मनाङमा घर मर्मत गर्ने क्रममा खसेर मजदुरको मृत्यु

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–११ निवासी करिब ४० वर्षीय सुरेश विक रहेको प्रहरीले जनाएको छ।

वैशाख २७, २०८३

आश गुरुङ

Worker dies after falling while renovating house in Manang

लमजुङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकामा घर मर्मत गर्ने क्रममा तेस्रो तलाबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–११ निवासी करिब ४० वर्षीय सुरेश विक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ९ बजे स्थानीय कालु घलेको घर मर्मत गर्ने क्रममा झ्याल फिट गर्ने बेला विक अचानक चिप्लिएर तेस्रो तलाबाट खसेका थिए । गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

घटनाबारे स्थानीयले बिहान १०:२० बजे इलाका प्रहरी कार्यालय हुम्डेलाई जानकारी गराएका थिए । घटनास्थल इलाका प्रहरी कार्यालय हुम्डेबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सुमित कुशवाहका अनुसार शव परीक्षणका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङ पठाउने तयारी गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully