सात वर्षअघि घोषणा गरिएको बागलुङ उद्योगग्रामको योजना सडक, विद्युत् र सुरक्षा अभावका कारण अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
What you should know
बागलुङ — बागलुङ नगरपालिकाले उद्योगग्राम बनाउने भन्दै सात वर्षअघि वडा १३ को कालाखोलामा ८६ रोपनी जमिन तयारी गर्यो । सडक, विद्युतीकरण र सुरक्षा व्यवस्था मिलाउन नसकेपछि त्यो योजना अलपत्र छ ।
खरिद गरेर राखेको जग्गाको एक तिहाई बढी कालीगण्डकी नदीको कटानमा परेको छ । बाँकी जमिनमा अहिलेसम्म काम सुरु भएको छैन । यहाँ कालीगण्डकी करिडोर निर्माण गर्ने कम्पनी विडारी कन्स्ट्रक्सनले क्रसर चलाएको छ ।
सडक बनाउने म्याद सकिएको एक वर्षसम्म पनि काम नसकेको उक्त कम्पनीले क्रसर भने चलाइरहेको छ ।
नगरपालिकाले आफ्नै महत्वपूर्ण योजना भने बिर्सिसकेको छ । २०७९ अघिका जनप्रतिनिधिले उद्योगग्राम बनाउने महत्वकांक्षी योजना ल्याए पनि कामै नगरी समय सकियो । दोस्रो कार्यकालका जनप्रतिनिधि बहाल भएको चार वर्ष पुगेको अवसरमा बुधबार उत्सव मनाइए पनि औद्योगिक ग्रामबारे कतै चर्चा भएन । उद्योगग्राम भनेर आर्कषक नारा दिइए पनि कसैले काम नगरेको स्थानीयको गुनासो छ ।
सात वर्षअघि गण्डकी प्रदेश सरकारले हरेक पालिकामा एक/एक उद्योगग्राम बनाउने गरी गरेको निर्णय बागलुङ नगरले पनि पूरा गर्ने योजना बनाएको थियो । सोही अनुसार जग्गा सम्याउनेलगायतको काममा यहाँ २० लाख रुपैयाँ लगानी समेत भइसकेको थियो । अहिले उक्त जग्गा नदीको कटानमा परेको छ । नगरले संरक्षणको योजना ल्याएको छैन ।
यता व्यवस्थित स्थान अभावमा बजारमा उद्योग व्यवसाय चलेका छन् । मोटर ग्यारेज, ग्रिल उद्योग, फर्निचर उद्योगलगायतले बजार क्षेत्र अव्यवस्थित बनेको छ । जथाभावी निर्माण सामग्री थुपार्ने कामले पैदल यात्रीलाई समेत जोखिम भइरहेको छ ।
पाँच वर्षअघि कार्यविधि बिनै योजना बनाइएकाले उद्योगग्रामको काम अलपत्र बनेको हो । दुई वर्षअघि उद्योग मन्त्रालय र नगरपालिकाको प्राविधिक टोली समेतले डिपिआर समेत संशोधन गरेको थियो । उक्त डिपिआर पनि थन्केको छ । यसअघि तत्कालीन नगर कार्यपालिकाले कार्यविधि पास नगरी सिधैं दुई वटा ठेक्का लगाएको र ती ठेक्काको काम पनि पूरा नभएपछि मन्त्रालयकै सल्लाहमा रद्द गर्ने प्रक्रिया थालिएको थियो ।
प्रक्रियागत त्रुटीले कतिपय काम रोकिएको, अब प्राविधिक अध्ययनबाट काम फेरि अगाडि लैजाने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘यसअघिको स्टिमेटमा घर बनाएर भाडामा दिने गरी निर्णय भएको रहेछ, त्यो आवश्यक छैन, जसले जे उद्योग खोल्छन्, सोही प्रकृतिको संरचना बनाउने भएकोले सडक, खानेपानी, विद्युतलगायतको सेवा मात्रै नगरपालिकाले दिने गरी काम गर्न लागेका हौं,’ उनले भने, ‘सम्बन्धित उद्योगले नै आफ्नो आवस्यक घरटहरा वा अन्य पूर्वाधार बनाउने काम गर्छ ।’
नगरपालिकाले उद्योगको सुरक्षामा भने प्राथमिकता दिने उनले बताए । तर त्यसकालागि नीति र कार्यक्रममा उल्लेख नभएकोले स्थानीयले विश्वास गर्न नसकेको बताए । ‘काम गर्ने हो भने नीतिमा आउनुपर्यो, योजनामा देखिनुपर्यो,’ स्थानीय रामकृष्ण शर्माले भने, ‘आश्वासन मात्रै भयो, काम हुन्छ भन्ने पत्याउने आधार भएन ।’
नदी कटानले क्षयीकरण भएकोले कम्तीमा १ सय मिटर बढी लामो र १० मिटर उचाइसम्मको पक्की पर्खाल लगाएर नदीबाट जमिन बचाउने कामकालागि मन्त्रालयबाट कम्तीमा १ करोड बजेट माग गरेको नगरपालिकाका एक अधिकृतले बताए । त्यो बजेट अभावमा काम अगाडि बढाउन नसकेको उनले बताए ।
नगरपालिकाले आफ्नै रकममा तटबन्धन गर्न नसकेको हो । पूर्वतर्फ पर्वतको सहश्रधारामा नदी दोहन बढेपछि नदीको धार परिवर्तन भए लगत्तै औद्योगिक ग्रामको खण्ड कटानमा परेको थियो ।
हाल बागलुङ बजारमा अव्यवस्थित रुपमा खुलेका उद्योग, ग्यारेजलगायतले वातावरण प्रदुषण र विद्युतीकरणको सास्ती खेपेका छन् । होटल छेवैमा खुलेका ती उद्योगले पर्यटकलाई समेत असर गरेको छ । ‘छेवैमा होटल छ, जोडिएर फर्निचर उद्योग खुलेपछि धुलो र होहल्लाले पर्यटक बस्नै सक्दैनन्,’ वडा ४ का अध्यक्ष कुमारबिक्रम क्षेत्रीले भने, ‘त्यस्ता उद्योग औद्योगिक ग्राममा सार्न सके सहर सफा र शान्त बन्नेछन् ।’ नगरपालिकाले बजारमा असर गर्ने खालका कम्तीमा ५० वटा उद्योग औद्योगिकग्राममा लगेर स्थापित गर्ने लक्ष्य राखेको थियो ।
ताराखोला गाउँपालिकाले पनि एक सय रोपनी जमिन खरिद गरेर राखेको ७ वर्ष भयो । एउटा पनि उद्योग खुलेको छैन । गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले विद्युतीकरण अभाव र सडक सहज नभएको कारणले उद्योगग्राम चलाउन नसकेको बताए । ‘सडक स्तरीय भयो भने हामीले धेरै उद्योग संचालन गर्न सक्छौं,’ विकले भने, ‘गाउँघरमा चलेका साना उद्योग भन्दा मझौला प्रकारका उद्योगलाई त्यहाँ लैजाने हो ।’ वडा १ को भुस्कातनजिकैको जंगल छेउमा गाउँपालिकाले उद्योगग्रामका लागि घेरबार समेत लगाएको थियो ।
