ढोरपाटन आरक्षमा हिउँ चितुवा गन्न क्यामेरा जडान

हिउँ चितुवा हिँडेको देख्न सकिने गरी पहरा र बाटोमा ५६ वटा सेन्सरसहितको क्यामेरा जडान गरिएको हो । हिउँ चितुवा गणना गर्न डेढ महिनासम्म क्यामेरा जडान राखिने छ ।

वैशाख २५, २०८३

प्रकाश बराल

Cameras installed to count snow leopards in Dhorpatan reserve

What you should know

बागलुङ — ढोरपाटन सिकार आरक्षमा हरेक वर्ष नाउर, झारल र बँदेलको सिकार गर्न पाइन्छ । यो आरक्षमा अन्य जनावर भने संरक्षित गरिएको छ । 

लोपोन्मुख मध्येको रेड पाण्डा, हिउँ चितुवा, डाँफे, हिमाली भालुलगायतका धेरै जनावर यहाँ संरक्षित छन् । तर, यहाँ जनावरको संख्या एकिन छैन । त्यसका लागि पहिलो पटक ढोरपाटन सिकार आरक्षले हिउँ चितुवा गणनाको काम थालेको छ । चितुवा हिँड्ने संभावित बाटोमा क्यामेरा जडान गरिएको आरक्षका सूचना अधिकारी रेन्जर सागर सुवेदीले जानकारी दिए । 

हिउँ चितुवाको मुख्य बासस्थान हिमरेखा आसपासमा हो । त्यसैले ढोरपाटनका ६ वटा ब्लकको ३ हजार २ सय मिटर उचाइदेखि ५ हजार मिटरसम्म क्यामेरा जडान गरिएको हो । 

हिउँ चितुवा हिँडेको देख्न सकिने गरी पहरा र बाटोमा ५६ वटा सेन्सरसहितको क्यामेरा जडान गरिएको हो । हिउँ चितुवा गणना गर्न डेढ महिनासम्म क्यामेरा जडान राखिने छ । हिउँ चितुवा पाउने सम्भावना भएको फागुने, बार्से, धुस्तुङ, सेङ, सुन दह र तोगाडीमा क्यामेरा जडान गरिएको हो ।  

आरक्षले प्राविधिक टोली खटाएर ती स्थानमा क्यामेरा जडान गरिसकेको हो । विशेषगरी हिउँ चितुवा हिमरेखा आसपासमा हिँड्ने ओडारमा बास बस्ने गर्छ । हिउँ छिचोलेर हिँड्ने भएकोले प्राविधिक टोली पनि सोही स्थानमा पुगेर खोजी अभियान थालेको हो । ‘क्यामेराले क्याप्चर गरेको तस्बिर, पाइला, दिशा समेतको आधारमा हिउँ चितुवा गडणना हुन्छ,’ सुवेदीले भने, ‘१५ जना कर्मचारी र विशेषज्ञ यो अभियानमा खटिएका छन् ।’ हरेक १५ दिनमा क्यामेराको व्याट्री फेर्न ती प्राविधिक पटक पटक उक्त स्थानमा पुग्नेछन् ।

दशकअघि ढोरपाटन सिकार आरक्षले रेडपाण्डाको पनि गणना गरेको थियो । त्यसकालागि पनि क्यामेरा र खोजी विधि अपनाएको थियो । तर बिस्तृत विवरण नआए पनि १ हजार २ सय रेडपाण्डा रहेको अनुमान भने आरक्षले गरेको थियो । 

२०३९ सालमा नेपाल सरकारले बागलुङ, म्याग्दी र रुकुमको १ हजार ३ सय २५ बर्गा किमी क्षेत्रफललाई सिकार आरक्ष घोषणा गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ग्लोबल टेण्डरको आधारमा ढोरपाटनमा सिकार खुलाउने गर्छ । चालु वर्ष पनि पहिलो सिजनमा गत कात्तिकमा ११ नाउर र ८ झारल तथा दोस्रो सिजनमा चैत अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म १४ नाउर,  १० झारल र १३ बँदेलको सिकार खुलाएको थियो । सिकारबाटै चालु वर्ष आरक्षमा ४ करोड १७ लाख ७९ हजार राजश्व संकलन भएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully