम भएको बताए ।

‘नगर्नेहरूले जे भने पनि यो गाउँपालिकाको नमुना र बालबालिकाको अधिकार सुरक्षाको काम हो,’ बुढाले भने, ‘जोसुकैले जानकारी दिए पनि हामी  गएर ती बालबालिका ल्याएर राख्ने र सहयोग गर्छौं ।’ बाढी–पहिरोले घरबारविहीन भएका, दुर्घटना वा अन्य कारणले अभिभावक गुमाएका बालबालिका यहाँ आउँदा साथी पाएर रमाएका छन् । उनीहरूलाई बेला बेला घुमाउने, खेल खेल्ने व्यवस्था गरिदिने जस्ता काम पनि गरिएको छ । 

बालगृहलाई नकारात्मक रूपमा लिने समाजले यो अवस्था देखेपछि राम्रो मान्न थालेको छ । ‘पहिला त के होला र भन्ने थियो, तर धेरैले आफ्नो भविष्य सुरक्षित बनाउन पाएको देखेर हामी खुसी भयौं,’ बागलुङस्थित धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक दीपक कँडेलले भने, ‘हामीले पनि त्यहाँ पुगेर सानो सहयोग गरेर फर्किएका छौं ।’

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully