म्याग्दीको मुदीमा मनाइयो ६६ औं धवलागिरि आरोहण दिवस ।
What you should know
मुदी, म्याग्दी — धवलागिरि हिमाल आरोहण भएको ६६ वर्ष पुगेको अवसरमा म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा आरोहण दिवस मनाइएको छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीले धवलागिरि हिमाल रहेको वडामा बुधबार आरोहण दिवस मनाएको हो ।
संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) मानवले पहिलोपटक आरोहण गरेको बुधबार ६६ वर्ष पूरा भएको छ । सन् १९६० मे १३ का दिन स्विस–अस्ट्रियन संयुक्त आरोहण टोलीले धवलागिरिको सफल आरोहण गर्दै इतिहास रचेको थियो । म्याक्स आइसेलिनको नेतृत्वमा गएको उक्त टोलीमा दुई नेपाली आरोही निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पासहित सात जना सदस्य सहभागी थिए ।
आरोहण दिवस समारोहमा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले धवलागिरि लगायत गण्डकी प्रदेशका हिमालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने गरी पर्यटकको आगमन हुने बताइन् । सँगसँगै पर्यावरण जोगाउन पनि स्थानीयको भूमिका महत्त्वपूर्ण हुने उनले बताइन् । 'जलवायु परिवर्तनको असर हाम्रो हिमालमा परेको छ,' उनले भनिन्, 'हिमालको अस्तित्व जोगिए मात्रै मानव सभ्यताको अस्तित्व जोगिन्छ ।'
मुदी गाउँ
कार्यक्रममा वक्ताले पदयात्रा मार्गमा मोटरबाटो पुग्दा विदेशी पर्यटक घटेको, धवलागिरि सर्किटमा पूर्वाधार अभाव भएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
प्रदेश सांसद रेशम जुग्जालीले जनताले आफ्नो गाउँमा मोटरबाटो पुगेको एउटै सपना देख्ने भएकाले वैकल्पिक पदयात्रा मार्गको विकास गर्नुपर्नेमा जोड दिए । उनले धवलागिरि गाउँपालिकामा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी योजना बनाउनुपर्ने बताए । 'अन्नपूर्णमा जस्तै धवलागिरिमा पनि संरक्षण क्षेत्र आवश्यक छ,' उनले भने, ' तर प्राकृतिक स्रोतसाधनको उपयोगमा वञ्चित गराइने हो कि भनेर स्थानीय सशंकित छन् ।'
म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले धवलागिरि सर्किटमा पूर्वाधार विकासका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धवलागिरि सर्किटसँगै गुर्जाबाट डोल्पा निस्कने रूट, ढोरपाट शिकार आरक्ष जोड्ने रूटको पनि विकास प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे ।
पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले धवलागिरिको महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउनुपर्ने आवश्यकता औंल्याए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले हिमाल आरोहणमा स्थानीयले पहल लिनुपर्ने सुझाए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख रविन कडरियाले एक्यापकै मोडेलमा धवलागिरि संरक्षण क्षेत्र विकास गर्न सके यहाँको सम्भावना प्रचुर रहेको बताए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नयाँ पदमार्ग विकास गरेर धवलागिरिमा पर्यटक भित्र्याउनुपर्ने उल्लेख गरे ।
उक्त अवसरमा टान गण्डकीले पर्वतीय पर्यटन अभियन्ता कृष्ण केसीलाई सम्मानसमेत गरेको थियो । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धवलागिरिलाई एक्यापको मोडेलमा लैजान उपयुक्त हुने बताए । 'केही परिमार्जन आवश्यक होला,' उनले भने, 'डीक्याप घोषणा गर्न र डीपीआर बनाएर पर्यटनका गतिविधि अघि बढाउनुपर्छ ।'
