पृथ्वीचोकमा पनि पुग्यो पोखरा महानगरको डोजर

१० जेठबाट फिर्केखोलाबाट सुरु भएको सार्वजनिक जमिन खाली गर्ने अभियान बिहीबार पृथ्वीचोक आइपुगेको हो ।

जेष्ठ १४, २०८३

दीपक परियार

Pokhara Metropolitan City's dozer also reached Prithvi Chowk

What you should know

पोखरा — पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडिका अनधिकृत भौतिक संरचनाहरू भत्काउन सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत महानगरपालिकाले बिहीबारदेखि संरचनाहरूमा डोजर चलाएको हो ।

उक्त क्षेत्रमा रहेका सहारा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रका भवनका साथै हिमाली सांस्कृतिक परिवारले भोगचलन गर्दै आएका संरचना समेत भत्काइएको छ । महानगर प्रमुख धनराज आचार्यले लामो समयदेखि विभिन्न संघ संस्थाले उपभोग गर्दै आएका यी सार्वजनिक जग्गालाई संरक्षण गरी सडक चौडा बनाउने स्पष्ट पारे । उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने यस अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार समेत व्यक्त गरे ।Pokhara Metropolitan City's dozer also reached Prithvi Chowk

अतिक्रमित क्षेत्रमा राजनीतिक दल सम्बद्ध कांग्रेस निकट ट्रेड युनियन कांग्रेस र एमाले निकट जिफन्ट गण्डकीलगायतका मजदुर संगठनका कार्यालयहरू समेत सञ्चालित थिए । सार्वजनिक बाटोको जग्गा भोगचलन गर्दै आएका ती संस्थाहरूले संरचना बनाएर तेस्रो पक्षलाई भाडामा समेत लगाएका थिए । यसअघि नै नेकपा निकट मजदुर संगठनले भने संरचना भत्काएर चाबी बुझाइसकेको थियो । यो क्षेत्रका संरचनाहरू हटाएपछि पृथ्वीचोकबाट नयाँबजारतर्फ जाने सडकलाई दुईतर्फी रूपमा विस्तार गर्ने महानगरको योजना छ । 

महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न यसअघि नै ३५ दिनको अन्तिम म्याद दिएर सूचना जारी गरेको थियो, जसको अवधि गत ९ जेठमा नै सकिएको थियो । १० जेठबाट फिर्केखोलाबाट सुरु भएको सार्वजनिक जमिन खाली गर्ने अभियान बिहीबार पृथ्वीचोक आइपुगेको हो ।

अमरसिंह माविको नाममा रहेको अमरसिंह चोकका टहरा व्यवसायीहरूले पनि महानगरको आग्रहपछि आफ्ना संरचना आफैं हटाएका छन् । यसैगरी फिर्के क्षेत्रमा पनि प्राकृतिक बहाव मिचेर बनाइएका संरचनाहरूमा महानगरको डोजर चलिरहेको छ । महानगरले उक्त क्षेत्रमा आश्रय लिइरहेका वास्तविक सुकुमवासीहरूको भने उचित व्यवस्थापन गर्ने तयारी भइरहेको जनाएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully