बागलुङ नगरपालिकाले बनायो ‘कुकुर होस्टेल’

सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिजलगायतका रोग नियन्त्रण गर्न 'कुकुर होस्टेल' संचालन गर्नुपरेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

जेष्ठ १३, २०८३

प्रकाश बराल

Baglung Municipality builds 'Dog Hostel'

What you should know

बागलुङ — सडकमा छाडा छाडिएका कुकुरले जोखिम बढेपछि बागलुङ नगरपालिकाले ‘कुकुर होस्टेल’ बनाएको छ । यो होस्टेलमा राख्न यतिबेला नगरपालिकाले छाडा छोडिएका कुकुर समाउने अभियान नै थालेको छ । 

नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा १ करोड रुपैयाँ लागतमा कुकुर होस्टेल बनाएको हो । बागलुङ-३ मा नगरको ३५ लाख र मुख्यमन्त्री कार्यालयको ६५ लाख रुपैयाँ खर्च गरेर होस्टेल बनाइएको हो ।

सामुदायिक कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यो नीति ल्याएको हो । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले नीति तथा कार्यक्रममै यसको व्यवस्था गरेका हुन् । सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गर्नुपरेको श्रेष्ठले बताए । छाडा कुकुरले टोकेर वर्षमा धेरै जना घाइते भएको, कतिपयलाई रेबिज रोगसमेत लागेको नगरपालिकाको दाबी छ । 

नगरपालिकाले घरघरमा पालिएका र सडकका कुकुरलाई रेबिजविरुद्धको खोप समेत दिएको छ । कुकुरका लागि चाहिने सबैखाले औषधि पनि नगरले निःशुल्क दिन्छ । घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधानसमेत नगरपालिकाले बनाएको छ । दर्ता गर्दा २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

दर्ता गरिएका कुकुरलाई नगरले खोप र औषधि सेवा निःशुल्क दिन्छ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले नै गर्ने नगर पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । खोप लगाएका कुकुरलाई घरमा पालेको भए रातो र सामुदायिक भए नीलो पेटी समेत लगाएर पहिचान दिने व्यवस्था सुरु भएको छ ।

रेबिजलगायतका संक्रामक रोगबाट कुकुरलाई बचाउने, कुकुरले टोक्दा मानिसमा पनि रोग सर्ने भएकाले आम नागरिकको समेत सुरक्षाका लागि यो अभियान थालिएको हो । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले छाडा कुकुरलाई खोप लगाउने र समातेर होस्टेल पठाउने काम गरिरहेको हो । पहिलो चरणमा नगरले ५० वटा कुकुर राख्ने लक्ष्य लिएको उनले सुनाए । व्यवस्थापनपछि १ सय कुकुर राख्ने योजना छ । ‘कुकुर होस्टेल नमुना कार्यक्रम हो । होस्टेलमा राखिएका कुकुरलाई नगरले नै नियमित खाने व्यवस्थापन गर्नेछ,’ नगर पशु सेवा शाखाका प्रमुख सापकोटाले भने, ‘नियमित खोप कार्यक्रमसमेत राखेर स्वच्छ बनाएपछि घरमा पाल्न चाहनेले लैजान पनि सक्नेछन् ।’

सामुदायिक कुकुरबाट रातको समयमा हिँड्दा जोखिम बढेकामा नगरपालिकाको कामले सजिलो भएको स्थानीय रवि सुवेदीले बताए । ‘बिहानै र रातको समयमा सडकमा हिँड्दा जोखिम थियो, कुकुर व्यवस्थापनले पैदलयात्रीलाई राम्रो भएको छ,’ उनले भने, ‘होस्टेलमा राखेका कुकुर फेरि छाड्ने काम नहोस् ।’

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully