डुम्रे–बेसीसहर सडकअन्तर्गत बेंसीसहर नगरपालिका–१, उदीपुरको पहिरोमा फलामको रडलाई माटोमुनि गाडेर थ्रीडी म्याट जाली प्रयोग गरी ‘सोयल नेलिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिएको हो ।
What you should know
लमजुङ — पहिरो झर्ने क्रम नरोकिएपछि लमजुङको उदीपुरस्थित सडक ‘सोयल नेलिङ’ प्रविधि प्रयोग गरेर नियन्त्रण गरिएको छ । डुम्रे–बेसीसहर सडकअन्तर्गत बेंसीसहर नगरपालिका–१, उदीपुरको पहिरोमा फलामको रडलाई माटोमुनि गाडेर थ्रीडी म्याट जाली प्रयोग गरी ‘सोयल नेलिङ’ प्रविधिबाट माटोलाई मजबुत बनाएर पहिरो नियन्त्रण गरिएको हो ।
डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टका अनुसार यो अस्ट्रियाको प्रविधि हो । ‘कमजोर भू–भागलाई स्थिर बनाउन प्रयोग हुने आधुनिक भू–प्रविधिलाई हामीले उदीपुरमा प्रयोग गरेका छौं,’ उनले भने । उनका अनुसार पहिरो नियन्त्रण गर्न सडकमाथि १ हजार ८ सय ६० बर्गमिटरमा यो प्रविधि अपनाइएको छ । सडक नजिकैका भागमा करिब डेढ सय मिटर लम्बाइमा ग्याविन जालीसहितको टेवा पर्खाल बनाइएको छ ।
सडकको तल्लो क्षेत्रमा बायो इन्जिनियरिङ प्रयोग गरिएको छ । बाँस, सिमली, असुरो, भुजेत्रो, खरलगायत रोपिएका छन् । ४४ मिटर अग्लो ग्याविन जालीसहितको पर्खाल बनाइएको छ । ठाउँ–ठाउँमा अरू ग्याविन जालीको पर्खाल र चेक वाल लगाइएको छ । मर्स्याङ्दी नदीको किनार र आसपास करिब २ सय मिटर लम्बाइ क्षेत्रमा ‘माइक्रो पाइलिङ’ गरिएको छ । साढे ६ मिटर चौडाइमा ३ सय ९५ मिटर कालोपत्र समेत गरिएको छ ।
सिंगो मनाङ जिल्ला र लमजुङ सदरमुकाम बेंसीसहरसहित अधिकांश भू–भागमा चल्ने सवारी साधन सञ्चालन हुने उक्त सडक पहिरोले पहिलोपटक २०७८ भदौ ११ गते बगाएको थियो । सडकलाई कुनातर्फ च्यापेर अस्थायी रूपमा सञ्चालन गर्नुका साथै सडक निर्माणको लागि बोलपत्र आह्वानको प्रक्रियामा गइरहेको बेला २०७९ असार ४ गते सडक पहिरोले बगाएको थियो ।
पहिरोले सडक बगाइरहेपछि डाइभर्सन सडक निर्माण गरेर चिप्लेटीस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइट हुँदै नेपाली सेनाको गणको बीच भएर रिट्ठेबगरको सडक हुँदै उदीपुर उक्लिने गरी सञ्चालन गरिएको थियो । बेंसीसहर नगरपालिकाले माथिल्लो गाउँ हुँदै अर्को डाइभर्सन सडक पनि सञ्चालनमा ल्याएको थियो । तर दुवै स्थायी थिएनन् । बेंसीसहर–पोखरा माइक्रोबस चालक अकबहादुर तामाङले सडक सुरक्षाले यातायात र यात्रु दुवैलाई सुरक्षा मिलेको बताए ।
‘हामी यो पहिरोमा धेरैपटक फस्यौं, कतिपय साथीहरूको सवारी साधनै विग्रियो । कतिपयको गुड्दागुड्दैको गाडी पहिरोले पुरियो,’ उनले भने, ‘पहिले डराइडराइ हिँडेको सडकमा अहिले कुनै समस्या छैन । बरू यही सडकको बाटो अरू ठाउँ छिटो फराकिलो बनाइदिए हुन्थ्यो ।’ उनका अनुसार लामो दूरीका मात्रैलाई नभइ छाटो दुरीका सवारी साधन तथा दिनहुँ आउजाउ गर्नुपर्ने यात्रुलाई पनि सहज भएको छ ।
पहिरो नियन्त्रणका लागि फेवा कन्सट्रक्सन प्रालि कास्कीले २०७९ चैत १० गते २२ महिनामा सक्ने गरी सम्झौता गरेको थियो । भ्याटसहित १३ करोड ६५ लाख १५ हजार १ सय ६३ रुपैयाँ ९७ पैसामा उक्त पहिरो नियन्त्रण गर्न सम्झौता भएको थियो । २०८१ माघ १० गतेसम्म सक्नुपर्ने यो पहिरो नियन्त्रण कार्य सक्नुपर्ने समयभन्दा दोब्बर बढी समय लागेर सम्पन्न भएको हो । सडक कार्यालयका अनुसार पहिलोपटक २०८२ असोज मसान्तसम्म सक्ने भनी सम्झौता म्याद थप भएको थियो । दुई पटक म्याद थपेर यो सडक यही वैशाख अन्तिममा सकिएको डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाले जनाएको छ । अन्तिम भुक्तानी भने प्रक्रियामा रहेको छ ।
