लमजुङका स्थानीय तहमा घट्यो बेरुजु

प्रतिशतका हिसाबले दूधपोखरीमा सबैभन्दा बढी र क्व्होलासोथार गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।

जेष्ठ ५, २०८३

आश गुरुङ

Income tax has decreased at the local level in Lamjung

What you should know

लमजुङ — लमजुङका स्थानीय तहमा पछिल्लो वर्ष बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको ६३औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा लमजुङका ८ वटा स्थानीय तहमा ९ करोड ५४ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

प्रतिवेदनअनुसार स्थानीय तहहरूले कार्यान्वयन गरेको १० अर्ब ३२ करोड ७२ लाख ६४ हजार रुपैयाँ बजेटको लेखापरीक्षण गर्दा शून्य दशमलव ९२ प्रतिशत रकम बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ९९ करोड ३० लाख ४६ हजार रुपैयाँ बजेटको लेखापरीक्षण गर्दा १७ करोड २३ लाख २१ हजार रुपैयाँ बेरुजु देखिएको थियो । उक्त वर्ष १ दशमलव ७२ प्रतिशत बेरुजु देखिएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा १५ करोड ७० लाख ६६ हजार रुपैयाँ अर्थात् १ दशमलव ५८ प्रतिशत रकम बेरुजु देखिएको थियो । उक्त वर्ष ९ अर्ब ९० करोड १२ लाख ८२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएको थियो । २०७८/७९ मा २२ करोड ५ लाख १६ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

आव २०८१/८२ मा लमजुङमा सबैभन्दा कम बेरुजु क्होलासोथार गाउँपालिकामा देखिएको छ । क्व्होलासोथारमा ७७ करोड ९५ लाख ५८ हजार रुपैयाँ लेखापरीक्षण हुँदा २८ लाख २९ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ३६ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बेरुजु रकम अझै घटाउँदै लैजाने प्रयासमा गाउँपालिका रहेको बताए ।

सदरमुकाम रहेको बेंसीसहर नगरपालिकामा ९६ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेंसीसहरमा १ अर्ब ८० करोड ५३ लाख ३८ हजार रुपैयाँ लेखापरीक्षण भएकामा शून्य दशमलव ५३ प्रतिशत बेरुजु देखिएको हो ।

रकमका आधारमा सबैभन्दा बढी बेरुजु राइनास नगरपालिकामा देखिएको छ । राइनासमा १ अर्ब ३४ करोड ६० लाख १५ हजार रुपैयाँ लेखापरीक्षण हुँदा १ करोड ७४ लाख ९ हजार रुपैयाँ अर्थात् १ दशमलव २९ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सुन्दरबजार नगरपालिकामा १ अर्ब ५५ करोड ६३ लाख ५१ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ४२ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो कुल परीक्षण रकमको शून्य दशमलव ९२ प्रतिशत हो ।

मर्स्याङ्दी गाउँपालिकामा १ अर्ब ३१ करोड ७३ लाख ५६ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १ करोड ४१ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो १ दशमलव ०८ प्रतिशत हो ।

मध्यनेपाल नगरपालिकामा १ अर्ब ४१ करोड ७३ लाख ४४ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १ करोड ३३ लाख ६६ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ९४ प्रतिशत बेरुजु देखिएको छ । दोर्दी गाउँपालिकामा १ अर्ब २९ करोड ३५ लाख ३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ३० लाख ९५ हजार रुपैयाँ अर्थात् १ दशमलव ०१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

दूधपोखरी गाउँपालिकामा ८१ करोड १७ लाख ९९ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १ करोड ६ लाख ८४ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो १ दशमलव ३२ प्रतिशत हो । प्रतिशतका हिसाबले दूधपोखरीमा सबैभन्दा बढी बेरुजु रहेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully