आगामी असारमा बालमैत्री घोषणा गर्ने तयारीमा रहेको जैमिनी नगरपालिकामा बालविवाहको चुनाैती देखिएको छ । यहाँ चालु वर्ष मात्रै ३० वटा बालविवाह बदर गरिएको छ।
What you should know
बागलुङ — आगामी असारभित्र बालमैत्री घोषणको तयारीमा रहेको यहाँको जैमिनी नगरपालिकामा चालु वर्ष मात्रै ३० वटा बालविवाह बदर भएका छन् । उमेर नपुग्दै भइरेहका कतिपय मागी विवाह राेके पनि भागेर हुने विवाह भने राेक्न सकिएको छैन ।
उमेर पुगेपछि विवाह गर्ने शर्तमा ३० वटा विवाह रद्द भएको नगर शिक्षा शाखा प्रमुख मीरा शर्माले जानकारी दिइन् । अभिभावक र विवाह गर्ने तयारीमा रहेका बालबालिकालाई नै बालमैत्री अभियानमा समावेश गराइएको छ । बालमैत्री घोषणाको दिन नजिक आइरहे पनि बालविवाह अन्त्यको काम चुनौतीपूर्ण बनेको शर्माको भनाइ छ ।
शर्माका अनुसार विद्यालय उमेरमै विवाह गर्ने कुरीतिले सूचक पूरा गर्न कठिन भएको हो । ‘मागी विवाह त हामीले अभिभावकलाई अभिमूखीकरण गरेर रोक्दैछौं, तर भागी विवाह रोक्ने काम चुनौतीको भयो,’ शर्माले भनिन्, ‘वडा र टोलटोलमा बाल अधिकार समिति बनाउने र बालविवाहबिरुद्ध समिति परिचालन गर्न खोजे पनि शून्य बनाउन सकिएको छैन ।’ बालविवाह शून्य नगर बनाउने अभियान पूरा गर्न धेरै सास्ती पर्ने उनले बताइन् ।
यस्तै सास्ती बालमैत्री घोषणा भइसकेका पालिकामा पनि छ । सदरमुकामको बागलुङ नगरपालिका २०८१ माघ ९ मा बालमैत्री घोषणा भएको थियो । तर यहाँ पनि बालविवाहका घटना छिटफुट देखिइरहेका छन् । कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाउने प्रावधान राखेको छ । तर विद्यालय उमेरमा पनि विवाह गर्नेहरु भेटिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । ‘बालमैत्री घोषणा अभियान हो, केही कमजोरीहरु सच्याउने र सूचक पूरा गर्दै जाने हो,’ उनले भने ।
दुई वर्षअघि बालमैत्री घोषणा भएको गलकोट नगरपालिकाले पनि बालविवाहको चुनौती बेहोरेको छ । यहाँका कतिपय बस्तीमा बालविवाह भइरहेको स्थानीयले बताए । नगरपालिकाले निरन्तर पहल गर्दापनि रोक्न नसकेको पालिकाका सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए । विवाहसँगै धुमपान र मध्यपानमा बालबालिका दुव्र्यसनी बनेका समेत छन् । त्यस्ता बस्तुको ओसारपसारको काममा पनि बालबालिकालाई बचाउन कठिन भएको नगर शिक्षा अधिकृत शिव खड्का बताउँछन् ।
बालमैत्री नगरको सूचकमा धुमपान, मध्यपान जस्ता कुलतबाट बालबालिकालाई जोगाउने समेत उल्लेख छ । ‘बालबालिकालाई चुरोट तथा मदिरा बेचिदिने व्यवसायीमा समस्या छ,’ खड्काले भने, ‘अभिभावक र अन्य क्षेत्रबाट हुने दुव्र्यवहार शून्य बनाउन पनि सकिएको छैन ।’
तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा त बालविवाह बस्तीपिच्छे देख्न सकिन्छ । आमा समूहको बैठकमा समेत २० वर्ष नपुगेकाहरु सहभागि भएको भेटिने गरेका छन् । मुख्य सूचकमा समस्या भए पनि जैमिनीले नगरपालिकाभित्रका अधिकांश वडालाई बालमैत्री घोषणा गरिसकेको छ । बालमैत्री स्थानीय शासन २०६८ ले तोकेका ५१ वटा सूचक पूरा भएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अनुगमन गरी सूचक पूरा भएको प्रतिवेदन दिएपछि मात्र पालिका बालमैत्री घोषणा गर्न पाउने प्रावधान छ ।
घोषणा भइसकेका र घोषणा गरिने स्थानीय तहमा भौतिक पुर्वाधार तर्फका सूचक आन्तरिक बजेटले पूरा गर्ने लक्ष्य राखिएको छ । शिक्षा र स्वास्थ्य तर्फका अधिकांश सूचक पूरा भएका छन् । नगर स्तरीय बाल उद्यानकालागि जैमिनीले बजेट बिनियोजन गरेर काम थालिसकेको उपप्रमुख हरिहर शर्माले बताए । छिटफुट रुपमा रहेको बाल विवाह अन्त्य गर्न नसके अनुगमनमा अनुत्तीर्ण हुने खतरा बढी छ । जिल्लाभर बालविवाहका घटना के कति छन् भन्ने यकिन तथ्यांक भने छैन ।
नेपाल सरकारले २०८७ सालभित्र देशलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको छ । गण्डकी प्रदेशमा बागलुङ चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर बनेको थियो । यसअघि नवलपुरको देवचुली, स्याङजाको भीरकोट, बागलुङको गलकोट बालमैत्री बनिसकेका छन् भने जैमिनीले असारभित्र घोषणा गर्न लागोको हो ।
बालमैत्री स्थानीय शासनकालागि स्वास्थ्य, शिक्षा र समुदाय तहमा गरी ५१ वटा सूचक पूरा गर्नुपर्छ । बालबालिका निकृष्ठ श्रमबाट मुक्त, बालविवाहरहित र अर्थपूर्ण सहभागितासहितको बाल अधिकार पाएको तथ्यांककालागि बालमैत्री नगर अवधारणा आएको हो ।
