दूध बेचेर वर्षमा ११ करोड भित्र्याउँछन् बागलुङका किसान

बागलुङ दुग्ध उत्पादक सहकारी संस्थाले गत वर्षमात्रै दूध र दुग्धजन्य पदार्थको ११ करोड रुपैयाँ किसानलाई भुक्तानी दिएको छ।

वैशाख ३१, २०८३

प्रकाश बराल

Baglung farmers earn Rs 110 million annually by selling milk

What you should know

बागलुङ — यहाँका किसानले दूध बेचेर वर्षमा १० करोड रुपैयाँ भित्राएका छन् । बागलुङ दुग्ध उत्पादक सहकारी संस्थाले किसानलाई वार्षिक १० करोड रकम भुक्तानी गर्दै आएको हो । 

काठेखोला गाउँपालिका २, ५ र ६ का किसानले मात्रै दैनिक ३ हजार ५ सय लिटर बजार क्षेत्रमा र झण्डै २ हजार लिटर गाउँमा दुध बेच्ने गरेका छन् । सहकारीले ती स्थानका १ हजार ५ सय किसानको घरबाट दैनिक दूध संकलन गरेर सदरमुकाममा बेच्दै आएको छ । 

दैनिक दूध संकलनबाट सहकारीले सदरमुकामस्थित श्रीनगरटोलबाट बजारमा आवश्यक दूध र दुग्धजन्य पदार्थको आपुर्ति गर्दै आएको छ। ‘हामीले दूध, दही, घिउ, पनिर र छुर्पी बनाएर पनि उपभोक्ताको माग पूरा गरेका छौं,’ सहकारीका अध्यक्ष दीपक गौतमले भने, ‘सुक्खा मौषममा पनि दूध आयात गर्न नपर्ने गरी वितरण छ ।’ पोखराबाट केही दुध बागलुङमा आउने गर्छ । बागलुङबाट पनि केही दूध पर्वत र पोखरा जाने गरेको छ ।

भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको तथ्यांकमा प्रतिव्यक्ति वार्षिक ९३ लिटर पुग्ने गरी बागलुङमा दूध उत्पादन भइरहेको छ । एउटा स्वस्थ्य नागरिकले वर्षमा ९२ लिटर दूध पिउन सक्ने केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । उक्त उत्पादनले जिल्ला आत्मनिर्भर रहेको पनि उनले बताए । जिल्लाको गलकोट, जैमिनी र बुर्तिवाङ क्षेत्रमा पनि साना कृषि सहकारी संस्थामार्फत स्थानीय बजारको माग अनुसार दूध आपुर्ति भइरहेको छ । सदरमुकामबाहेकका बजारमा आयात छैन । सदरमुकाममा पनि केही आएको हो ।  

सहकारीले बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाको दूध संकलन गर्दै आएको छ । त्यसबाहेक गलकोट, बुर्तिवाङलगायतका स्थानमा पनि स्थानीय किसानले उत्पादन गरेको दूधको बजारीकरणमा संस्थाले साथ दिएको छ । उक्त सरकारीले २०५७ सालमा १ सय ४१ लिटर दूधबाट सुरु गरेको कारोबार अहिले दैनिक ३ हजार ५ सय लिटरमा आएको हो । सबै बजारी क्षेत्रमा गरी जिल्लामा दैनिक ५ हजार लिटर भन्दा धेरै दूध बिक्री भइरहेको छ भने घरायसी प्रयोगको तथ्यांक राखिएको छैन । 

दूधको गुणस्तरको आधारमा संस्थाले मूल्य दिने गरेको छ । स्विकृत मूल्य प्रतिलिटर ९६ रुपैयाँ भए पनि गुणस्तरको आधारमा संस्थाले केही किसानलाई प्रतिलिटर १ सय २४ रुपैयाँसम्म दिएको हो । बजारमा भने प्रतिलिटर १ सय २० रुपैयाँमा बिक्री भइरहेको छ । 

बागलुङ दुग्ध उत्पादक सहकारीको तथ्यांक अनुसार गत आर्थिक वर्ष दूधमा ७ करोड ५२ लाख ९१ हजार, सादा दहीमा २ करोड १३ लाख, प्याकेट दहीमा ३० लाख, घिउमा २१ लाख, पनिरमा २३ लाख, छुर्पीमा ५४ लाख, ८८ हजार र खुवामा ३७ हजार रुपैयाँ गरी वर्षभरी १० करोड ९९ लाख १७ हजार रुपैयाँ किसानलाई भुक्तानी दिएको हो । चालु वर्ष यो रकम अझै बढ्ने गौतमले जानकारी दिए ।

गण्डकी प्रदेशका बागलुङ, कास्की र तनहुँमामात्रै सहकारी संस्थामार्फत दुध उत्पादन, बजारीकरण र परिकार निर्माणको काम भएको संस्थाका सल्लाहकार रामबहादुर जिसीले बताए । केन्द्रका अनुसार बागलुङ अण्डा र मासुमा पनि आत्मनिर्भर भएको छ । केन्द्रले लिमे र पाराकोटे भैंसीको संरक्षण र ब्राण्डिङको कार्यक्रम पनि राखेको छ । यो कार्यक्रमले जिल्लामा दूध उत्पादन बढाउने लक्ष्य छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully