अमरसिंह चोकका ५२ टहरा व्यापारी आफैंले हटाए, पृथ्वीचोकमा गुज्रिँदै म्याद

नेकपा निकट मजदुर संगठनले भवन छोड्यो, अन्यको अझै सुरसार छैन ।

जेष्ठ ४, २०८३

दीपक परियार

Traders remove 52 stalls from Amar Singh Chowk themselves, deadline looms at Prithvi Chowk

What you should know

पोखरा — पोखराको व्यस्त व्यापारिक केन्द्र अमरसिंह चोकमा विगत चार दशकदेखि सञ्चालनमा रहेका ५२ वटा व्यापारिक सटर तथा टहरा अन्ततः हटाइएका छन् । अमरसिंह माध्यमिक विद्यालय र त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीबीच लामो समयदेखि चल्दै आएको विवाद आपसी सहमतिमा टुंगिएसँगै व्यवसायीले तोकिएको समयसीमाभित्रै सोमबार सम्झौताबमोजिम आफ्ना सटर पूर्ण रूपमा खाली गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिको निर्णय र कानुनी प्रक्रियाका बाबजुद व्यवसायीले सुरुमा टहरा छाड्न आनाकानी गर्दै आएका थिए । यसअघि विद्यालयले १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गर्दै नयाँ संरचना निर्माणका लागि ठाउँ खाली गर्न ताकेता गरेको थियो । पोखरा महानगरपालिकाको पहलमा भएको सर्वपक्षीय छलफलमा व्यवसायीले ४ जेठभित्र सटर खाली गर्न सहमत भएका थिए ।

विगत २० वर्षभन्दा बढी समयदेखि उक्त स्थानमा व्यवसाय गर्दै आएका व्यवसायी ओम सुवेदीले विद्यालयको बृहत्तर हित र विकासका लागि आफूहरू बाधक नबन्ने भन्दै सम्झौताअनुरूप नै सटर खाली गरिदिएको बताए । लामो कानुनी र प्रशासनिक झमेलापछि आपसी समझदारीमा टहरा हटाइनु सुखद पक्ष भएको विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले बताए । उनका अनुसार पृथ्वी राजमार्ग र हस्पिटल मार्गसँग जोडिएको विद्यालयको स्वामित्वमा रहेको उक्त बहुमूल्य जग्गामा अब अमरसिंह चोकको सौन्दर्यकरणलाई समेत ध्यानमा राखी नयाँ आधुनिक व्यावसायिक संरचना निर्माण गरिने योजना विद्यालय व्यवस्थापन समितिले बनाएको छ ।

२०४० देखि विभिन्न व्यक्तिले भाडामा लिएर चलाउँदै आएका यी टहरा हाल जारी पृथ्वी राजमार्ग स्तरोन्नति कार्य र विद्यालयको गुरुयोजनाका कारण हटाउनु अनिवार्य बनेको थियो । यसअघि उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतमा परेका रिट तथा मुद्दाहरू खारेज भइसकेको अवस्थामा आपसी सहमतिले दुवै पक्षलाई सहज रूपमा निकास दिएको छ । सटरहरू खाली भएसँगै विद्यालयले अब छिट्टै नयाँ व्यावसायिक भवन निर्माणको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले मंगलबार व्यवसायीले छाडेका टहरामा डोजर लगाएर सम्याइने बताए । ‘अब अन्यत्र पनि सार्वजनिक जग्गा ओगटेर बसेकालार्ई तोकिएको समयभित्रै छाड्न यसले एउटा सन्देश दिनेछ,’ उनले भने । 

यसअघि पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयअन्तर्गतको पोखरा उपत्यका नगर विकास समितिको कार्यालयले छुट्टाछुट्टै सूचना प्रकाशन गरी सार्वजनिक जग्गामा अनधिकृत रूपमा बनाइएका संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएका थिए । महानगरले ४ वैशाख र उपत्यका नगर विकास समितिले ९ वैशाखमा सूचना प्रकाशन गरेका थिए । महानगर दिएको म्याद ४ जेठ र समितिले दिएको म्याद ९ जेठमा सकिँदैछ । विशेषगरी पृथ्वीचोक, फिर्केखोला लगायत क्षेत्रमा सार्वजनिक जमिन मिचेर बनेका संरचना हटाउने तयारी महानगरको छ । 

उक्त सूचनाबमोजिम पृथ्वीचोक यातायात कार्यार्लय नजिकै उपत्यका नगर विकास समितिको जग्गामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले बनाएको भवन छोडिसकेको छ । पृथ्वीचोकमा रहेका एमालेनिकट जिफन्ट र कांग्रेस निकट ट्रेड युनियन कांग्रेस, सहारा क्लब, सामुदायिक प्रहरी, हिमाली सांस्कृतिक परिवारले म्याद गुज्रिदै जाँदा सार्ने सुरसार गरिरहेका छैनन् ।

महानगर प्रमुख आचार्यले ती कार्यालय र सटरलाई सार्न भनिसकेको र म्यादभित्रै छाड्ने अपेक्षा रहेको सुनाए । उनले पहिलो चरणमा पृृथ्वीचोकबाट ट्राफिक कार्यालय हुँदै नयाँबजार निस्कने सार्वजनिक बाटोमा पर्ने भवन तथा अन्य संरचना हटाएर बाटो फराकिलो बनाउने, फिर्के खोलाको अतिक्रमण हटाउने जानकारी दिए । पोखरा बसपार्कका सुकुमवासीको हकमा भने छानबिन गर्ने र मंगलबारको कार्यपालिका बैठकले निर्णय गर्ने उनले सुनाए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully