सडक दुर्घटना र मानवीय क्षति कम गर्न लमजुङका पहाडी सडकमा ट्राफिक प्रहरीले छतमा यात्रु राख्ने प्रवृत्तिविरुद्ध निगरानी कडा बनाएको छ।
What you should know
लमजुङ — लमजुङमा सञ्चालन भइरहेका यात्रुवाहक जिप तथा पिकअपमा जडान गरिएका हुट (छतको राखिएको संरचना) हटाउन थालिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले ठाउँठाउँमा सवारी साधन रोकेर अनुमतिबिना राखिएका छतको संरचना हटाउन थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतमबहादुर खत्रीले आइतबारदेखि एक सातासम्म यो अभियान सञ्चालन हुने बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा सञ्चालन हुने डबल क्याप बलेरो, पिकअप तथा जिपमा बिलबुकमा उल्लेख नगरी आफूखुसी जडान गरिएका हुट हटाउन थालिएको हो ।
‘जिपको छतमा यात्रु चढाएर यात्रा गराउने गरिएको पाइयो । अत्यधिक भारका कारण सवारी दुर्घटना हुने र मानवीय क्षतिसमेत बढ्ने गरेको छ । कानुनी प्रक्रिया नपुर्याई छतमा राखिएका संरचना हटाउन थालेका हौं,’ उनले भने । उनका अनुसार यस अभियानमा ट्राफिक प्रहरीतर्फका २१ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लाका विभिन्न ९ स्थानमा अनुगमन तथा कारबाही भइरहेको उनले बताए ।
लमजुङका अधिकांश ग्रामीण सडक साँघुरा, एकतर्फी तथा कच्ची रहेकाले सवारी साधनको छतमाथि यात्रु तथा सामान बोक्ने अभ्यास अझ जोखिमपूर्ण रहेको उनले बताए । ‘पहाडी घुम्ती सडक तथा उकालोमा सन्तुलन गुम्दा हुने गरेको दुर्घटनामा छतमाथि रहेका यात्रु बढी जोखिममा छन्,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी साधनको माथिल्लो भागमा हुट राखेर यात्रु राख्ने साथै ओभरलोड गर्ने प्रवृत्तिविरुद्ध निगरानी कडा पारिएको बताए ।
‘पहाडी सडकमा हुटकै कारण धेरै दुर्घटना भएका छन् । छतमा यात्रु राख्दा सवारी साधन ओभरलोड हुन्छ, जसले सन्तुलन बिगार्ने र दुर्घटनाको जोखिम बढाउने काम गर्छ’ उनले भने ।उनका अनुसार चालक र व्यवसायीलाई सडक सुरक्षाबारे सचेतनासमेत दिइएको छ ।
लमजुङमा ट्राफिक प्रहरीले यसअघि विश्व सडक सुरक्षा सप्ताहका अवसरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । एकतर्फी पार्किङ व्यवस्थापनअन्तर्गत ‘ह्विल लक’ गर्ने कार्यक्रमलाई पनि अघि बढाएको छ । नम्बर प्लेट सुधार अभियानका कार्यक्रम पनि सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
